कांग्रेस नेता डा चन्द्र भण्डारीको दोस्रो संसद यात्रा

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ ।  नेपाली कांग्रेस पार्टीमा बौद्धिक नेताको छवी बनाएका नेता डा. चन्द्रकान्त भण्डारी दोस्रो पटक सदन प्रवेश गर्ने भएका छन् । उनी गुल्मी–१ बाट नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।  कूल ६९ हजार छ सय ८३ मत खसेकामा भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गरे भने प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गरे ।   पिता ईश्वरीप्रसाद र माता हरिकला भण्डारीको कोखबाट गुल्मीको हुँदा ७ मा २०१८ मा जन्मेका उनले स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्नुभएको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका भण्डारी सङ्घकै महामन्त्री भएका थिए ।  त्रिभुवन विश्वविद्यालयबाट उनले चार वर्षअघि समाजशास्त्रअन्तर्गत ‘राष्ट्र निर्माणमा भूमण्डलीकरणको प्रभाव’ विषयमा विद्यावारिधि गरेका हुन् । राजनीतिक यात्राका क्रममा नेता भण्डारीले पाँच वर्षभन्दाबढी जेल जीवन बिताएका छन् । यसअघि उनी २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । कांग्रेसको १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेता भण्डारी पार्टीको १४औँ महाधिवेशनमा उपसभापतिको उम्मेदवार थिए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १४:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार