पूर्व सहकर्मी घनश्याम भुसाललाई पराजित गर्दै छविलाल विश्वकर्मा तेस्रो पटक संसद् प्रवेश

शनिबार, मंसिर १०, २०७९

पूर्व सहकर्मी घनश्याम भुसाललाई पराजित गर्दै छविलाल विश्वकर्मा तेस्रो पटक संसद्मा

काठमाडौँ । पूर्वसहकर्मी घनश्याम भुसाललाई पराजित गर्दै नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा तेस्रो पटक संसद् प्रवेश गर्ने भएका छन् । सचिव विश्वकर्मा रुपन्देही क्षेत्र नं १ बाट निर्वाचित भएपछि उनको संसद प्रवेश पक्का भएको हो । छविलालले पूर्वसहकर्मी भुसाललाई तीन हजार पाँच ६४ मतान्तरले पराजित गरेका छन् ।  उनले २४ हजार आठ सय ७२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी भुसालले २१ हजार तीन सय आठ मत प्राप्त गरे । भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरी सत्तागठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।  बुटवल उपमहानगरपालिका–११, रुपन्देहीका स्याथी बासिन्दा विश्वकर्मा २०१९ मङ्सिर २३ गते स्याङ्जा जिल्लामा जन्मेका हुन् । विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।  स्व. चन्द्रबहादुर विश्वकर्मा र गंगाजमुना विश्वकर्माको कोखबाट जन्मेका विश्वकर्माले २०३७ सालमा नेकपा (माले) बाट राजनीतिक यात्रा आरम्भ गरेका हुन् । उनी विसं २०३७ मा अनेरास्ववियु पाँचौँ उपसभापति (बुटवल बहुमुखी क्याम्पस), २०५१ सालमा नेकपा एमालेको राष्ट्रिय परिषद् सदस्य र २०५८ सालमा एमालेको वैकल्पिक केन्द्रीय सदस्य बनेका थिए । त्यसैगरी सचिव विश्वकर्मा २०६५ सालमा पार्टीको केन्द्रीय कमिटी तथा पोलिटब्यूरो सदस्य हुँदै २०७५ सालमा स्थायी कमिटी सदस्य बनेका थिए ।  विसं २०६४ साल कृषि तथा सहकारीमन्त्री बनेका विश्वकर्मा २०५१ सालमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य र २०५५ सालमा उपेक्षित, उत्पीडित र दलित वर्गको उत्थान विकास समितिको उपाध्यक्ष बनेका थिए ।  आफूलाई सामाजिक न्याय र समानताको पाक्षधर राजनीतिज्ञका रूपमा परिचित गराउन चाहने विश्वकर्माले तत्कालीन मालेबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । गीत, लेख, रचनामा विशेष रुचि राख्नुहुने विश्वकर्मा २०६४ सालमा समानुपातिक तर्फबाट एमालेको तर्फबाट संविधानसभा सदस्य चयन भएका थिए ।  बाँके–१ (२) मा दुर्गाप्रसाद चौधरी विजयी बाँके निर्वाचन क्षेत्र नंं १ प्रदेशसभा (२) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी विजयी भएका छन् । उनले १५ हजार छ सय ५७ मत प्राप्त गरेका छन् ।  निर्वाचन आयोगले अद्यावधिक गरेको मतपरिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांंग्रेसका फूलाराम थारुले १४ हजार सात सय ८० मत पाएका छन् । उनीहरुबीच आठ सय ७७ मतान्तर रहेको छ । बाँके प्रदेश क्षेत्र नंं १ प्रदेशसभा (२) मा ६५ हजार दुई सय ५५ मतदाता रहेकामा ४१ हजार दुई सय ४३ मत खसेको थियो । प्रतिनिधिसभा बाँके क्षेत्र नं १ मा नेकपा एमालेका सूर्यप्रसाद ढकाल निर्वाचित भएका छन् ।  सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार गरी सात जना उम्मेदवार रहेका थिए । 

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०७:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार