दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय

आइतबार, मंसिर ११, २०७९

काठमाडौँ ।  निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले दोलखाको वैतेश्वर गाउँपालिका९२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र सोही गाउँपालिका९३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’मा पुनः मतदान गर्ने निर्णय गरेको हो । 
त्यसैगरी सोही गाउँपालिका९६ मा वैतेश्वर मावि मतदान केन्द्रको ‘क’, ‘ख’ र ‘ग’ तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ मा पुनः मतदान गर्ने निर्णय गरेको हो । 
आयोगले गत मङ्सिर ४ गते भएको मतदान कार्य स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको नदेखिएकाले उक्त मतदान रद्द गरी मङ्सिर १५ गतेभित्र पुनः मतदान सम्पन्न गराउन आयोगले  मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन दिएको हो ।

प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा धेरै मत बदर
यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मत बदरको सङ्ख्या प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा बढी भएको छ । जिल्लाका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा भन्दा प्रदेशसभाका ६ क्षेत्रमा धेरै मत बदर भएको हो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार तीन प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा ११ हजार ६ सय २८ मत बदर भएको छ भने प्रदेशका ६ निर्वाचन क्षेत्रमा १६ हजार एक सय १७ मत बदर भएको छ । चितवन क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ तीन हजार ६ सय २१ मत बदर भएको छ । जहाँ ९५ हजार ४१ मत खसेको थियो । 
यस्तै क्षेत्र नं २ मा तीन हजार दुई सय ५० मत बदर भएको कार्यालयले जनाएको छ । जहाँ ८७ हजार दुई सय ४० मत खसेको थियो । क्षेत्र नं ३ मा चार हजार सात सय ५७ मत बदर भएको छ । यस क्षेत्रमा ९४ हजार दुई सय ८० मत खसेको थियो ।
यस्तै निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ मा दुई हजार नौ र प्रदेशसभा २ मा एक हजार नौ सय ४३ मत बदर भएको छ । 
निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ मा तीन हजार ५० र प्रदेशसभा २ मा तीन हजार दुई सय ८४ मत बदर भएको छ । त्यसैगरी क्षेत्र नं ३ प्रदेशसभा १ मा तीन हजार दुई सय ४८ मत र प्रदेशसभा २ मा दुई हजार ६ सय १९ मत बदर भएको छ ।
कार्यालय प्रमुख भीमसेन कार्कीले मतदाता शिक्षा गाउँगाउँमा पुगेको भए पनि बदर हुने सङ्ख्यामा कमी आउन नसकेको बताए । प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा मत बढी बदर हुनुमा मतदाताले मत सङ्केत नगरी मतदान गरेको धेरै पाइएको उनको भनाइ छ । 
मतदाताले मत सङ्केत गर्दा बाहिर गरेको, दुई चिह्नमा मतदान गरेको जस्ता गल्ती मतपत्र भेटिएको उनले बताए । उनले भने, “प्रदेशसभाको मतपत्रमा मतदाताले मत सङ्केत नगरेको र दुई ठाउँमा मतदान गरेका मतपत्र धेरै छन् ।”
 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  २१:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार