सरकार गठनका लागि कांग्रेस–माओवादीको आफ्नै दाउ

एमालेलाई विश्वासमा लिन दुवै दलको प्रयास 
शुक्रबार, पुस १, २०७९

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गरेसँगै नयाँ सरकार गठनको चर्चाले राजनीतिक दलहरुलाई तताएको छ । आयोगले निर्वाचत परिणामसहितको प्रतिवेदन राष्टपतिसमक्ष बुझाएपछि नयाँ सरकार निर्माणका लागि दलहरुले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् । भावी सरकारको नेतृत्वबारे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच अविश्वास उत्पन्न हुन थालेको सङ्केत ती दलका नेताहरूले दिएका छन् ।

पात्रको टुङगो नलागेपनि नेपाली काँग्रेसका नेताहरुले गठबन्धन सरकार आफूहरुको नेतृत्वमा बन्नु पर्ने धारणा अघि सारेका छन् । उता नेकपा माओवादीले पनि मिलिजुली सरकारको जनमत आएकाले आफ्नो नेतृत्वमा पहिलो सरकार बन्नुपर्ने स्पष्टै रुपमा भन्न थालेको छ । सरकार निर्माणमा दोस्रो ठूलो दल नेकपा एमालेको सम्भावित भूमिकाबारे पनि अनुमान गर्न थालिएको छ । प्रतिनिधिसभामा बहुमत पुर्‍याउन केही साना दलहरूको समर्थन सुनिश्चितजस्तै देखिइसकेको भए पनि सरकारको नेतृत्व लिन कांग्रेस र माओवादी दुवैले प्रयास गरिरहेका छन् । प्रतिनिधिसभा निर्वाचनअघि आगामी सरकारको नेतृत्वमा विवाद नगर्ने वाचा गरेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यो प्रतिबद्धतामा अडिग रहलान् त ? यसबारे पनि आशङ्का सुरु भएको छ ।

कांग्रेस माओवादी दुवै एमालेसँग छलफलमा
सार्वजनिक अभिव्यक्तिमा गठबन्धनलाई एक ढिक्का राख्ने दोहोर्‍याइरहेका देउवा र दाहालले आफू निकटका नेताहरूको माध्यमबाट नेकपा एमालेको नेतृत्वसँग पनि छलफल सुरु गरेका छन् ।
“संस्थागत रूपमा नभए पनि व्यक्तिगत रूपमा कांग्रेसका नेताहरूले पनि र माओवादीका नेताहरूले पनि भेटिरहनुभएको छ। तर संस्थागत रूपमा उहाँहरूले गठबन्धनलाई नै टिकाइराख्ने निर्णय गर्नुभएको छ,” एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र माओवादी नेताहरूसँग भेटवार्ता भइरहेको पुष्टि गर्दै भने ।
“गठबन्धन अघि नबढ्ने भयो नभन्दासम्म यो विषय उहाँहरूको निजी चासो र चिन्ताको विषयजस्तो मात्रै देखिन्छ।”
कांग्रेस र माओवादी नेताहरूको बाक्लिँदै गएको भेटवार्तालाई अहिलेलाई गठबन्धनभित्र “मोलमोलाइको” दृष्टिले मात्रै आफूहरूले हेरिरहेको एमाले नेताहरू बताउँछन् ।
प्रतिनिधिसभामा ७८ सीट जितेको एमाले र कांग्रेस मिल्दा नयाँ सरकार निर्माणका लागि सहजै बहुमत पुग्छ । एमालेको र माओवादसहित अरू केही साना दल मिलेर सरकार बनाउन पनि सम्भव छ ।
“गणितीय हिसाबले चाहिँ सत्ता गठबन्धन नै सरकार बनाउन सक्ने सम्भावना देखिएको हुनाले हामी पर्ख र हेरको अवस्थामा छौँ,” एमाले उपमहासचिव ज्ञवाली भन्छन् । गठबन्धन एकजुट हुँदासम्म एमालेलाई सरकार गठनमा अग्रसरता लिन अप्ठ्यारो छ ।
तर गठबन्धनमा भागबन्डा नमिलेको अवस्थामा एमाले आफ्नो नेतृत्वमा वा त्यो नभए नेतृत्व अरूलाई दिएर भए पनि सरकार निर्माणको खेलमा उत्रन सक्ने धेरैको आकलन छ । एमालेले अहिलेको गठबन्धन भत्काउने सर्तमा कांग्रेस वा माओवाद सहितका दलहरूसँग सहकार्य गर्न सक्ने एमाले नेताहरू बताउँछन् ।
“हामी परिस्थिति आउँदा निकास दिने पक्षमा छौँ तर अरूको महत्त्वाकाङ्क्षाको काँध हालेर हामी कसैको सवारी चाहिँ बन्दैनौँ,” ज्ञवालीले भने ।

प्रधानमन्त्री र राष्ट्रपति दुवैमा कांग्रेसको दाबी
निर्वाचन परिणामपछि माओवादीभन्दा झन्डै तेब्बर सीट सङ्ख्याले ठूलो दल बनेको कांग्रेसले आगामी प्रधानमन्त्री र राष्ट्रपति दुवैमा दाबी गरिरहेको छ ।
“स्वाभाविक रूपमा सबभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेस नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने हाम्रो भनाइ छ,” कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने।
तर सरकारको नेतृत्व र राष्ट्रपतिमा भागबन्डाबारे कुनै निर्णय वा गम्भीर छलफल नभएको स्पष्ट पार्दै महतले भने, “कांग्रेस ठूलो अन्तरले ठूलो दल छ। त्यस कारणले राष्ट्रपतिमा पनि दाबी गर्नु अस्वाभाविक हुँदैन।”
प्रधानमन्त्री नछोड्ने कांग्रेस नेताहरूको अभिव्यक्ति र गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनेबारे भइरहेका चर्चाका कारण माओवादी नेताहरू कांग्रेससँग झस्किएका छन् ।
राजनीतिक प्रणालीमा गैरराजनीतिक नेतृत्व हुने कुरा “अवधारणागत रूपमै त्रुटिपूर्ण” हुने भन्दै माओवादी महासचिव देव गुरुङले त्यस्तो प्रस्तावमा आफ्नो दल सहमत नहुने बताइसकेका छन्।
“यो व्यवस्थाको लागि सबैभन्दा बढी त्याग र बलिदान गरेको त माओवादी नै हो । यसको मुख्य हिस्सेदार वा यसको मुख्य प्रस्तावक त गिरिजाप्रसाद कोइराला र प्रचण्ड नै हो । त्यस कारण मुलुकको सिस्टममाथि चुनौती पैदा भएको अवस्थामा नेतृत्व गर्न सक्ने व्यक्ति नै अघि बढ्ने हो,” उनले भने । गुरुङ हालै एमाले अध्यक्ष ओलीलाई भेट्न पुगेका थिए ।  “त्यो सामान्य शिष्टाचार मात्रै हो। उहाँलाई बधाई दिन गएको हुँ,” उनले भनेका छन् ।

गठबन्धनकै सरकार बन्ला ?
आगामी सरकार गठबन्धनकै बन्छ भन्नेमा कांग्रेस र माओवादी दुवै दलका नेताहरू पछिल्लो समय ढुक्न पर्न सकेका छैनन् । माओवादी नेता गुरुङले कांग्रेससँग एजेन्डाकै विषयमा छलफल हुन बाँकी रहेको बताए । “नेतृत्वमा को भन्ने व्यक्ति हेरेर निर्णय गर्ने कुरा होइन । पहिले एजेन्डामा छलफल भएर एउटा टुङ्गोमा पुगेपछि व्यक्तिबारे छलफल गर्न सकिएला,” उनले भने।
कांग्रेस प्रवक्ता समेत रहेका तथा प्रधानमन्त्री देउवाका विश्वासपात्र महतले गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् ।
“अहिले हाम्रो यही विश्वास हो,” उनले भने । “हामी त्यसमा प्रतिबद्ध छौँ। सहभागी अरू दलहरू पनि त्यो कुराबाट विचलित हुनु हुन्न भन्ने आशा र विश्वास छ ।” गठबन्धनमा अप्ठ्यारोको लक्षण नदेखिएको दाबी गर्दै विकल्पबारे सोचिनसकेको उनको दाबी छ ।
माओवादी केन्द्रसँग तालमेल गरेर वाम गठबन्धन वा कांग्रेससँग सहकार्य गरेर लोकतान्त्रिक गठबन्धन बन्नेमा एमाले पनि विश्वस्त नभएको ज्ञवाली बताउँछन् । “हामी कांग्रेस र माओवादी दुवैसँग समदूरीमै छौँ,” उनले भने ।
कांग्रेस र एमाले मिलेर सरकार बनाउने सम्भावना कति ?
प्रतिनिधिसभामा ठूलो दलका रूपमा स्थापित नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेका नेताहरूबीच सरकार गठनका विषयमा छलफल भएका छन् ।  पछिल्ला दिनमा ती दलका  नेताहरूको राजनीतिक भेटघाटलाई नयाँ सरकार गठनसँग जोडेर हेर्न थालिएको छ । 
यद्यपि दुवै दलका नेताहरूले “ती भेटमा सत्ता साझेदारीबारे गम्भीर कुराकानी नभएको” बताएका छन्।
प्रत्यक्ष निर्वाचनबाट ५७ र समानुपातिकतर्फबाट ३२ गरी नेपाली कांग्रेसका कुल ८९ सांसद हुनेछन् भने नेकपा एमालेका प्रत्यक्षबाट ४४ र समानुपातिकतर्फबाट ३४ गरी कुल ७८ सांसद छन्।
कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए । उक्त भेटघाटलाई लिएर कतिपयले दुई दलका नेताहरूबीच सरकार गठनबारे पनि छलफल भएको हुनसक्ने अनुमान गरेका छन् ।
केसीले चाहिँ त्यो भेट “विशुद्ध शिष्टाचार र चुनाव जितेकोमा बधाई साटासाटमा मात्र सीमित रहेको” दाबी गरे।
यद्यपि उनले “देशको वर्तमान परिस्थिति र सरकार गठनबारे छलफल नभएको भन्ने नभएको” पनि बताए ।
केसीले भने, “सरकार गठनको बारेमा त खास नेतृत्व तहको कुरा हो । उहाँहरूले गरेको भए बेग्लै कुरा हो ।”
“हामी एउटा गठबन्धन लिएर चुनावमा गयौँ  र जनसमर्थन प्राप्त गर्‍यौँ। यसबीचमा विकल्प खोज्नु राजनीतिक इमान्दारी हुँदैन। त्यतातिर त्यति गम्भीरतापूर्वक छलफल भएन” उनले भने ।
“तर के छ भने, ‘त्यस्ता सम्भावनाहरू खोज्नुपर्छ । मुलुक अस्थिरतातिर जान लाग्यो भन्ने उहाँ (ओली) ले कुरा निकाल्नुभएको थियो ।” उनले चुनावले जनतामा असन्तुष्टि देखा परेको र देश भूराजनीतिक हिसाबले पनि असहज अवस्थामा पर्ने सङ्केत देखिएकोबारे ओलीसँगको भेटमा चर्चा भएको जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  २०:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार