३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीत

आइतबार, मंसिर ११, २०७९

मान्म । पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए । यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो । 
विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी भएपछि यस क्षेत्रमा कांग्रेसले जीत हासिल गर्न सकेको थिएन । तर रोचक कुरा त के छ भने २०४८ सालमा कांग्रेस उम्मेदवार न्यौपानेसँग पराजित भएका हिक्मतबहादुर बिस्टले ३० वर्षपछि कालीकोटमा कांग्रेसलाई जीत दिलाउन सफल भएका छन् ।  
तत्कालीन समयमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार बिस्ट कांग्रेसका न्यौपानेबाट २८६ मतले पराजित भएका थिए । न्यौपानेले आठ हजार आठ मत ल्याउँदा विष्टले सात हजार सात सय १७ मत ल्याएका थिए । 
यही मङ्सिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा विष्टले कालीकोट प्रदेशसभा २ सदस्यमा १३ हजार ७८३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेका बीरेन्द्रबहादुर बोगटी पाँच हजार ८३८ मत प्राप्त गरे । 
विसं २०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस उम्मेदवार तिलकप्रसाद न्यौपाने एमालेका यज्ञराज न्यौपाने पराजित गरे भने २०५६ सालको निर्वाचनमा एमाले उम्मेदवार प्रेमबहादुर सिंहले कांग्रेसका नेत्रबहादुर शाहीलाई पराजित गरेका थिए । साथै, २०६४ सालको संविधानसभा निर्वाचनमा विष्टलाई नै माओवादीका खड्बहादुर विश्वकर्माले पराजित गरे । 
विसं २०७० को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्रजङ्ग शाहीलाई माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्रजङ्ग शाहीलाई माओवादी केन्द्रका दुर्गबहादुर रावतले पराजित गरेका थिए । तर २०७९ सालको प्रदेशसभामा भने कांग्रेसले कालीकोटमा एक सिट सुरक्षित गर्न सफल भएको छ । 
“प्रदेशसभा सदस्यमा कांग्रेसले जीत निकाल्न सफल भएको छ”, कांग्रेस जिल्ला सभापति अम्मबहादुर शाहीले भने, “३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीतले निकै खुसी बनाएको छ ।” वाम लोकतान्त्रिक गठबन्धनका कारण कांग्रेसले लामो समयपछि कालीकोटमा जीत निकालेको कांग्रेस महासमिति सदस्य नारायण प्रसाद भट्टराईले बताए ।

कालीकोटमा समानुपातिकतर्फ माओवादी पहिलो
कालीकोटमा नेकपा माओवादी केन्द्र प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक मतमाको शनिबार राति सकिएको मतगणनाअनुसार माओवादीले अग्रता कायम गरेको हो ।  
प्रतिनिधिसभा एक र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेकपा ९एमाले० दोस्रो र नेपाली कांग्रेस तेस्रो दल बनेका छन् । जिल्लामा निर्वाचनको मतगणना सकिएको यसको नतिजा सार्वजनिक भइसकेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए । 
मुख्य निर्वाचन कार्यालयका अनुसार माओवादीले प्रतिनिधिसभामा समानुपातिकतर्फ १४ हजार दुई सय २९ र प्रदेशसभातर्फ १५ हजार दुई सय ५१ मत पाएको छ । एमालेले प्रतिनिधिसभातर्फ १२ हजार पाँच सय ६४ र प्रदेशसभातर्फ १२ हजार तीन सय ३९ मत पाएको छ । कांग्रेसले प्रतिनिधिसभामा १० हजार पाँच सय ८५ र प्रदेशसभातर्फ नौ हजार २० मत समानुपातिकमा पाएको छ ।
त्यसैगरी नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभातर्फ दुई हजार ५६, प्रदेशसभामा दुई हजार एक सय २१, नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभामा एक हजार दुई ४०, प्रदेशसभामा एक हजार पाँच सय सात, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा एक हजार दुई सय ७३, प्रदेशसभामा एक हजार आठ सय ८२ मत पाएको छ ।
जिल्लामा प्रतिनिधिसभामा उम्मेदवार नउठाएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ छ सय एक मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ । जिल्लामा ४६ हजार छ सय ६९ मत खसेको मुख्य निर्वाचन अधिकृत लम्सालले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ०६:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार