कांग्रेस संसदीय दलको नेतामा देउवा र थापाको उम्मेदवारी

मंगलबार, पुस ५, २०७९

काठमाडौँ । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा पाका उम्मेदवारलाई भन्दा युवा पुस्ताका उम्मेदवारलाई रुचाएको देखियो । पुस्तान्तरणको मागलाई सम्बोधन गर्न नेपाली काँग्रेस भित्र शेखर कोइराला समूहले पार्टी संसदीय दलको नेतामा लोकप्रिय मतसहित निर्वाचन जितेका काठमाडौं क्षेत्र नं ४ का सासद गगन थापालाई उम्मेदवार बनाएको छ । उनी अघिल्लो वर्ष सम्पन्न भएको नेपाली काँग्रेसको महाधिवेशनमा पनि लोकप्रिय मतसहित काँग्रेसको महामन्त्री पदमा निर्वाचित भएका थिए । कांग्रेस संसदीय दलका नेताको निर्वाचनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएसँगै यहाँ पनि पाको र युवा उम्मेदवारबीच घम्साघम्सी हुने भएको छ । 


सिंहदरबारस्थित संसदीय दलको कार्यालय परिसरमा पुगेर दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराएका छन् । सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् । 
त्यस्तै महामन्त्री थापाको प्रस्तावक डा.शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा छन् । कांग्रेस संसदीय दलको नेताको निर्वाचन भोलि पुस ६ गते हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसरमा हुनेछ ।
कांग्रेसका युवा पुस्ता गगनसँगै ‘बूढा’हरू देउवातिर
कांग्रेसको केन्द्रीयस्तरका युवा नेता एक ठाउँमा उभिएका छन् । सभापति शेरबहादुर देउवाको पक्षमा रामचन्द्र पौडेलसहितका ‘बूढा’ नेताहरू खुलेका छन् ।
पार्टीको १४औँ महाधिवेशनमा उपविजेता बनेका डा. शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेतामा उमेदवार बनाएपछि युवा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मासहित देउवाको प्यालनबाट महामन्त्री लडेको प्रदीप पौडेल पनि थापाको समर्थक बसेका छन् ।
संसदीय दलको नेतामा उमेदवारी दिँदा सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल बसेका छन् । उपसभापति पूर्णबहादुर खड्का र नेता प्रकाशमान सिंह समर्थक बनेका छन् ।
महामन्त्री विश्वप्रकाश शर्माले तरूणहरूको भावना बोकेर शेखर कोइरालाले थापालाई उमेदवार बनाएको भन्दै त्यसले युवा जनमतको सम्मान गरेको बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार