देउवाले दिए नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना

सदनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन  
शनिबार, पुस २, २०७९

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा आमन्त्रण गरी बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आज दिउँसो तीन बजे पार्टीका सबै सांसदलाई बोलाएर बधाई तथा शुभकामना दिएका हुन् ।  सभापति देउवाले बालुवाटारमा उपस्थित सांसदहरुलाई सदनमा प्रभावकारी भूमिका खेल्न निर्देशन पनि दिएका छन् । 
काँग्रेसका तर्फबाट नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै देउवाले संसद्मा प्रभावकारी भूमिका खेल्न र जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नेगरी काम गर्न निर्देशन दिएको नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
कार्कीले छिट्टै गठबन्धनको बैठक बस्ने र सरकार गठनलगायतका विषयमा छलफल हुने बताए । कांग्रेसले गठबन्धनको नेतृत्व गरेको र गठबन्धनलाई जनताले अनुमोदन गरेकाले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने उनले बताए ।
त्यस्तै भेलामा कांग्रेस नेता शशांक कोइरालाले अहिले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका थिए । 
कांग्रेस नेता विमलेन्द्र निधिले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने दाबी गरे । आफू संसदीय दलका नेताको दाबेदार नभएको र आफूले पार्टी सभापति देउवालाई पूर्णरुपमा समर्थन गर्ने उनले बताएका थिए । 
प्रधानमन्त्रीका विषयमा गठबन्धनभित्र अन्य दलले दाबी गर्नु स्वभाविक भएको उनको भनाइ छ । निधिले प्रधानमन्त्री दलको कारणले गठबन्धन तोडिने कुनै सम्भावना नरहेको धारणा राखे ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।
सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ ।
निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपति समक्ष प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ ।
 

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १८:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार