काभ्रे–१ र नुवाकोट–१ मा माओवादी केन्द्रका उम्मेदवार विजयी 

शनिबार, मंसिर १०, २०७९

काठमाडौँ । काभ्रेपलाञ्चोक र नुवाकोटमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्  काभ्रे निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका  सूर्यमान तामाङ (दोङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित भएका हुन् । 
त्यसैगरी उनका प्रतिस्पर्धि नेकपा (एमाले) का उम्मेदवार रेशमबहादुर लामाले ३० हजार पाँच सय ४८ मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठ आठ हजार छ सय ९७ मत प्राप्त गरी तेस्रो भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले एक हजार आठ सय ५३ मत प्राप्त गरेका छन् । 
काभ्रे–१ मा जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी १७ उम्मेदवार चुनावी मैदानमा थिए । 

नुवाकोट–१ मा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी

नुवाकोटको निर्वाचन क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् । सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार तामाङ २६ हजार पाँच सय ४८ मत ल्याएर विजयी भएका हुन् । 
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले २३ हजार चार सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए । यही मङ्सिर ४ मा भएको निर्वाचनमा खसेको ६३ हजार तीन सय ७९ मतको आज बिहान सम्पन्न गणनाको अन्तिम परिणामअनुसार माओवादी केन्द्रका तामाङ तीन हजार एक सय १२ मतान्तरले विजयी भएका हुन् । 
पूर्वमन्त्रीसमेत रहेका तामाङ यसअघि विसं २०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा प्रद्युम्न महतले छ हजार एक सय १३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदर्शन सिटौलाले एक हजार छ सय ११ मत प्राप्त गरे । चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित १७ उम्मेदवार भए पनि अन्य उम्मेदवारको मत एक हजारभन्दा कम रहेको निर्वाचन अधिकृत भुसालले जानकारी दिए ।  

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०६:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार