तराईमा चिसो बढ्यो

आइतबार, पुस ३, २०७९

काठमाडौं । पश्चिम तराईका जिल्लामा शीतलहर भएको छ । बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ । शीतलहरसँगै जाडोका कारण जनजीवन प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण बढेको छ ।
चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न सुरु गरेका छन् । दिउँसो अलि–अलि घाम लागे पनि बिहान–बेलुका भने चिसोले काम गर्नसमेत समस्या पारेको स्थानीयको भनाइ छ । शीतलहरका कारण तरकारी बालीसमेत प्रभावित भएको छ । शीतलहरले आलु, गोलभेँडा र अन्य सागपातमा समेत असर पुर्‍याएको कृषकले बताएका छन् । 

चिसोले मधेसका जनजीवन प्रभावित

यसपालि लाग्दो पुसमै चिसो निकै छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर तेस्रो साता अन्त्य हुनासाथै चिसो निकै बढेको हो । विगत वर्षहरूमा मध्य पुसदेखि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर चौथो साता सुरु भएसँगै बढेको हो । पछिल्ला १० दिनयता एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो सिरेटो चल्ने क्रम नरोकिँदा गरिब बस्तीमा लाग्दो पुसमै बिचल्ली देखिँदो छ ।
चिसोको कहरले सबै क्षेत्रलाई प्रभाव पारे पनि यहाँका गरिब दलित बस्तीको अवस्था नाजुक बनेको छ । पराले झुप्राका गुजुमुज्ज बस्तीमा स–साना नानीको जाडो छल्ने सहारा सडकमा मिल्किएका चिथ्रा थाङ्ना, प्लाष्टिक र कसिङ्गर सोहोरिएर बालिने ‘घूर’ (कसिङ्गर जम्मा पारेर बालिएको आगो) बनेको छ । न ओढ्ने, ओछ्याउने न आङ ढाक्ने लुगा ! शीतले भिजेका कसिङ्गर सल्काउँदा निस्कने पचपची धुँवाको मुस्लोभित्रको ‘घूर’ वरिपरि बसेर मनमनै तातोको अनुभूति गर्नपर्ने जिन्दगी यहाँका मुसहर, बाँतर, मेस्तर, डोम, चमार र दुसाध बस्तीमा देखिन्छ ।
“यो मुटु कमाउने जाडोमा न बनीबुतो गर्न निस्कन सकिन्छ, न घरमा पानीबाहेक तताएर खाने सरदाम केही छ”, भङ्गाहा–३ सकरी बस्तीको मुसहरीटोलकी रामराजी सादा (मुसहर) भन्छन् । 
 
महोत्तरीको मध्य र दक्षिणी भेगमा त मङ्सिर तेस्रो साताको अन्त्यदेखि नै बिहान हुस्सुले ढाक्दै आएको छ । मध्याह्नसम्म घाम देखिँदैन । त्यसपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि यसपालि चाँडै जाडोको कहर बढेको हो । जिल्लाको उत्तरी भेगको पूर्वपश्चिम राजमार्ग वरपर मङ्सिर निगल्दोसम्म बिहानै घाम देखिए पनि पुस लागेयता भने यो भेगमा पनि एकाबिहानैदेखि डम्म हुस्सुले ढाक्दै आएको छ । 
बाक्लो हुस्सुसँगैको चिसो सिरेटो चल्ने क्रमले हातगोडा कठ्याङ्ग्रिएर कुनै काममा निस्कन नसकिएको यहाँका सर्वसाधारण बताउँछन् । मध्य र दक्षिणी भेगमा त मङ्सिर तेस्रो साताको अन्त्यदेखि नै एकाबिहानैदेखि बाक्लो हुस्सुले ढाक्दै आएको छ । 
एक्कासी बदलिएको मौसमले ब्यापार व्यवसायमात्र नभएर कृषि कार्य पनि प्रभावित भएका छन् । अहिले नै यस्तो बिजोग भएपछि अब माघसम्म कस्तो होला ? भन्ने सोचेर नै यहाँका बूढापाका जाडो कसरी काट्ने भन्ने चिन्तामा छन् । 
बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नुपर्ने अवस्था बनेको छ । 
चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी महिला र स–साना नानीहरूको स्याहार, सम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घरवरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्ती बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् । जिल्लाका सबैजसो स्वास्थ्य संस्था रुघाखोकी, श्वासप्रश्वास र हाडजोर्नी दुख्ने व्यथाका बिरामीले भरिभराउ देखिँदा छन् । 
यसैबीच जिल्लाका स्वास्थ्य संस्थाले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार–सम्भारमा ध्यान दिन आग्रह गरेका छन् । घरमा आफ्नै वरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घरवरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन् । यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर ‘घूर’ नबाल्न आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताउँछन् ।
 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार