गठबन्धन दल भित्र तिक्तता

सहयात्रामा रहेका नेताले अहंकार देखाए जस्तोसुकै स्थितिको सामना गर्ने माधव नेपालको घुर्की 
सोमबार, पुस ४, २०७९

काठमाडौं । मिलिजुली सरकारको नेतृत्वसहित महत्वपूर्ण पदको बाडफाँटको विषयमा सत्तारुढ गठबन्धन भित्र विस्तारै असन्तोष पैदा हुन थालेको देखिएकाे छ । केही दिनयता सत्तारुढ दलका नेताहरुका अभिव्यक्तिले पनि गठबन्धन दल भित्र मुलुकका प्रमुख पदको बाडफाँटको विषयलाई लिएर विस्तारै तिक्तत्ता बढ्दै गएको देखाएको छ ।  नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एसका शीर्ष नेताहरुले प्रमुख पदमा दाबी गर्न थालेपछि गठबन्धन भित्र असन्तुष्ठि रहेको देखाएको छ । आइतबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनका नेताहरुमा अहंकार देखिए जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी दिएर आफ्नो असन्तुष्ठि प्रस्ष्टैसँग देखाए । पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले आफूहरुको चाहना भने सत्तारुढ गठबन्धनलाई नै निरन्तरता दिने रहेको भने भन्न छुटाएनन् । 
‘हामीले अहिलेकै गठबन्धनलाई कायम राख्ने छौं,’ नेपालले भने, ‘गठबन्धन दलका नेताहरुले संगसँगै जाने सहमति पनि गरेका छौं । तर, गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार पलाउँछ भने हामी जस्तोसुकै स्थितिको सामना गर्न तयार छौं ।’
सत्ता गठबन्धनभित्र शक्ति बाँडफाँटका विषयमा औपचारिक छलफल सुरु नभइसकेका बेला नेपालले दिएको चेतावनीलाई अर्थपूर्ण मानिएको छ । प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादीले मुख्य पाँच पदमध्ये एक आफूले पाउनुपर्ने दाबी गरेको छ ।
यो प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेसलाई धेरै फाइदा भएको टिप्पणीसमेत नेपालले गरे । ‘यो निर्वाचनलाई कुनै पार्टीलाई बहुमत दिएको छैन’, उनको भनाइ छ, ‘अरु जम्मैले नोक्सानी बेहोरे, फाइदा लियो नेपाली कांग्रेसले । त्यो स्वभाविक थियो ।’
वामपन्थी शक्तिलाई एकताबद्ध गर्न वामदेवसँग भेट
निर्वाचनबाट राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एसले समान विचार भएका राजनीतिक दलसँग एकताबद्ध भएर बलियो सशक्त कम्युनिष्ट पार्टी निर्माण गर्न पहल गर्ने जनाएको छ । पार्टी अध्यक्ष नेपालको अध्यक्षतामा बसेको सचिवालय बैठकले स–सना छरिएका कम्युनिष्ट पार्टी, वामपन्थी शक्तिका साथै समान राजनीतिक दृष्टिकोण भएका समूहलाई एकजुट गर्ने निर्णय गरेको हो ।
बैठकमा सत्ता गठबन्धनलाई एकताबद्ध गरी साझा उम्मेदवारको नेतृत्वमा सरकार निर्माण गर्ने विषयमा छलफल गरिएको छ । निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको चुनावी समीक्षा, मुलुकको समसामयिक राजनीतिक अवस्था तथा आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गरिएको थियो । अध्यक्ष नेपालसँग वामपन्थी नेता वामदेव गौतमले भेटवार्ता गरी एकताबद्ध भएर जाने विषयमा छलफल पनि गरिसकेका छन् । 

संसदीय दलको बैठक बस्दै
नेकपा एसले उपत्यका बाहिर रहेका आफ्ना प्रतिनिधिसभा सदस्यलाई काठमाडौँमा बोलाएको छ ।  पार्टीले संसदीय दलको नेता छनोटका लागि ती सदस्यलाई केन्द्रमा बोलाएको हो । प्रतिनिधिसभामा १० सदस्य निर्वाचित पार्टीका नेता चयनका लागि आज दिउँसो बैठक बस्ने र त्यसका लागि सबै प्रक्रिया सुरु भइसकेको छ । संसदीय दलको नेतृत्व छनोट गर्न बैठक बस्न लागेको हो । 
पार्टीले दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गर्नेछ । पार्टीका तर्फबाट प्रदेशसभा सदस्यलाई पनि केन्द्रमा बोलाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई आजै स्वागत तथा सम्मान पनि गरिने कार्यक्रम तय भएको छ ।
स–साना छरिएका कम्युनिष्ट पार्टी, वामपन्थी शक्तिका साथै समान राजनीतिक दृष्टिकोण भएका समूहलाई एकताबद्ध गर्ने नीति लिएको पार्टीले नयाँ जनप्रतिनिधिलाई जनताप्रति थप उतरदायी बनाउन शीर्ष नेतृत्वबाट छिट्टै प्रशिक्षण दिने छ ।

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार