तराईमा शीतलहर

शुक्रबार, पुस १, २०७९

काठमाडौं । केही दिनयतादेखि चिसो बढ्दा तराई क्षेत्रमा शीतलहर सुरु भएको छ । मानिसहरु घर–आँगनमा दाउरा बालेर शीतलहर छल्ने प्रयास गरिरहेका छन् । दिउँसो लाग्ने घामका कारण केही राहत भएपनि विहान बेलुका चिसो ह्वात्तै बढ्दा जनजीवन कष्टकर भइरहेको छ । जलवायु परिवर्तनका कारण तराईका क्षेत्रमा केही वर्षयता देखि शीतलहरको समस्या देखिन थालेको छ । शीतलहरले मानिसको ज्यानै सम्म लिने गरेको छ । गत बुधबारदेखि पश्चिम तराईका बाँकेलगायतका क्षेत्रमा चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । 
बाँकेमा बिहीबार न्यूनतम तापक्रम १०.५ र अधिकतम् तापक्रम २१.७ डिग्री सेल्सियस रह्यो । चिसोले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् । बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार सम्साँझै सुनसान हुन थालेका छन् ।
न्यानो कपडाका पसल तथा सकडपेटीका पसलमा ग्राहकको भीड बढेको छ । सडकपेटीमा लुगा पाउने गरेकाले ग्राहकको भीड लाग्न थालेका छन् । कठङ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगञ्ज–१६ का रामप्रसाद थारू बताउँछन् । उनले भने, “सवारीसाधन कम गतिमा बत्ती बालेर गुड्नुपरेको छ, हुस्सुले दुर्घटनाको जोखिम हुन्छ, त्यसैले सावधानीपूर्वक सवारी चलाउने गर्छौँ ।”
चिसोकै कारण बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पतालका सूचना अधिकारी पिजिसियन डा सङ्केत रिसालले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा अहिले दैनिक आउने एक सय बढी बिराममध्ये आधा जति चिसोले समस्या भएर आउने गरेका छन् ।
बाक्लो हुस्सु लागेपछि यहाँका हवाई उडान सेवा प्रभावित हुन थालेको छ । बाक्सो हुस्सु लागेपछि भिजिविलिटी कम हुँदा दुई दिनदेखि राँझा विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको हो । दिउँसोको समयमा भने हवाई सेवा नियमित भइरहेको नेपाल नागरिक उड्डयन कार्यालय बाँकेले जनाएको छ । कार्यालयका अनुसार राँझा विमानस्थलमा हवाई उडान र अवतरणका लागि एक हजार छ सय मिटर भिजिबिलिटी आवश्यक पर्दछ । 
 

चिसो बढेपछि जनजीवन प्रभावित
सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ । यस क्षेत्रमा अचानक बिहीबारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको हो । दुई दिनअघिसम्म बिहान–बेलुका र रातको समयमा चिसो भए पनि दिनभर भने पारिलो घाम लाग्ने गरेको थियो । तर बुधबारदेखि बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि मधेस प्रदेशको जनजीवन प्रभावित हुन थालेको छ ।

NG_Sunsari-IMG_20221216_0821081671171846.jpg
चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा र दीर्गरोगी बढी प्रभावित भएका छन् । छाप्रामा बस्ने अतिविपन्न तथा मजदुर परिवार ताता खानेकुरा र न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिन थालेका छन् । चिसो बढेपछि विपन्न समुदायको बाहुल्यता रहेको बस्तीमा समस्या सुरु भएको स्थानीयवासी रामवली रायले बताउनुभयो । चिसो छल्न स्थानीयवासीले आगो बालेर ताप्न थालेका छन् । चोक– चौतारामा मानिसको जमघट बन्द भएको छ । कठ्याङ्ग्रिँदो चिसोले विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ भने मजदुर र किसानलाई नियमित काममा निस्कन गाह्रो परेको छ ।
बढी बाक्लो मात्रामा हुस्सु लागेपछि गाउँले आगो बालेर ताप्न थालेको र पशु चौपायालाई पराल ओछ्याउने, बोरा ओढाउनेलगायत काम गर्न थालेका स्थानीयवासी विनय महतोले बताए। चिसो बढिसकेकाले स्वास्थ्यको विशेष ख्याल गर्न प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख सुदीप काफ्लेले सुझाव दिनुभयो । उहाँका अनुसार यो बेला झोलिलो र तातो खानेकुरा प्रशस्त खान, न्यानो कपडा लगाउन सुझाव दिनुभयो । चिसोबाट टाउको दुख्ने, कोल्ड डायरिया हुने, छातीमा सङ्क्रमण हुने, रुघाखोकी लाग्नेजस्ता स्वास्थ्य समस्या देखिने भएकाले चिसोबाट जोगिने उपाय अपनाउन चिकित्सक काफ्लेले सुझाव दिए । 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार