इलाम २ को मतगणना स्थगित

शनिबार, मंसिर १०, २०७९

काठमाडौं । निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएको भन्दै इलाम २ मा मतगणना स्थगित भएको छ । मत गणनका क्रममा ७० वटा मतपत्र हराएको र ४० वटामा निर्वाचन अधिकृतको सही नभएको भेटिएपछि गणना स्थगित भएको हो । 

अब इलाम २ मा १ हजार ९९२ मत गन्न बाँकी छ । मतगणनाका क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्र भेटिएपछि नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कातर्फका प्रतिनिधिले गणना स्थगित गराएका छन् । 

पछिल्लो गणना अनुसार नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले १३० मतले अग्रता लिएका छन् ।

चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छ : खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताए।
आज पत्रकारसँग कुरा गर्दै उनले भने, “सरासर धाँधली भएको छ । दुई हजार चार सय २४ मत खसेको मुचुल्का छ । यिनै बाकसमा गन्दा दुई हजार छ सय ९० मतपत्र फेला परेको छ । दुई सय ६६ मतपत्र बढी भेटियो ।” उनले निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता नपाउने जनाएका छन् ।  
पूर्व प्रम खनालले भने, “कसले छिरायो त्यहाँभित्र मुचुल्का कागज सही हो कि होइन ? निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता  पाउँदैन ।”
हालसम्मको गणनाअनुसार इलाम–१ मा नेकपा (एमाले) का महेश बस्नेतले दुई हजार चार सय ५५ मतान्तरले अग्रता लिइरहेका छन् । खनालले १६ हजार ८७ मत प्रप्त गर्दा बस्नेतले १८ हजार पाँच सय ४२ मत पाएका छन् । 
क्षेत्र नं १ मा ५९ हजार नौ सय छ मध्ये १७ हजार दुई सय ५९ मत गणना हुन बाँकी छ । तर खनालले पुनः मतदानको माग गरेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार