सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सत्ताको प्रमुख घटक नेपाली काँग्रेसको संसदीय दलको नेताको निर्वाचनले यति बेला सबैको ध्यान खिचेको छ । ८९ सांसदसहित पहिलो पार्टी बनेको काँग्रेसको संसदीय दलको नेता नै भावी प्रधानमन्त्री बन्ने भएकाले नेता चयनको विषयलाई लिएर सर्वत्र चर्चा भएको हो । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई महामन्त्री गगन थापाले संसदीय दलमा चुनौती दिएपछि पाका नेता र रुपान्तरणको एजेण्डा बोकेका युवा नेताबीचको चुनावी प्रतिस्पर्धाले रोचक मोड लिएको छ । प्रधानमन्त्री देउवालाई भोलि हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेतामा प्रस्ताव नै गरेका कारण उनी देउवाको पक्षमा खुलेका छन् । पौडेलसहित एक वर्ष अघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि देउवालाई साथ दिने बताइसकेका छन् । विमलेन्द्र निधि देउवा क्याम्पकै नेता हुन् । १४ औैं महाधिवेशनमा पहिलो चरणमा उम्मेदवार रहे पनि दोस्रो चरणमा उनले देउवालाई साथ दिएका थिए । प्रकाशमान सिंह पनि १४ औं महाधिवेशनमा देउवालाई पहिलो चरणमा चुनौती दिएपनि दोस्रो चरणको निर्वाचनमा देउवालाई साथ दिएका थिए ।
शशांक कोइरालाबाट सहयोगको आश्वासन कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेतामा शशांक कोइरालासँग भोट मागेका छन् । शशांक निवास पुगेर थापाले आशिर्वाद माग्दै सहयोगका लागि आग्रह गरेका हुन् । शशांकले अंक गणितमा जित्ने अवस्था नभएको भन्दै उमेदवार किन बनेको भनेर गगनलाई प्रश्न गरेका थिए । जवाफमा थापाले आफूले जनताको आवाज सुनेर उमेदवारी दिएको बताए । “गगनजीले सके चुनाव जित्छु नभए पनि सम्मानजनक भोट ल्याएर देउवालाई जिम्मेवार बनाउन भूमिका खेल्छु । मलाई सहयोग गर्नुस् भन्नुभयो,” गगनसँगै रहेका एक सांसदले भने, “डा. सापले केही सांसदलाई फोन हान्नुभयो । कसैको लागेन कसैसँग कुराकानी पनि गराउनुभएको छ ।” शशांकले थापालाई शुभकापना दिएर बिदा गरेका थिए ।
कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा शशाङ्क कोइरालाले पनि आफू सभापति देउवाका साथमा रहेको वालुवाटारले दाबी गरेको छ । नेपाली कांग्रेसमा पार्टीको सभापति नै संसदलीय दलको नेता हुने प्रचलन पनि रही आएको छ । विगतमा एकपटक पार्टी सभापति र संसदीय दलको नेता फरक फरक व्यक्ति हुँदा पार्टीमा विभाजन नै आएकाले यसखालको द्वन्द्व सिर्जना नहोस् भनेर पनि सभापतिनै संसदीय दलको नेता हुनुपर्ने धारणा अधिकांश सांसदको रहेको छ । दाबी आ–आफ्नै बालुवाटार स्रोतले देउवा नै बलियो देखाइरहँदा गगन स्रोतको पनि उही छ भनाई। संसदीय समीकरण हेर्दा देउवा बलियो छन्। यद्यपि महामन्त्री शर्मा र प्रदीपको इन्ट्रीले गगन थप बलियो भएका छन्। गगन स्रोतको दाबी छ, ‘४१ मत हाम्रो पक्षमा निश्चित भइसक्यो,’ स्रोतले भन्यो । केही मत तितरवितर नबने गगनले चमात्कारिक नतिजा निकाल्ने स्रोतको दाबी छ । तर देउवा पक्ष भने चार शीर्ष नेताको सहयोग पाएर ढुक्क देखिन्छ। वरिष्ठ नेता पौडेलले खुलेरै देउवाको साथ दिइसकेका छन् भने प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा शशांक कोइरालाको साथले देउवा संसदीय दलको नेतामा चुनिने निश्चित भएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले दाबी गरे। ‘सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित हुने कन्फम हो, संसदीय दलको अङ्क गणितमा ६७ सांसदको समर्थन पक्का भइसकेको छ,’ प्रेस प्रमुख परियारले भने । कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधवार बिहान ८ बजेबाट कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने हुँदैछ । दलको नेतामा सभापति देउवा र कांग्रेस महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । दुई नेताको दाबी आआफ्नै भए पनि फैसला भने कांग्रेसका ८९ सांसदले नै गर्नेछन्। १० बजे मतदान सकिएलगत्तै मतगणना शुरु हुने र परिणाम एक घन्टामै आइसक्ने निर्वाचन समितिका संयोजक एवं सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए ।