प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा राना थारु समुदायको प्रतिनिधित्व शून्य

सोमबार, मंसिर २६, २०७९

महेन्द्रनगर । अघिल्लो पटकको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो प्रतिनिधित्व जनाएको राना थारु समुदाय हालै सम्पन्न निर्वाचनमा भने आफ्नो उपस्थिति देखाउन चुकेको छ । मुलुलभरमध्ये कैलाली र कञ्चनपुरमा मात्रै सदियौंँदेखि बसोबास रहेको राना थारु समुदायबाट सुदूरपश्चिमका केही निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेशसभामा विभिन्न पार्टीबाट उम्मेदवारी रहे पनि जित भने हासिल गर्न सकेनन् ।
त्यसैगरी राजनीतिक दलले आफ्नो समानुपातिक कोटामा पनि प्रतिनिधि र प्रदेशसभामा राना थारु समुदायलाई नसमेटेपछि उनीहरुको उपस्थिति शून्य बनेको हो । विसं २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधिसभा निर्वाचन जितेर केन्द्रमा आफ्नो उपस्थिति जनाएका एमाले नेता नारदमुनि राना यसपटक भने नेपाली कांग्रेसका उम्मेदवारसित पराजित भए । 
कञ्चनपुरमा पनि विगतमा नेकपा एमालेबाट समानुपातिक सांसद भइसकेका कृपाराम रानादेखि सत्तागठबन्धनबाट नेपाली कांग्रेसका नेता बन्धु रानासम्म प्रदेशसभा सदस्यका उम्मेदवार भए पनि पराजित भए । 
पछिल्लो समय सुदूरपश्चिममा प्रतिनिधिसभामा तीन र प्रदेशसभामा पाँच सिट जितेर उदाएको नागरिक उन्मुक्ति पार्टीबाट यहाँ प्रदेशसभा सदस्य पदमा राना थारु समुदायबाट उम्मेदवार बने पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन् ।
हालै सम्पन्न निर्वाचनमा प्रतिनिधि र प्रदेशसभामा चौधरी थारु समुदायबाट उपस्थिति बढिरहँदा राना थारु समुदाय भने शून्यमा पुगेको छ । अघिल्लो निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय जनता पार्टीबाट मालामती राना र नेपाली कांग्रेसबाट श्यामलाल चौधरी प्रदेशसभा सदस्य थिए । बत्तीस प्रत्यक्ष र २१ समानुपातिक गरी ५३ प्रदेशसभा सदस्य चुनिँदा यहाँ राना थारु समुदायबाट शून्य हुनु दुःखद् भएको राना थारु अगुवाको भनाइ छ ।
राना थारुलाई विसं २०७६ माघमा सरकारले सूचिकृत गरेको थियो । यसपटक प्रदेशमा समानुपातिकतर्फ थारुबाट नेपाली कांग्रेसले गीताकुमारी चौधरी, नेकपा ९एमाले०ले कोइलीदेवी चौधरी र नागरिक उन्मुक्ति पार्टीले सुनिता चौधरीलाई प्रदेशसभा सदस्य बनाएको छ । 
मुलुकभर यहाँकमा दुई जिल्लामा मात्रै बसोबास रहेको राना थारु समुदायबाट पहिलो पटक २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत कञ्चनपुरका लबरु राना २०४२ सालमा भूमि सुधार राज्यमन्त्री बनेका थिए । 
कञ्चनपुरबाट संविधानसभा सदस्य एवं हाल प्रदेशसभा निर्वाचनका उम्मेदवार रहेका नेकपा एमालेका नेता कृपाराम रानाले यसपटक राना थारु समुदायको उपस्थिति सङ्घ र प्रदेशमा नरहेको बताए । 
“हाम्रो पार्टीमा केन्द्र र प्रदेशमा प्रत्यक्षमै टिकट दिएपनि समानुपातिकमा हाम्रो समुदायबाट कसैलाई समेटिएन्”, उनले भने, “सत्तागठबन्धनबाट नेपाली कांग्रेसमा राना थारु समुदायको प्रतिनिधित्वका लागि सिफारिस गरिए पनि अन्तःसांसद भने बनाइएन् ।” कांग्रेसबाट राना थारु समुदायबाट केन्द्रमा जीवन राना र प्रदेशमा झेली रानालाई समानुपातिक कोटामा सिफारिस गरिएको थियो ।
यहाँ राना थारु अगुवाहरुले संसद्मा सबै वर्ग, समुदाय, जातजाति समेटिनुपर्ने भए पनि प्रमुख राजनीतिक दलले त्यसमा ध्यान नदिएको दुखेसो पोखेका छन् । “कञ्चनपुरमा मात्रै हाम्रो २५ प्रतिशतभन्दा बढी बसोबास रहे पनि जनप्रतिनिधितर्फ पालिकामा सिमित गरियो”, नेपाल राना थारु समाज कञ्चनपुरका अध्यक्ष प्रेमवती रानाले भनिन् । उनले चौधरी थारु समुदायको पूर्व झापादेखि कञ्चनपुरसम्म प्रतिनिधित्व हुँदा राना थारुमाथि भने सबैतिरबाट वञ्चित गर्ने काम भएकामा गुनासो पोखिन् । 

झापामा ८४ जनाले बुझाए चुनावी खर्च विवरण
झापाबाट प्रतिनिधिसभामा र प्रदेशसभाबाट उम्मेदवार बनेका एक सय ९२ उम्मेदवारमध्ये ८४ जनाले मात्र आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म चुनावी खर्च विवरण बुझाउनेमा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनी विजयी बनेका एमाले अध्यक्ष केपी शर्मा ओेलीसहित विभिन्न राजनीतिक दल र स्वतन्त्रका गरी ८४ जनाले खर्च विवरण बुझाएका हुन् । ठूला दलबाट निर्वाचन खर्च बुझाउनेमा हालसम्म अध्यक्ष ओली मात्र रहेको निर्वाचन कार्यालयका नासु प्रेम गुरागाईंले जानकारी दिए । 
उनले अध्यक्ष ओलीले प्रचार सामग्री छपाइ, यातायात, खाजा, खाना, सम्पर्क कार्यालय स्थापना लगायतको शीर्षकमा रु १८ लाख ८२ हजार चुनावी खर्च भएको विवरण कार्यालयमा बुझाएको बताए । निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने प्रावधान रहे पनि उम्मेदवारले खर्च विवरण बुझाउन विलम्ब गरिरहेको उनको भनाइ छ । 
उनले नेपाल मजदूर किसान पार्टी (नेमाकिपा) का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका कृष्ण गोपाल, महेन्द्र खायामलीलगायतले भने चुनावी खर्च शून्य भएको विवरण बुझाएको जानकारी दिए। 
 

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार