संसद्का ज्येष्ठ सदस्य पशुपति शम्शेर राणालाई राष्ट्रपतिले गराइन शपथ

बुधबार, पुस ६, २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष राणाले शपथ लिएका हुन् । 
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । राणा प्रतिनिधिसभाको ज्येष्ठ सदस्य हुन् । नागरिकताको प्रमाणपत्र अनुसार, उनको जन्म विसं १९९८ मङ्सिर २४ गते रहेको संसद् सचिवालयले जनाएको छ । 
प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।
सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ दिलाउने व्यवस्था छ । सो व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित अन्य सदस्यलाई भोलि पुस ७ गते दिनको १ बजे शपथ गराउने छन् । 

जबराद्वारा पदबहाली
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले आज सिंहदरबारस्थित संसद् सचिवालयमा गई पदबहाली गरेका छन् । ज्येष्ठ सदस्य राणाले बिहीबार प्रतिनिधिसभामा नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उनले देशको भलोका लागि सन्तुलित रुपमा निष्पक्ष भएर काम गर्ने बताए। 
बहुदलीय प्रजातान्त्रिक संसदीय शासन व्यवस्थालाई अघि बढाउन अभिभावकका रुपमा भूमिका निर्वाह गर्न लागिपर्ने ज्येष्ठ सदस्य राणाले बताए । 
प्रतिनिधिसभा बैठक सुरु भएर सभामुखको निर्वाचन नभएसम्म राणाले सभाको कारबाही अघि बढाउने छन् । सभामुखको निर्वाचन भएपछि ज्येष्ठ सदस्यको अवधि समाप्त हुनेछ । ज्येष्ठ सदस्य राणाले बिहीबार अपराह्न १२ः ५ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउन महासचिव भरत गौतमले तयार पारेको प्रस्तावमा स्वीकृति दिएर आजैदेखि कार्य आरम्भ गरेका छन् । 

नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 
नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।  
शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको पनि उनले बताए । शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ । मातृभाषामा शपथ लिन चाहने सांसदलाई बिहीबार बिहान ११ बजेसम्मको समय दिइएको छ । 
 शपथ ग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ । चियापान कार्यक्रममा राष्ट्रि«यसभाका सांसदलगायत अतिथिलाई बोलाइएको छ।
 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार