सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् । आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मत दलको नेतामा राउतलाई चयन गरेको हो । जनमतका नेता बीपी साहका अनुसार दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज सोमबार पुनः १० बजे बैठक बोलाइएको छ । राउत सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पराजित गर्दै जितेका हुन् । जनमतका ६ सांसद छन् । राउत प्रत्यक्ष र अरु पाँच जना समानुपाति प्रणालीबाट चयन भएका हुन् ।
शपथको गृह कार्यमा संसद् सचिवालय सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ । नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेश गर्न सात दिनको समय दिएर आह्वान गरिसकेकी छन् । नवनिर्वाचित सदस्यमध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महेन्द्रप्रसाद यादव र पशुपति शमशेर जबराको उमेर यकिन गर्नुपर्ने छ । कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको तीनदिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण सोही भाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ । सचिवालय प्राप्त तथ्याङ्कअनुसार, प्रतिनिधिसभा सदस्य २०७४ को निर्वाचनपछि करिब ४६ सदस्यले नेपालीबाहेकका ११ मातृभाषामा शपथ लिएका थिए । उनीहरुले मैथिली, थारु, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपालभाषा, बञ्जिका, नेवारी, उर्दू, तामाङ भाषामा शपथ लिएका थिए । सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ । सुन, चाँदी र तामा जडित प्रतिलोगो करिब पाँच हजार आठ सय रुपैयाँको लागतमा तयार भएको हो । शपथ दिलाउने दिन हालसम्म यकिन भइनसके पनि आगामी पाँच दिनभित्रै त्यो समारोह नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ । सोही समारोहमा सदस्यलाई नेपाली उत्पादन अल्लोको झोलासहित नेपालको संविधान, डायरी, कलम, संसद्सम्बन्धी नियमावली, निर्देशिका, अन्य प्रकाशन उपलब्ध गराइने सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।