निर्वाचन आयोगले भोलि राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाउँदै 

बुधबार, मंसिर २८, २०७९

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन परिणामसहितको प्रतिवेदन भोलि बिहीबार बुझाउने तयारी गरेको छ । आयोगले बुधबार समानुपातिक निर्वाचन प्रणालीको परिणाम घोषणा गरेको छ । आयोगले प्रतिनिधिसभाको प्रत्यक्ष हिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ । सोही बमोजिम यही मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोगले आज जनाएको हो ।
यसैगरी आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणाम सहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली राजपत्रमा प्रकाशित गरिनेछ ।
आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदनअनुसार प्रतिनिधिसभातर्फ दुई सय ७५ र प्रदेशसभातर्फ पाँच सय ५० जना गरी कूल आठ सय २५ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ पुरुष एक सय ८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएका छन् । 
प्रदेशसभातर्फ पुरुष तीन सय ५० जना (६३ दशमलव ६४ प्रतिशत) र महिला दुई सय जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । 
समानुपातिक प्रणालीको नतिजा सार्वजनिक भएसँगै सरकार गठनलगयतका विषयमा दलहरूले छलफललाई तीब्रता दिएका छन् 

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन बनाउने प्रतिवद्धता

निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिन कानुन बनाउने प्रतिवद्धता जनाएको छ ।
४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

‘८ वटा कानुन छन् । अब एउटै बन्छ । धेरै कुरा जुधेका पनि छन्’ थपलियाले भने ।
नयाँ ऐनमा विदेशमा बस्ने नेपाली मतदाताले मतदान गर्ने विषय, निर्वाचनको मिति निर्वाचन आयोग आफैँले तय गर्ने देखि मतदाता शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने लगायतका विषय समेटिने थपलियाको प्रतिवद्धता छ ।
उनका अनुसार निर्वाचन सम्बन्धी एकीकृत ऐन (विधेयक) नयाँ संसद सुरु भए लगत्तै लैजाने आयोगको तयारी छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार