सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न चुनावी कार्यतालिका सार्वजनिक गरेसँगै उक्त पार्टीको संसदीय दलको नेता को बन्ला भन्नेबारे चासो व्यक्त भइरहेको छ । नेपाली कांग्रेसका नेताहरूका भनाइमा पार्टीको संस्थापन र संस्थापनइतर समूहबाट गरी कम्तीमा दुईजना उम्मेदवार संसदीय दलको चुनावमा उठ्न सक्छन् । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्ने संस्थापन पक्षबाट उनी संसदीय दलको नेताका लागि उम्मेदवार बन्ने निश्चित छ । तर संस्थापनइतर समूहबाट एकजना मात्र उम्मेदवार बन्ने अवस्थामा को उम्मेदवार हुन्छन् भन्ने सोमवार साँझसम्म टुङ्गो नलागेपछि मंगलबार बिहाददेखि नै सहमतिको प्रयास भइरहेको छ ।
संस्थापनइतर समूहमा मुख्य आकांक्षी कांग्रेसको पछिल्लो महाधिवेशनमा देउवाविरुद्ध सभापति पदमा चुनाव लडेका डा. शेखर कोइरालाले पनि संसदीय दलको नेताको चुनाव लड्न चाहेपछि संस्थापन बाहिरको समूहभित्रै मुख्यतः दुईजना आकांक्षी देखापरेका छन् । सोही समूहका महामन्त्री गगन थापाले आम निर्वाचनमा भोट माग्दा नै मतदातासमक्ष आफू “प्रधानमन्त्री बन्न कांग्रेस संसदीय दलको नेताका लागि पार्टीभित्रै लड्ने” प्रतिबद्धता जनाएका थिए । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि चुनावपछि उनलाई संसदीय दलको नेताका रूपमा समर्थन गर्ने बताइसकेका छन् । यस्तो अवस्थामा कोइराला र थापा दुवैसँग कुराकानी र छलफल गरेर एकजना उम्मेदवार तय गर्न कांग्रेसको उक्त समूहका नेताहरूले सोमवार दिनभरि छलफल गरेको विवरण आएका छन् । उनीहरूले दुवै आकांक्षीसँग छुट्छाछुट्टै र संयुक्त रूपमा छलफल गरेको बुझिएको छ । यद्यपि सहमति जुटिनसकेको त्यस्ता बैठकमा सहभागीमध्ये एकजना कांग्रेस नेता एवम् सांसद् जीवन परियारले “कोइराला र थापा दुवैलाई मिलेर अघि बढ्न आग्रह गरिएको” बताए । उनका अनुसार कांग्रेस उपसभापति धनराज गुरुङको पहलमा पहिले कोइराला र थापाबाहेक संस्थापनइतरका सांसद तथा नेताहरूले छलफल गरेका थिए । त्यसपछि कोइराला र थापालाई समेत सहभागी गराएर बैठक गरिएको थियो। यद्यपि सोमवारको बैठकमा दुवै नेताहरूले आफू पछि नहट्ने बताएपछि “मङ्गलवार बिहान पुनः बैठक बस्ने” निर्णय भएको परियारको भनाइ छ। उनले भने, “उहाँहरू दुवै जनाले रातभरि सोच्छौँ भन्नुभएको छ । त्यसपछि भोली ९मङ्गलवार० बिहान छलफल हुनेगरी हामीले बैठक टुङ्ग्याएका छौँ।” पछिल्लो कांग्रेस महाधिवेशनमा देउवा र कोइराला आमनेसामने भएका थिए ।
संस्थापन ‘सर्वसम्मत’को पक्षमा देउवा समूहले भने पाँच वर्षअघिको संसदीय दलको नेता चयन गर्ने चुनावअघि जस्तै यसपटक पनि ‘सर्वसम्मत’ रूपमा पार्टीको नेता छानिनु पर्ने बताइरहेको छ । उक्त समूहका नेताहरूले त्यसका लागि देउवा स्वयम्ले पनि पहल गरेको दाबी गरेका छन् । यद्यपि उनीहरू संसदीय दलको नेता देउवा नै बन्नुपर्ने अडानमा छन्। संस्थापन पक्षका नेता एवम् कांग्रेस प्रवक्ता प्रकाशशरण महत भन्छन्, “सकेसम्म हामी सर्वसम्मत नै निर्णय गरौँ भन्नेमा छौँ।” “कुरा मिलेन भने सभापतिज्यू संसदीय दलका लागि चुनाव लड्नुहुन्छ” उनले भने । ‘चुनावमा देउवाले जित्ने ग्यारेन्टी छ त ?’ भन्ने प्रश्नमा उनले भने, “त्यो त नतिजा आएपछि थाहा पाइहाल्नुहुन्छ नि १” पाँच वर्षअघि पनि देउवा पक्षले संसदीय दलको नेता सर्वसम्मत रूपमा छान्ने बताएको थियो । तर त्यसबेला पनि उक्त दलमा संसदीय दलको नेताका लागि चुनाव भयो र देउवाले चुनाव जिते । त्यो बेला कुल ६३ सांसद रहेको कांग्रेसमा देउवाका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत ल्याउँदा देउवाले ४४ मत ल्याएका थिए । देउवा पक्षले यसपालि पनि सर्वसम्मत रूपमा पार्टीको नेता चयनको कुरा गरे पनि त्यसका लागि पहल नगरेको अर्को पक्षका नेताहरू बताउँछन् । संस्थापनइतर समूहका नेताहरूका अनुसार देउवाले सर्वसम्मत चयन हुनका लागि कुनै विकल्पसहितको योजना सुनाउने वा प्रस्ताव गर्ने काम गरेका छैनन् । संसदीय दलमा देउवा शेखर समूह भन्दा अलि बलिया छन् ।