काभ्रेका सूर्यमान दोङ र गोकुलप्रसाद बाँस्कोटा दोस्रोपटक संसदमा ‘इन्ट्री’

शनिबार, मंसिर १०, २०७९

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ (लालध्वज) विजयी भए । आज बिहान सम्पन्न मतगणनाअनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रेशम लामालाई तीन हजार नौ सय १६ मतान्तरले पछि पार्दै जित हासिल गरे ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दोङले ३२ हजार आठ सय ६४ मत ल्याई विजयी हुनुभयो भने लामाले २८ हजार आठ सय ४८ मत प्राप्त गरेका छन् । यस जितपछि दोङलाई दोस्रोपटक संसदीय यात्रामा प्रवेशको बाटो खुलेको छ । दोङ विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभा सदस्य निर्वाचनमा २८ हजार आठ सय मत ल्याई विजयी भएका थिए । उनले तत्कालीन माओवादीका केन्द्रीय नेता डा बाबुराम भट्टराईपछिको लोकप्रिय मत प्राप्त गरेका थिए । विसं २०६८ मा ऊर्जा राज्यमन्त्री बनेका दोङले ऊर्जा क्षेत्रमा उल्लेख्य काम गरेको बताइन्छ ।

Suryaman-Dong1669470434.jpg


तेमाल गाउँपालिका–९ मुक्पामा विसं २०२७ वैशाखमा जन्मेका दोङ विसं २०४४ मा नेकपा मशाल अर्थात् ‘मोटो मशाल’ (पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको ) पार्टीको सम्पर्कमा पुगेका थिए । लगत्तै उक्त पार्टीको ‘सेल कमिटी’को सदस्य बनेर पञ्चायतविरोधी आन्दोलनमासमेत सहभागिता जनाएका दोङले विसं २०४६ पछि नेकपा मशाल, सर्वहारावादी श्रमिक सङ्गठन र नेकपा (चौम) बीच पार्टी एकता भई नेकपा (एकता केन्द्र) निर्माण भएपछि २०४८ मा नेकपा (एकता केन्द्र) को तेमाल इलाका कमिटी सदस्य भए । विसं २०४९ मा सम्पन्न जनवादी युवा लिग जिल्ला भेलाबाट जिल्ला सदस्यमा निर्वाचित दोङ २०५० मा अखिल नेपाल थाङ्का कला मजदुर सङ्गठनको केन्द्रीय सदस्य बने । 
विसं २०५१ मा पार्टी विभाजनपछि नेकपा (माओवादी) को पूर्वाञ्चल ब्यूरोको कार्यालय स्टाफ भएर काम गर्दागर्दै दोङ पार्टीले ‘सशस्त्र जनयुद्ध’ गर्ने रणनीति लिएपछि २०५२ फागुन १ गतेदेखि ‘जनयुद्ध’को पहिलो मोर्चामा सहभागी हुँदै विभिन्न स्थानमा गरिएका गतिविधिमा अग्रमोर्चामा लागेका थिए । उनले मुख्यतः काभ्रेपलाञ्चोकको तेमाल, महाभारत, खानीखोला र ललितपुरको दक्षिणी इलाकामा पार्टी र आन्दोलनलाई स्थापित गर्ने काममा गरे । 
कठोरपूर्ण ‘भूमिगत अवस्था’मा समेत पार्टीको सङ्गठन निर्माण, विस्तार र सुदृढीकरणमा लाग्नुभएका दोङ २०५५ मा इलाका सेक्रेटरीको भूमिकामा रहेर कुशल नेतृत्व गरेका थिए । विसं २०५७ मा उपक्षेत्रीय ब्यूरो सदस्य, २०५८ मा क्षेत्रीय ब्यूरो सदस्य, २०५८ मा जिल्ला सेक्रेटरीकोसमेत जिम्मेवारी सम्हालेका थिए । तत्कालीन जनमुक्ति सेनाको कम्पनी कमिसार, बटालियन कमिसार हुँदै २०५९ मा रामेछाप, सिन्धुली र काभ्रेपलाञ्चोकको जनमुक्ति सेना नेपालको रेजिनल कमाण्डको कमिसारको भूमिकासमेत उनले निर्वाह गरेका थिए ।  
विसं २०६३ मा पार्टीको केन्द्रीय सदस्य भई निरन्तर केन्द्रीय सदस्य हुँदै पोलिटब्यूरो सदस्यको जिम्मेवारीमा रहेका दोङ काभ्रेपलाञ्चोकको इन्चार्जसमेत हुन् ।  
यस्तै काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटा आफ्नो मुख्य प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईँसँग पाँच हजार आठ सय ६३ मतान्तरले विजयी भए । बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गरे भने हुमागाईँले ३९ हजार चार सय ८२ मत प्राप्त गरे । पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटा यसपटकको निर्वाचनबाट दोस्रोपटक संसदीय यात्रामा छन् । 
बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा ५४ हजार चार सय २७ मत (तकालीन निर्वाचनमा नेपालमै दोस्रो भारी मत) प्राप्त गरी विजयी भएका थिए । विसं ०७४ चैतदेखि २०७६ फागुनसम्म सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका बाँस्कोटाले केही समय सहरी विकासमन्त्रीको रूपमा पनि कार्यभार सम्हालेका थिए । 
विसं २०२३ मा मण्डन देउपुर नगरपालिका–४ मा जन्मिनुभएका बाँस्कोटाले स्थानीय डेडीथुम्का उच्च माविबाट (एसएलसी), काठमाडौँको रत्नराज्य बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह तथा रत्नराज्य क्याम्पसबाटै कला र साहित्यमा स्नातक उत्तीर्ण गरेका छन् । 
विसं २०३८ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा आवद्ध भई राजनीतिक यात्रा सुरु गरेका  बाँस्कोटा विसं २०४३ मा अनेरास्ववियुको जिल्ला सचिव र २०४५ मा जिल्ला अध्यक्ष निर्वाचित भएका थिए ।  विसं २०४५ मै युवासङ्घको सदस्य बनेका बाँस्कोटा २०४७ देखि २०५० तथा २०५४ देखि २०५८ सम्म एमाले काभ्रेपलाञ्चोकको जिल्ला कमिटी सदस्य रहे । यस्तै विसं २०५३ देखि २०५९ सम्म काभ्रे–काठमाडौँ सम्पर्क मञ्च जिल्ला कमिटीको सचिव बनेका उनी २०५९ देखि २०६३ सम्म एमाले जिल्ला कमिटीको सहसचिव तथा २०६४ देखि २०६६ सम्म जिल्ला कमिटीको सचिव हुँदै २०६७ देखि २०७१ सम्म दुई कार्यकाल एमाले जिल्ला कमिटीको अध्यक्ष बने । बाँस्कोटा यसअघि एमाले केन्द्रीय सदस्य रहँदै हाल पोलिटब्यूरो सदस्य छन् ।
पत्रकारिता क्षेत्रमासमेत स्थापित बाँस्कोटा प्रेस चौतारी नेपालको संस्थापकसमेत हुन् । आन्दोलन र राजनीतिक सक्रियताका कारण उनी पटक–पटक पक्राउसमेत परे । 

यस्तो छ अनुभवी नेता अर्जुननरसिंह केसीको राजनीतिक जीवन

मुलुकको राजनीतिमा अनुभवी एवं पुराना नेता अर्जुननरसिंह केसी ७५ वर्षमाथिको उमेर समूहबाट संसद् प्रवेश गर्नेमा थोरै नेतामध्येका एक हुन् ।

Arjun-nara-singh-kc1669425069.jpg
उमेरले ७० कटे पनि राजनीतिमा भने उनी सक्रिय छन् । विसं २००४ असोज ११ गते नुवाकोटको राउतबेँसीमा पिता भगवान्सिंह केसी र माता यशोदादेवीका सुपुत्रका रूपमा जन्मेका केसी विसं २०१८ देखि राजनीतिमा सक्रिय छन् । स्नातकोत्तर र बिएलसम्मको अध्ययन गरेका उनले छ वर्ष नौ महिना जेल जीवन बिताएका छन् । पार्टी प्रतिबन्ध र आन्दोलनका क्रममा केसी पटक–पटक भूमिगत बसेका छन् । त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रको प्राध्यापन र कानुन व्यवसायीका रूपमा समेत काम गरेका केसीले एसिया, युरोप, अमेरिका, अष्टे«लिया, ल्याटिन अमेरिका र अफ्रिकालगायतका ३५ भन्दा बढी देशको भ्रमण गरेका छन् । केसीले नेपाली कांग्रेसको सहमहामन्त्री, प्रवक्ताका साथै पार्टीको विभिन्न विभागको प्रमुख एवं केन्द्रीय सदस्य भएर काम गरिसकेका छन् । 
केसीले शिक्षा, स्वास्थ्य, भौतिक योजना तथा निर्माण एवं सहरी विकासमन्त्री भएर कार्यकारी भूमिकामा पनि काम गरेको अनुभव सँगालेका छन् । नेता केसी समसामयिक विषयमा पत्रपत्रिकामा लेख लेखिरहने नेतामध्येमा पर्छन् । 
यसपटकको संसदीय निर्वाचनमा नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नं २ बाट  कांग्रेसका तर्फबाट उनी उम्मेदवार बनेका थिए। केसी २८ हजार एक सय सात मत ल्याएर विजयी भए भने उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार चार सय ७७ मत पाए । नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत ल्याए । यसअघि विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग केसी १० हजार मतान्तरले पराजित भएका थिए । केसी यो पटक खतिवडाभन्दा १२ हजार पाँच सय ६४ मतान्तरले निर्वाचित भएका छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १९:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार