सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीमा आफूले औपचारिक रुपमा दाबी नगरेको बताएका छन् । प्रेस सेन्टर नेपालले सोमबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धनमा आफूले प्रधानमन्त्री पदका लागि औपचारिक रुपमा दावी नगरेको प्रष्टिकरण दिएका हुन् । ‘देशको नेतृत्व गर्ने अवसर पायो भने जिम्मेवारी लिने कुरा गरेको छु । तर, तपाईंहरुले सुने जस्तो दाबी भनेर गठबन्धनभित्र औपचारिक ढंगले कुरा भएको छैन,’ प्रचण्डले भने, ‘बाहिर जसरी कुरा आएको त्यसरी औपचारिक रुपमा कुरा भएको छैन ।’ उनले भावी प्रधानमन्त्रीका लागि छलफल चलिरहेको र सत्ता गठबन्धनको बैठक बसेर सजिलै टुंगो लाग्ने पनि बताएका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद राख्न खोजेको कुरा जानकारी नभएको पनि उनले बताए । प्रचण्डले एमाले माओवादी पार्टी एकताका लागि बाहिर आएजसरी औपचारिक छलफल र कुराकानी पनि नभएको बताएका छन् । उनले राष्ट्रपति गैरदलीय व्यक्ति हुननसक्ने भन्दै केही बुद्धिजीवीहरुले त्यस्तो व्यक्ति हुदाँ राम्रो हुने भनेर भनेपनि अहिले त्यो सम्भावना नरहेको र दलबाटै राष्ट्रपति चयन हुने बताएका हुन् । ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुनै पनि कुरालाई ‘बटमलाइन’ नभनेको पनि बताए । अध्यक्ष दाहालले भने, “समझदारीबाट जिम्मेवारी आयो भने लिने हुन्छ । समझदारीबाट अरुनै हुन पनि सक्छ ।” गठबन्धनका बीचमा यसअघि लिखित औपचारिक रुपमा केही नभएको भन्दै उनले भने, “गठबन्धन गर्दा आलोपालो गर्ने कुरा भएको हो, अहिले पनि यो समझदारी छ ।” राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख तत्काल टुङ्गाउनुपर्ने भन्दै उनले सबैलाई प्याकेजमानै टुङ्गो लगाउने समझदारी भएको बताए । गठवन्धनभित्रैबाट प्रधानमन्त्री बन्ने भन्दै उनले गठबन्धन बसेर त्यहीँबाट टुङ्गो लाग्ने स्पष्ट पारे । आफूहरु गठबन्धनमा भएको भन्दै उनले गठबन्धन कायम रहने पनि स्पष्ट पारे । आफूले गठबन्धनबाट देशको नेतृत्व गर्ने अवसर पाए जिम्मेवारी लिने कुरा मात्रै गरेको उनले बताए । उनले भने, “तपाईहरुले सुने जस्तो गठबन्धनभित्र कुनै कुरा भएको छैन ।” नेकपा एमालेसहित अन्य दलहरुसँग सबैको कुराकानी भइरहेको भन्दै उनले नयाँ बनेका पार्टीसँग पनि छलफल भइरहेको जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसँग दुई तीन पटक कुरा भएको भन्दै उनले सिके राउत र रेशम चौधरीसँग पनि भेट गरेको बताए । नेकपा एमालेसँग एकताका विषयमा बाहिर आएको जसरी कुरा नभएको अध्यक्ष दाहालले बताए । उनले भने, “औपचारीक र आधिकारिक रुपमा कुरा भएको छैन ।” सरकारले ल्याएको अध्यादेशको विषयमा उनले यसअघि भएका सम्झौता र सहमतिलाई सम्बोधन मात्र गरेको बताए । विसं २०७४ को स्थानीय तहको निर्वाचन भन्दा पालिकामा माओवादीले बढी जितेको भन्दै अध्यक्ष दाहालले प्रदेशमा विगतकै हाराहारीमा रहेको बताए । समानुपातिकमा केही घटेको तर नेकपा एमाले र नेपाली कांग्रेसको तुलनामा कम घटेको उनले दाबी गरे । सङ्घमा अपेक्षा गरे भन्दा कम आएको भन्दै उनले यसको समीक्षासमेत भइरहेको बताए । उनले भने “यो समीक्षाबाट पार्टीलाई अझ बलियो बनाउन अबसर आएको हामीले ठानेका छौँ । माओवादी केन्द्र एकदमै कमजोर भयो भन्ने भन्न खोजिएको छ । त्यो सत्य होइन ।”