कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै
आइतबार, पुस ३, २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिएको भोलिपल्ट आइतबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेका छन् । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ । कांग्रेसका नेताहरुका अनुसार केन्द्रीय कार्यसम्पादन समिति बैठकले संसदीय दलको चुनावको मिति तोक्नसक्ने छ । नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेका छन् ।
संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै
नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले यस्तो समिति गठन गर्न लागेको हो । 
बैठकमा संसदीय दलको निर्वाचनका लागि समिति बनाउनेलगायत कार्यसूची रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 
कांग्रेसको विधानको दफा ४० मा पार्टीको संसदीय दल गठनसम्बन्धी व्यवस्था छ । सङ्घीय संसद्मा रहेका पार्टीका सांसदहरू कांग्रेस संसदीय दलका सदस्य हुन्छन । यसैगरी संसदीय दलमा प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने विधानमा व्यवस्था छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।
सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्तागठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ । साथै कांग्रेसमा संसदीय दलको नेताको निर्वाचनको तयारीको पनि सुरु भएको छ । 
यसैगरी निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ । गठबन्धन दलको दोस्रो ठूलो घटक नेकपा माओवादी केन्द्रले पनि नयाँ बन्ने सहमतिय सरकारको नेतृत्व आफूले गर्न पाउनु पर्ने भन्दै प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई अघि सारेको छ । 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १३:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार