निर्वाचन आयोगले आज राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाउँदै 

बिहीबार, मंसिर २९, २०७९

काठमाडौँ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फका नतिजा सार्वजनिक गरेसँगै निर्वाचन आयोगले आज निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउँदै छ । 
आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम बुधबार घोषणा गरेको हो । आयोगले नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ ।
सोहीबमोजिम आज राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । 
यसैगरी आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम छ ।
 प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ । आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदनअनुसार प्रतिनिधिसभातर्फ दुई सय ७५ र प्रदेशसभातर्फ पाँच सय ५० जना गरी कूल आठ सय २५ जना निर्वाचित भएका छन् । 
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।

समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना
सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । 
निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ मा नेकपा एमालेबाट कमला दर्नाल (तेह्रथुम), नेपाली कांग्रेसबाट सुनिताकुमारी गुरुङ (सुनसरी), नेकपा माओवादी केन्द्रबाट सपना दर्जी (सुनसरी) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपालबहादुर विशवकर्मा (झापा) प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । 
त्यसैगरी मधेस प्रदेशमा कांग्रेसबाट सकुन्ती देवी (सर्लाही) र निलमकुमारी रजक (सप्तरी), एमालेबाट पलटीदेवी महरा (धनुषा), जनमत पार्टीबाट रञ्जुकुमारी मण्डल खंग (सप्तरी), जनता समाजवादी पार्टी नेपालबाट ललिता दास (सिरहा), माओवादी केन्द्रबाट शारदा दास पहाडी (धनुषा) र नेकपा (एकीकृत समाजवादी) बाट किशोरी देवी (रौतहट) गरी सात जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । 
बागमती प्रदेशमा एमालेबाट बालकुमारी विश्वकर्मा (काठमाडौँ) र कांग्रेसबाट सुना परियार (काठमाडौँ) तथा गण्डकी प्रदेशमा एमालेबाट गोविन्दबहादुर नेपाली (बागलुङ) र नन्दकला दमै नेपाली (कास्की), कांग्रेसबाट दिलमायाँ पौवी (बाग्लुङ) र टीकाकुमारी बस्याल (लमजुङ) तथा माओवादी केन्द्रबाट दमयन्ती रुचाल (बर्दघाट सुस्ता पूर्व) गरी पाँच जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । 
यस्तै लुम्बिनी प्रदेशमा एमालेबाट इन्द्रकुमारी गहतराज (पाल्पा) र रेखाकुमारी शर्मा (दाङ), कांग्रेसबाट लोकीकुमारी विक (दाङ) तथा माओवादी केन्द्रबाट यमबहादुर नेपाली सार्की (गुल्मी) प्रदेशसभा सदस्यमा निर्वाचन भएका छन् । कर्णाली प्रदेशमा एमालेबाट गमता विक (दैलेख), कांग्रेसबाट लक्ष्मी सुनार (सल्यान) र माओवादी केन्द्रबाट उर्मिला विश्वकर्मा (रोल्पा) गरी तीन जना दलित समुदायबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा एमालेबाट हीरा सार्की (कञ्चनपुर), कांग्रेसबाट ललिता सुनार (कैलाली) र माओवादी केन्द्रबाट लक्ष्मी विक (दार्चुला) गरी तीन जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेशतर्फ प्रत्यक्षमा गण्डकी प्रदेशमा सीता सुनदास र कर्णालीमा रनसिंह परियार मात्रै विजयी भएका थिए । योसँगै प्रदेशसभामा दलित समुदायको प्रतिनिधित्व ३० पुगेको छ । 
त्यसैगरी प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकतर्फ १५ जना निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ भने एमालेका सचिव छविलाल विश्वकर्मा मात्रै रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधसभामामा समानुपातिक र प्रत्यक्ष गरी दलित समुदायबाट १६ सांसद निर्वाचित भएका छन् ।  
 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार