प्रतिनिधिसभाका २९ जना सांसदले लिए १४ भाषामा शपथ 

जनमत पार्टीका सांसदले लिएको मधेशी भाषा के हो ? 
बिहीबार, पुस ७, २०७९

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूमध्ये २९ जनाले १४ भाषामा शपथ लिएका छन् । मातृभाषामा शपथ लिन पाउने संवैधानिक अधिकारको उपयोग गर्दै ती सांसदहरूले आफ्नै भाषामा शपथ लिएको संसद् सचिवालयले जनाएको छ । नेपाली बाहेक मैथिली, भोजपुरी, तामाङ, थारु, उर्दू, कोयू, नेपाल भाषा, नेपाली खस, मधेसी, सान्थाल र संस्कृत भाषामा सांसदहरूले शपथ लिएका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीका तीनजना सांसदले नेपालमा यसअघि चर्चा नभएको मधेसी भाषामा शपथ लिएका छन् ।

CKK_KTM-05671671698237.jpg
मधेसी भाषा के हो भन्ने जिज्ञासामा उक्त पार्टीकी सांसद अनिता देवी साहले भनिन्, “मधेसी भाषालाई हाम्रोमा फरक भाषाको रूपमा नछुटाएको भए पनि मदेशका २२ जिल्लामा सबैभन्दा बढी बोलिने मधेसी भाषा नै हो।’’
“मधेशमा बोलिने नेपाली, मैथिली, भोजपुरी देखि सबै भाषा मिसिएर बनेको जुन बोलीचालीको भाषा छ त्यसैलाई मधेसी भाषा मानेर हामीले शपथ लियौँ,” उनले भनिन् ।

‘मधेसी भन्ने कुनै भाषा छैन’
पूर्व संविधानसभा सदस्य समेत रहेका मधेशमा बोलिने भाषाहरूबारे अध्ययन गरेका भोजपुरी भाषाका व्याकरणविद् गोपाल ठाकुर मधेसी भन्ने कुनै भाषा हुने बताउँछन् । “मैले झापादेखि कञ्चनपुरसम्म पुगेर भाषाहरूको अध्ययन गरेको छु। मधेसी भन्ने कुनै भाषा छैन,” उनले भने ।
“तर राजनीतिले चाह्यो भने मधेसी भाषा हुन पनि सक्छ। किनभने नेपाली भन्ने पनि कुनै भाषा थिएन। गोर्खा भाषा थियो त्यसैलाई नेपाली नाम दिइयो”, उनले भने । जनमत पार्टीका नेताहरूले दाबी गरेजस्तो मधेशमा बोलिने भाषाहरूको साझा भाषा हुने आफूलाई जानकारी नभएको ठाकुर बताउँछन् ।

sapath1671696225.jpg
संस्कृतिविद् उमाशङ्कर द्विवेदी मधेशमा बोलीले अलगअलग भाषाहरूको कुनै साझा भाषा नहुने बताउँछन् । “नेपाली सहित मधेशमा बोलीले मैथिली भोजपुरी सबै भारोपेली परिवारबाट आएका भए पनि यी अलग अलग व्याकरण र शब्दभण्डार भएका भाषा हुन्। सबै मिलाएर एउटै बनाउने भन्ने हुँदैन,” उनले भने । हिन्दी समेत मधेशमा सम्पर्क भाषाको रूपमा प्रयोग नहुने द्विवेदी बताउँछन्।
संसद् सचिवालयले भने उनीहरूले शपथ लिएको भाषा भोजपुरी र मैथिली नै रहेको बताएको छ ।

संस्कृतमा शपथ
संस्कृत भाषामा शपथ लिएका स्वतन्त्र सांसद किरणकुमार साहलाई सांसदहरूका लागि आयोजित चियापानमा एमालेका सांसद रघुजी पन्तले भारतीय लोकसभामा सुस्मा स्वाराजले संस्कृत भाषामा शपथ लिएको उदाहरण सुनाउँदै थिए ।


“म हिन्दू सनातन धर्ममा ध्यान दिने भएकाले संस्कृतका पुस्तकहरू पढ्ने गरेको छु । यहाँ संस्कृत हराउँदै गएको छ। संस्कृतिलाई जगेर्ना गर्नका लागि संस्कृतमा शपथ लिएको छु,” साहले भने ।  सात कक्षासम्म संस्कृत पढेका उनले त्यसयता भने संस्कृतको औपचारिक शिक्षा लिएका छैनन् । मातृभाषामा शपथ लिन सांसदहरूलाई तीन दिन अघि जानकारी गराउन भनिएको थियो । तर जानकारी ढिलो पाएकाले आफूले चाहेर पनि खस आर्य भाषामा शपथ लिन नपाएको रास्वपाकी विनीता कठयताले बताइन् । तर मातृभाषामा सपथ लिन आफूलाई भने संसद् सचिवालयले सहयोग नै गरेको अर्की सांसद् कल्पना चौधरीले बताइन् ।

PRO_KTM-IMG-4194(2)1671698220.jpg
“मलाई एकदमै गर्व महसुस भयो । थारु कोटाबाट म माननीय भएको छु भने मेरो पनि त दायित्व हो नि थारु भाषा भेषभूषा र संस्कृतिको जगेर्ना गर्नलाई,” उनले भनिन् ।

‘आफ्नो क्लस्टरलाई सम्मान’
संविधानले नेपालमा बसोबास गर्ने विभिन्न समुदायबाट सङ्घीय संसद्‌मा समानुपातिक र समावेशी प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ। संविधानको व्यवस्था अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित भएका कतिपयले आफू निर्वाचित भएको समुदायकै भाषामा शपथ लिएको बताए ।
“मलाई आदिवासीको हैसियतले पठाएको छ भने संविधानले दिएको अधिकार प्रयोग गर्नका लागि किराँत राई कोयू भाषामा शपथ लिएको हो,” नवनिर्वाचित सांसद दूर्गा राईले भनिन् । उनले आफू परिवारमा पनि कोयू भाषामा बोल्ने गरेको बताइन् ।
मैथिली भाषामै स्नातकोत्तरसमेत गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा पनि आफू निर्वाचित समुदायको सम्मानका लागि पनि मैथिली भाषामा शपथ लिएको बताउँछन् ।

लोपोन्मुख मेचे भाषा जोगाउन विद्यालयमा पढाइ
“म मधेसी कोटाबाट समानुपातिक सांसद हुँदै गर्दा मैले आफ्नो क्लस्टरलाई सम्मान गर्नुपर्छ । म त्यो सुविधा लिएपछि त्यसप्रति मेरो सम्मान के त भन्ने कुरा हो,” झाले भने, “यो देशमै पनि नेपाली पछि सबेभन्दा धेरै बोलीले भाषा भएकोले गर्दा त्यसको अस्तित्व स्विकार्न पनि अभ्यास गर्नुपर्छ जस्तो लाग्छ ।’’ माओवादी केन्द्रका सूर्यमान दोङले पनि तामाङ भाषामा शपथ लिएका छन् ।

PRO_KTM-IMG-4194(2)1671712536.jpg
“आफ्नो भाषामा शपथ लिन पाउने अधिकार हामीले लडेर ल्याएको हो नि । यसको उपयोग पनि त गर्नुपर्‍यो,” उनले भने । 
भाषा आयोगको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा बोलिने भाषाहरूको सङ्ख्या १३१ वटा पहिचान भएका छन्।
शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुग्नुभएको थियो । संसद सचिवालयका अनुसार सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिएका छन् । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी कूल दुई सय ७५ सांसद छन् । 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार