२६ लाख १२ हजार रुपैयाँमा पार लगाए देउवाले चुनावी खर्च 

बुधबार, मंसिर २१, २०७९

डडेल्धुरा । यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् ।  निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाएका छन् । 
निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय डडेलधुरामा बुझाउन थालेका हुन् । प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत खर्च विवरण पेश गरेका छन् । उनले निर्वाचनमा २६ लाख १२ हजार रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेको सहसचिव महरले जानकारी दिए । प्रचार सामग्री छपाई, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत सात शीर्षकमा उक्त खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको उनले बताए । 
यस्तै नेपाली कांग्रेस (वीपी) का उम्मेदवार कर्णबहादुर मल्लले१३ लाख आठ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले एक लाख १६ हजार, विक्रमबहादुर शाहीले रु दुई लाख दुई हजार एक सय ९० र राप्रपा उम्मेदवार गोविन्द खडायतले चार लाख ४० हजार रुपैयाँ खर्च भएको भन्दै विवरण बुझाएका छन् ।
 
जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीका अनुसार डडेलधुरामा प्रतिनिधिसभातर्फ रु ३१ लाख, प्रदेशसभा (१)का लागि रु २१ लाख र प्रदेशसभा (२) का लागि रु १९ लाख खर्चको सीमा तोकिएको थियो । एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभामा आठ र दुई वटा प्रदेशसभामा १२ गरी २० उम्मेदवार रहेका थिए । उनीहरुमध्ये १४ जनाले निर्वाचन खर्च बुझाइसकेको निर्वाचन अधिकारी अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार आज प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले पनि चुनावी खर्चको विवरण प्रतिनिधिमार्फत बुझाउनुभएको जानकारी दिनुभयो ।

निर्वाचन खर्च बुझाउँदै जुम्लाका उम्मेदवार

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले निर्वाचनमा गरेको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउन थालेका छन् । एक सङ्घीयसभा सदस्य निर्वाचन क्षेत्र र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा जम्मा १३ जना उम्मेदवारमध्ये १० जनाले निर्वाचन खर्चको विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी अभिनन्द्र चौलागाईंले जानकारी दिए ।
प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गोमा कुँवर (गौतम), राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) नेमकिपाका डिल्लीप्रसाद काफ्ले र स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर रोकायाले निर्वाचन खर्च विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी चौलागाईंले जानकारी दिए । उनले भने, “प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञानबहादुरले रु १३ लाख तीन सय, डिल्लीप्रसाद काफ्लेले चार लाख ३८ हजार, गोमा कुँवर (गौतम)ले २१ लाख ९९ हजार, डाक्टर कलबहादुर रोकायाले रु १३ हजार बराबरको निर्वाचन खर्च विवरण बुझाएका छन् ।” 
प्रदेशसभा (१) तर्फ देवेन्द्रबहादुरी शाहीले रु १० लाख २८ हजार, ललितजङ्ग शाहीले रु आठ लाख ६६ हजार, राजेश्वर देवकोटाले रु एक लाख ८३ हजार पाँच सय निर्वाचन खर्च भएको विवरण बुझाएका छन् । यस्तै प्रदेशसभा (२) तर्फ टेकराज पछाईले रु १० लाख २१ हजार, धनबहादुर बस्नेतले रु दुई लाख ५२ हजार पाँच सय र बिर्खबहादुर रावतले रु एक लाख ६३ हजारको खर्च विवरण बुझाएका छन् ।
प्रतिनिधिसभातर्फ नेकपा (एमाले)का उम्मेदवार रतननाथ योगीले खर्च विवरण बुझाएका छैनन् । प्रदेशसभा (१) बाट एमालेका उम्मेदवार धीरेन्द्रराज गिरीले पनि खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै प्रदेशसभा (२) तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार तथा समाजवादी पार्टीका नेता पदमबहादुर रोकायाले निर्वाचन खर्च बुझाएका छैनन् । 
पहिलो हुने निर्वाचित प्रणालीतर्फ निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ४० बमोजिमको ढाँचामा खर्च विवरण आयोगलाई बुझाउनुपर्ने हुन्छ । 

४५ उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण 

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ४५ उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा ६८ जनाले उम्मेदवारी दिएका थिए ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा हालसम्म ४५ उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाइसक्नुभएको निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुषालले जानकारी दिए । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र उम्मेदवारले खर्चको बिल भरपाइ निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।
“नेपाली कांग्रेसका उम्मेदवारहरू डा शशाङ्क कोइराला, विष्णुकुमार कार्की, महेन्द्रध्वज जिसी, नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेल, तिलबहादुर महत, रवीन्द्र अधिकारी, रोशनबहादुर गाहा, पद्मा जिसी, लक्ष्मणबहादुर पाण्डेले निर्वाचन खर्च विवरण पेश गरिसक्नुभएको छ”, भुषालल भने, “नेपाली कांग्रेस (बीपी), नेकपा (एकीकृत समाजवादी), मङ्गोल नेशनल पार्टी, नेपालका लागि नेपाली, हाम्रो नेपाली पार्टी, राष्ट्रिय जनमुक्ति लगायतका पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले पनि निर्वाचन खर्च बुझाउनुभएको छ ।”
जिल्लामा स्थानीय निर्वाचनमा निर्वाचन खर्च बुझाउनेभन्दा नबुझाउने उम्मेदवार धेरै थिए । निर्वाचन कार्यालयले पटकपटक ताकेता गर्दा पनि बुझाउन नआउँदा जरिवाना तिर्नुपरेको थियो । अहिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्म ४५ उम्मेदवारले खर्च विवरण पेश गरिसकेको कार्यालयले जनाएको छ । मतपरिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र उम्मेदवारले खर्चको बिल भरपाइ निर्वाचन कार्यालयमा पेश गर्न नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा पुस १५ गतेसम्म समयावधि रहेको छ ।  
 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार