सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा परेको गम्भीर क्षति र आगामी जलवायु परिवर्तन सम्मेलनलगायत अन्तर्राष्ट्रिय कूटनीतिक प्रवर्द्धनका विषयमा छलफल भएको छ । बिहीबार बसेको समितिको बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डा. चिरञ्जीवी प्रसाद पोखरेलले जलवायु परिवर्तन विश्वव्यापी समस्या भएकाले नेपालले एक्लै समाधान गर्न नसक्ने बताए । उनले भने, ‘जलवायुको कुरा गर्दा नेपालले मात्रै धानेर धानिने कुरो होइन र एउटा संस्थाले धानेर धानिने कुरो होइन। यो ग्लोबल इम्प्याक्टको कुरो हो, ग्लोबल इस्यु हो । ’ नेपाल हिमाली क्षेत्रमा रहेकाले जलवायु परिवर्तनको असर बढी भोग्नुपरेको उल्लेख गर्दै उनले हिमाली क्षेत्रबाट बग्ने पानीमा तल्लो क्षेत्रका लाखौँ मानिस आश्रित रहेको बताए । बैठकमा पोखरेलले वन्यजन्तु व्यवस्थापन, मानव–वन्यजन्तु द्वन्द्व तथा चिडियाखाना बन्द गर्नुपरेका कारणबारे पनि धारणा राखे । कोभिड–१९ महामारी र बर्ड फ्लूको जोखिमका कारण मानव स्वास्थ्यमा असर पर्न सक्ने अवस्था देखिएपछि चिडियाखाना बन्द गर्नुपरेको उनको भनाइ थियो । उनले चिडियाखाना बन्द गर्ने निर्णय कुनै मन्त्री वा उनको परिवारसँग जोडिएको विषय नभएको स्पष्ट पारे । मानव–वन्यजन्तु द्वन्द्वका विषयमा बोल्दै पोखरेलले बाँदरको समस्याबारे राष्ट्रिय प्रकृति संरक्षण कोष र त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र विभागले ४४ वटा पालिकामा अध्ययन गरेको जानकारी दिए । समितिका सभापति कृष्णप्रसाद पौडेलले जलवायु परिवर्तन र त्यसका बहुआयामिक प्रभावबारे समितिले गम्भीरतापूर्वक छलफल गरिरहेको बताए । उनले भने, ‘जलवायु परिवर्तन र त्यसको असरका बारेमा समिति अलि कमिटेड छ र यसको केही न केही सोलुसन ल्याउनुपर्छ भन्नेमा प्रतिबद्धता पनि छ ।’ नेपालको भौगोलिक अवस्थिति र जलवायु परिवर्तनले पारेको बहुआयामिक प्रभाव संवेदनशील विषय भएको उल्लेख गर्दै उनले यसबारे समितिमा नियमित छलफल गरिने बताए । सभापति पौडेलले जलवायु परिवर्तनको विषय व्यापक भएकाले त्यसलाई ठोस र कार्यान्वयन गर्न सकिने विषयमा रूपान्तरण गर्न आवश्यक रहेको बताए । उनले बैठकमा प्रस्तुत तथ्यांक र विज्ञहरूको सुझावका आधारमा विषयलाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाए ।