चुनावी परिणाम उल्ट्याउन जर्जियाका गभर्नरलाई ट्रम्पको दबाब

आइतबार, मंसिर २१, २०७७

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्जियाका रिपब्लिकन गभर्नरलाई जो बाइडनको चुनावी जितलाई उल्ट्याउन दबाव दिएका छन् । एउटा श्रृंखलाबद्ध ट्वीटमा ट्रम्पले गभर्नर ब्रायन केम्पलाई राज्य संसद्को विशेष सत्र बोलाउन आह्वान गरेका छन् । ट्रम्पले जर्जियामा सिनेटको चुनावी अभियान आरम्भ हुनु केही घण्टाअघि यस्तो आह्वान गरेका हुन् । राष्ट्रपति ट्रम्पले अझै चुनाव हारेको स्वीकारेका छैनन् । उनले कुनै प्रमाणबिनै बाइडनले धाँधली गरेर चुनाव जितेको आरोप लगाइरहेका छन् । उनले विभिन्न राज्यहरूमा कानुनी चुनौती दिएका छन् तर लगभग सबै ती चुनौतीहरू असफल भएका छन् । यो चुनावमा जर्जिया एउटा मुख्य प्रतिस्पर्धात्मक राज्य रहेको थियो । त्यहाँ बाइडनले झिनो मतान्तरले चुनाव जितेका छन् । सन् १९९२ पछि उक्त राज्यमा डेमोक्रयाटिक उम्मेदवारले चुनाव जितेको यो पहिलोपटक हो । अब त्यहाँ सिनेटमा कब्जा गर्नका लागि दुई पार्टीबीच कडा राजनीतिक प्रतिस्पर्धा हुन गइरहेको छ ।
यदि उक्त राज्यमा जनवरीमा हुने पुनः मतदानमा डेमोक्रयाटले जितेमा रिपब्लिकनले अमेरिकी माथिल्लो सदनमा आफ्नो नियन्त्रण गुमाउने छन् । वाशिङ्टन पोस्टका अनुसार ट्रम्पले केम्पलाई शनिबार बिहान फोन गरेर मतपत्रहरूको हस्ताक्षरको परीक्षण गर्न माग गर्न भनेका थिए । तर त्यस्तो निर्देशन दिने अधिकार नभएका केम्पले उक्त अनुरोधलाई अस्वीकार गरेको स्रोतलाई उल्लेख गर्दै उक्त पत्रिकाले लेखेको छ । ट्रम्पले चुनावभरि हुलाकबाट गरिने मतदानमा धेरै धाँधली भएको बताउँदै आएका छन् । तर त्यसको कुनै प्रमाण दिन सकेका छैनन् ।

ट्वीटरमा सवालजबाफ

ट्वीटरमा उनले लेखेका छन्, ‘यदि गभर्नर केम्प अथवा विदेशमन्त्रीले हस्ताक्षरको रुजू गर्न दिने हो भने म सजिलै र चाँडै जर्जियामा जित्नेछु । किन यी दुई रिपब्लिकनले हुन्न भनिरहेका छन् ?’ केम्पले प्रतिउत्तर दिँदै ट्वीटरमै ‘आफूले सार्वजनिक रूपमा हस्ताक्षर जाँच्न तीन पटक आह्वान गरेको’ लेखेका छन् । त्यसलाई ट्रम्पले उत्तर दिँदै लेखेका छन्, ‘तिम्रा मान्छेहरूले तिमीले भनेकोजस्तो गर्न अस्वीकार गरिरहेका छन् । तिनीहरूले के लुकाइरहेका छन् ?’
‘कमसेकम संसद्को विशेष सत्र त बोलाउ । त्यो तिमी सजिलै गर्नसक्छौँ ।’ ट्रम्पले भनेका छन् । पछि ट्रम्पले आफ्नो चुनाव पछिको पहिले ¥यालीअघि केम्पले ’धेरै कठिन काम गर्नुपर्नेछ’ भन्दै अर्को ट्वीट पनि गरेका छन् । त्यसपछि जर्जियामा भएको चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले अझै पनि आफूले चुनाव जित्नसक्ने बताए ।–बीबीसी 
 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  १६:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार