सोसल मिडिया
Contact Us
युनिकोड
हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि यही पुस १३ गते हेटौंडामा चुनाव गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको नेता छान्न पुस १३ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय हेटौंडामा चुनाव गर्ने निर्णय गरेको हो ।
निर्वाचन समितिले पुस १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्ने र सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदाता नामावली उपर दावी विरोधको समय तोकेको छ । पुस १२ गते दिउँसो ४ बजे दावी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने र पुस १३ गते बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारले दरखास्त दिने समय तोकिएको निर्वाचन समितिले जनाएको छ । पुस १३ गते बिहान नै १०:३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिने छ भने बिहान ११ बजेदेखि ११ः३० बजेसम्म उम्मेदवारको दरखास्त उपर दावी विरोधका लागि समय तोकिएको छ ।
सोही दिन दिउँसो १२ बजे दावी विरोध उपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने कार्यक्रम तय गरिएको छ । पुस १३ गते दिउँसो १२:३० बजेदेखि दिउँसो १स्३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने सक्नेछन् । सोही दिन दिउँसो १:४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ र २ बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ ।
नेपाली कांग्रेस संसदीय दलको नेता छान्न मंसिर ४ गते भएको निर्वाचनबाट प्रत्यक्षतर्फ बागमती प्रदेश सभामा निर्वाचित २५ जना र समानुपातिक तर्फ निर्वाचित १२ जना गरी ३७ जनाले मतदान गर्नेछन् ।
संसदीय दलको नेता बन्न अहिलेसम्म बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुरसिंह लामाले इच्छा देखाएका छन् । बानियाँ मकवानपुर २ (२) बाट र लामा नुवाकोट २ (२) बाट निर्वाचित भएका थिए । दुवै नेता संस्थापन निकट हुन् । अहिलेसम्म संस्थापन इतर समूहबाट कुनै पनि नेताले सार्वजनिक रुपमा दलको नेतामा दाबी प्रस्तुत गरेका छैनन् ।
गएको मंगलबार नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेताको निर्वाचनका लागि उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिको सदस्यहरुमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सानु श्रेष्ठ रहेका छन् ।
कांग्रेसले थाल्यो मधेसमा संसदीय दल नेता चयन प्रक्रिया नेपाली कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ। संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।
कांग्रेस प्रदेश समितिको जनकपुरधाममा बसेको बैठकले उपसभापति यादवको संयोजकत्वमा प्रदेश समितिका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ र सहमहामन्त्री बिन्दुकुमारी यादव सदस्य रहने गरी तीन सदस्य निर्वाचन समिति गठन गर्ने निर्णय भएको कांग्रेसका मधेस प्रदेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
कांग्रेसको विधान नियमावली र प्रदेश संसदीय दलको विधानको धारा ५ को ३ अनुसार निर्वाचन समिति गठन गरिएको हो। निर्वाचन समितिले केही दिनभित्रै सर्वसहमतिबाट दलको नेता चयन पहल थालिने र नभए अन्तमा निर्वाचन प्रक्रिया अपनाउने गुप्ताले बताए।
कांग्रेसमा संसदीय दलका नेताका लागि कांग्रेस मधेस प्रदेश समिति सभापति कृष्णकुमार यादव, रामसरोज यादव, वीरेन्द्र सिंह र जनार्दन क्षेत्री आकाङ्क्षी छन्।
यस्तै बैठकले मधेस प्रदेश सरकार गठनका लागि पार्टीको केन्द्रीय नेतृत्व र अन्य दलहरुसँग समन्वय गर्न प्रदेश सभापति यादवलाई जिम्मेवारी दिने निर्णय गरेको प्रचारप्रसार प्रमुख गुप्ताले बताए ।