निराश हुन्न, फेरि दलको नेताका लागि प्रयत्न गर्छु : गगन थापा

बुधबार, पुस ६, २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले मतदातासँग गरेको वाचा पूरा गरेको बताएका छन् । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेर बहादुर देउवासँग संसदीय दलको निर्वाचनमा पराजित भएपछि उनले आफू विचलित नभएको प्रतिक्रिया दिएका छन् । काठमाडौं ४ बाट निर्वाचित भएका थापाले आफू प्रधानमन्त्रीको उम्मेदवार भएको घोषणा गरेका थिए । आफूलाई मत नदिएका सांसदहरुले जनतासँग गरेको वाचा पुरा नगरेको थापाको आरोप छ ।
‘मलाई के अपेक्षा थियो भने अन्य साथीहरुले मतदाताहरुसँग गरेको वाचा सम्झनुहुन्थ्यो भन्ने लागेको थियो’, थापाले भने।
थापाले देउवाबाट आफूले अघिल्लो पटकको भन्दा फरक खालको भूमिकाको अपेक्षा गरेको बताए। उनले आफू मन्त्री नहुने र फेरि पनि संसदीय दलको नेताकै लागि तयारी गर्नेसमेत बताए ।
‘अरु साथीहरु सरकारमा जानुहुन्छ। महामन्त्रीका रुपमा काम गर्छु । संसदीय दलको नेताका लागि प्रयत्न गर्छु’ थापाले भने । 
संसदीय दलको निर्वाचनमा आएको नतिजा आफ्नो लागि अनपेक्षित भएको थापाको भनाइ छ । उनले आफूले बनाएको प्रचार सामाग्री लिएर सांसदका उम्मेदवारहरु चुनावमा गएकाले उनीहरुले आफूलाई नै मत दिने अपेक्षा गरेको भए पनि पूरा नभएको बताए । महाधिवेशनका बेलामा को कुन समूहमा रह्यो भन्ने फरक कुरा भएको थापाले बताए । संसदीय दलको निर्वाचनमा थापाले २५ मत पाएका छन्। देउवाको पक्षमा ६४ मत रह्यो। नेपाली कांग्रेसले प्रतिनिधि सभामा ८९ सिट जितेको थियो। थापालाई नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले साथ दिएका थिए । महाधिवेशनमा गगनसँगै महामन्त्री पदमा पराजय भएका नेता प्रदीप पौडेल पनि गगनकै पक्षमा उभिए पनि गगनले हार भने टर्न सकेन । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि गगनलाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै निर्वाचनको बेलादेखि नै माहोल बनाएका थिए । चन्द्र भण्डारी, अर्जुननरसिंह केसी लगायतका नेताले पनि थापालाई सहयोग गरे। तर, उनी भारी मतान्तरले पराजित भए । संसदीय दलको नेता चयन भएका देउवालाई बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, बिमलेन्द्र निधि लगायत नेताको समर्थन थियो । 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार