सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न आज उम्मेदवारी दर्ता हुँदैछ । संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले जारी गरेको नयाँ कार्यतालिका अनुसार आज उम्मेदवार बन्न चाहनेहरुले दिउँसो २ बजेदेखि ३ बजेसम्म ५१ हजार रुपैयाँ तिरेर दरखास्त दिन सक्नेछन् । कांग्रेस भित्र प्रधानमन्त्री बन्न धेरैजनाको दाबी रहेको छ । यो अवस्थामा संसदीय दलको नेतामा पनि धेरैजनाको प्रतिस्पर्धा हुन सक्ने देखिएको छ । संस्थापन पक्षबाट संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा लड्ने निश्चत छ। उनलाई टक्कर दिन गगन थापा र शेखर कोइरालाको नाम चर्चामा छन् । देउवालाई संसदीय दलमा टक्कर कसले दिने भन्ने विषयमा छलफल गर्न अहिले संस्थापनइतर समूहको बैठक बसिरहेको छ । लाजिम्पाटस्थित होटल एम्बास्डरमा नेताहरु छलफलमा जुटेका हुन् । बैठकमा गगन थापा र शेखर कोइरालामा कसलाई संसदीय दलको नेताको उम्मेदवार बनाउने भन्ने विषयमा छलफल भइरहेको छ। संस्थापन इतर समूहका नेता जीवन परियारले एक ढिक्का भएर आफूहरु निर्वाचनमा जाने बताए । ‘१४ औं महाधिवेशनमा हामी एक भएर लड्यौं । १५ औंमा पनि एक ढिक्का भएर जानुपर्छ’ कांग्रेसका सह महामन्त्रीसमेत रहेका परियारले भने । १४ औं महाधिवेशनमा शेखर सभापतिमा र गगन महामन्त्रीमा एकै प्यानलबाट लडेका थिए । उनले शेखर र गगन दुबै प्रतिस्पर्धामा उत्रनु कांग्रेसका लागि मात्रै हैन देशकै लागि खतरा भएको समेत बताए । अहिले शेखर कोइराला बैठकस्थलमा पुगिसकेका छन् भने गगन थापा पुगेका छैनन् । आज बिहान र हिजो पनि यी दुई नेताबिच संसदीय दलको नेताको विषयलाई लिएर छलफल भएको थियो ।
उम्मेदवारी दर्ता आज कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दरखास्त दिन दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार हुँदैछ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले संसदीय दलको नेताको निर्वाचनसम्बन्धी कार्यतालिका सोमबार सार्वजनिक गरेको हो । कार्यतालिकाअनुसार सोमबार नै मतदाता नामावली प्रकाशन भइसकेको छ । यस निर्वाचनका मतदाता भनेका पार्टीका प्रतिनिधिसभाका सदस्य हुन् । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ । समितिले उम्मेदवारको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क ५१ हजार रुपैयाँ तोकेको छ । मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ । मतदान समाप्त भएपश्चात मतगणना र निर्वाचन परिणामको घोषणा हुनेछ । पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजकत्वको निर्वाचन समितिमा नेताहरू पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ । संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्नका लागि पहल गर्न सुरु गरिसकेको छ । कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले संसदीय दलको नेताको निर्वाचन महत्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा ९२० मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।