दलहरूको ध्यान संसदीय दलको नेता चयनमा 

काँग्रेस भित्र आधा दर्जन नेता आकांक्षी 
शुक्रबार, पुस १, २०७९

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन परिणाम औपचारिक रुपमा घोषणा भएपछि दलहरू संसदीय दलको नेता चयनमा लागेका छन् । संसदीय दलको नेता नै भावी प्रधानमन्त्री, विपक्षी दलका नेता हुने हुँदा यो पदलाई महत्वका साथ हेरिने गरिन्छ । एमालेले अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्री भन्दै चुनावमा गएका कारण संसदीय दलका नेता पनि उनै हुने लगभग निश्चित नै छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने संसदीय दलको नेता बन्ने देखिएपनि उनका विरुद्धमा नागरिकता मामिलामा अदालतमा मुद्दा परेका कारण यो दलको नेता को बन्छ भन्ने एकिन भइसकेको छैन । 

निर्वाचनबाट पहिलो पार्टी नेपाली कांग्रेस भित्र संसदीय दलको छनोटको विषय पेचिलो बन्दै गएको छ । काँग्रेस भित्र आधा दर्जन नेता संसदीय दलको नेता बन्ने दौडमा लागेका छन् । काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि देखि इतर पक्षका नेता डा. शेखर कोइराला पनि यो दौडमा सामेल भएका छन् । शेरबहादुर देउवा स्वभाविक रुपमा दलको नेता बन्ने दौडमा छन् । महामन्त्री गगनले चुनावकै बेला अब युवाले देश हाँक्ने हो भन्दै संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका थिए । निर्वाचन परिणाम आएपछि प्रकाशमान सिंह तथा रामचन्द्र पौडेलले पनि संसदीय दलको नेताका लागि आकांक्षा राखेको सार्वजनिक भइसकेको छ । पछिल्लो पटक काँग्रेसमा इतर पक्षको नेतृत्व गरेका डा.शेखर कोइरालाले पनि संसदीय दलको नेताका रुपमा आफूलाई उभ्याएका छन् ।  डा कोइरालाले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारी गरेका छन् ।
डा. शेखरले औपचारिक रुपमा केही नभने पनि आफ्नो समूहका नेताहरुसँग हुने आन्तरिक भेटघाटमा दलको नेता लड्ने प्रष्ट संकेत दिएका छन् । एक नेताका अनुसार ‘तपाईँ के गर्नुुहुन्छ’ भन्ने प्रश्नमा डा. शेखरले शेरबहादुरलाई दलको नेता लड्छु भनिसकेँ भन्ने गरेका छन् ।
नेताहरुका अनुसार संसदीय दलको अंकगणित हेर्दा दलको नेतामा देउवाको जित निश्चितजस्तै छ । ‘हार्ने चुनाव’ मा को उम्मेदवार हुने भन्ने विवाद गर्ने हो भने १४औं महाधिवेशनबाट बनेको यो समूहको नाश मात्र हुने भन्दै केही नेता सहमति खोज्न भन्दै दौडधुप गरिरहेका छन् । सांसदहरुलाई भेट्दै आएका एक नेता भन्छन्, ‘१५ औं महाधिवेशनमा शेखरलाई सभापतिमा अघि सार्ने घोषणा गर्न लागाउने र संसदीय दलको नेतामा गगनलाई समर्थन गर्ने हाम्रो प्रस्ताव छ ।’
गगनका ससुरासमेत रहेका कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अर्जुनरसिंह केसीलगायतका नेताहरुले समूहका नेताहरुसँग निरन्तर सम्वाद पनि गरेका छन् । तर सहमतिको संकेत देखिएको छैन । शेखर र उनी निकट नेताहरु गगनलाई संसदीय दलको नेताको उम्मेदवार छाड्न तयार छैनन् ।
समूहका नेताहरुसँग छलफल नै नगरी संसदीय दलको नेताको उम्मेदवारका रुपमा अघि सारेकोमा असन्तुष्ट नेताहरु गगनको पुस्तान्तरणको नारामा समेत रुष्ट छन् । ‘हाम्रो ट्रेन हिँड्यो, बस्ने भए आउनुस्, नभए छुट्यो भन्ने जुन शैली ठीक भएन,’ शेखर निकट एक नेता भन्छन् ।
उनीहरु गगनको अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग बढ्दो समिप्यतालाई लिएर समेत प्रश्न गर्छन् । गगनले दलको नेता लड्ने घोषणा गरेपछि शर्माले सार्वजनिक रुपमै समर्थन गरेका छन् । झापा क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित शर्माले गगन प्रस्तावक नै बस्ने बताउने गरेका छन् । त्यसमा प्रश्न गर्दै शेखर समूहका एक नेता भन्छन्, ‘गगन नै दलको नेता लड्ने भए शेखर कोइराला प्रस्ताव बस्ने होला, धनराज गुरुङहरु बस्ने होला, विश्वप्रकाश होइन ।’
उनीहरुका अनुसार अब महामन्त्री गगन आफ्नो निर्णयमा पुनर्विचार गर्न तयार हुने हो भने सहमति खोज्न सकिन्छ । नभए डा. शेखरले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिने छन् ।
महामन्त्री गगन भने १५औं महाधिवेशनमा शेखरलाई सभापतिमा समर्थन गर्ने बचन दिन तयार छन् । तर संसदीय दलको नेताको चुनाव लड्छु भनेर काठमाडौं–४ का मतदातासँग गरेको बाचामा चुक्न तयार छैनन् । यही अवस्था रहे यो समूह नै नरहने अवस्था आउने एक नेता बताउँछन् ।
शेखर र गगन १४औं महाधिवेशनमा जोडिएका थिए । १३औं महाधिवेशनमै महामन्त्रीमा प्रतिस्पर्धा गरेका गगन संस्थापन इतर समूहमा निर्विकल्प उम्मेदवार थिए । सभापतिमा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर आकांक्षी थिए । गगन थापासहितका युवा नेताहरुले शेखरलाई साथ दिएपछि रामचन्द्र र शशांकले सभापतिको चुनाव नै लडेनन् भने प्रकाशमानले मुस्किलले ३०० मत कटाए । तर शेखरले ४० प्रतिशतभन्दा बढी मत पाएका थियो ।
यो समूहबाट धनराज गुरुङ उपसभापति, गगन महामन्त्री, जीवन परियार र बद्री पाण्डे सहमहामन्त्री चुनिएका छन् । उनीहरुसहित समूहका नेताहरुले शेखरलाई नै समूहका नेता मान्दै आएका थिए । महामन्त्री गगन लगायतका पदाधिकारीहरुले कार्यसम्पादन समिति गठनदेखि टिकट वितरणसम्म डा. शेखरसँग परामर्श गरेका थिए । तर पछिल्लो समय संवाद नै हुन छाडेको छ । चुनावपछि महामन्त्री गगन, शेखरलाई भेट्न उनकै निवास पुगेका थिए ।
दलको नेताबारे फेरि छलफल गर्ने भन्दै उठेका दुई नेताबीच फेरि सम्वाद नै हुन सकेको छैन । सहमतिको पक्षमा रहेका शेखर समूहका एक नेता भन्छन्, ‘महामन्त्री गगन आफैं डा. शेखर कहाँ गएर २÷४ चोटी छलफल गरे भयो । उहाँले पनि बोलाएर छलफल गरे हुने हो, तर सम्वाद नै छैन ।’

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार