गाउँगाउँमा पुगेको सिंहदरबार उल्ट्याउन दिइन्न  : प्रचण्ड

शुक्रबार, मंसिर ९, २०७९

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने चेस्टालाई कुनै पनि हालतमा पूरा हुन नदिने बताएका छन् । 
गोरखा सदरमुकाममा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको धन्यवादसभामा उनले झण्डै ७५ वर्ष लामो सङ्र्घषबाट प्राप्त लोकतान्त्रिक अधिकारलाई खोस्न नदिइने बताए ।
देश दुर्घटनातिर जाने होकी भन्ने आशङ्का यतिबेला सबैमा पैदा भएको भन्दै अध्यक्ष दाहालले अब राजनीतिक नेतृत्वले फरक ढङ्गबाट गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताए । “राजनीतिक दलका नेतालाई गाली गर्ने स्थिति सहन सकिन्थ्यो”, उनले भने, “देश भूमरीमा पर्ने स्थिति स्वीकार्य छैन ।”

DS_GORAKHA_PRACHANDA1669379337.jpg
उनले निर्वाचन सफल भए पनि गठबन्धनमा अपेक्षा गरेअनुसार परिणाम नआएको उल्लेख गरे । अध्यक्ष दाहालले निर्वाचनका बेला आएर आफूले गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताए । उनले भने, “मैले गोरखामा आएर उम्मेदवारी दिँदै गर्दा विभिन्न समयमा जनताको अगाडि गरेका कबुल पूरा गर्नेछु । सुशासन र समृद्धि राजनीतिक परिवर्तनको दिगोपनका लागि नयाँ काम थाल्नेछु ।”
 अध्यक्ष दाहालले गोर्खाली जनताले मत दिएर फेरि सिंहदरबार प्रवेश गर्दै गर्दा आफूलाई नयाँ जिम्मेवारी र गौरव अनुभूति भएको बताए । “गोर्खाली जनताले दिएको जिम्मालाई मैले आफ्नो जीवनको अन्तिम अवसरमा रुपमा लिएको छु”, उहाँले भन्नुभयो, मैले आफ्नो सम्पूर्ण तागत विकास, समृद्धि र सुशासनको अभियान खर्च गर्नेछु ।”

दलप्रति वितृष्णा बढ्यो : चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थिर नभएको टिप्पणी गरेका छन् । केसीले मङ्सिर चारमा सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत कसैले ल्याउने सङ्केत नदेखिएकाले दलप्रति नागरिकको वितृष्णा जाग्दै गएको बताए । 

DBM_DHORPATAN1669379385.jpg
आज मुख्य निर्वाचन कार्यालय बागलुङले आयोजना गरेको नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा नेता केसीले स्थायी सरकार बन्ने वातावरण आफूले नदेखेको बताउँदै लोकतन्त्र खतरा मुक्त नभएको बताए । 
उनले अहिलेको चुनाव निकै खर्चिलो भएको टिप्पणी गर्दै अबका दिनमा चुनाव लड्न सक्ने अवस्था नरेहेको बताए । उनले आफूलाई निर्वाचित गराउने बागलुङका जनतालाई धन्यवाद दिँदै बागलुङको विकासमा आफूले सक्दो भूमिका खेल्ने बताए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार