नवनिर्वाचित जनप्रतिनिधिका प्राथमिकता, ‘अधुरा र अलपत्र योजना सम्पन्न गर्ने’

शुक्रबार, मंसिर ९, २०७९

म्याग्दी म्याग्दीका नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभाका सदस्यहरूले जिल्लाका अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्ने बताएको छन् । 
प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्विर) ले जिल्लामा रोकिएका विकास र निर्माणका योजनालाई छ महिनाभित्र सुरु गर्ने बताए । 
“म्याग्दीमा विकास निर्माणका काम अलपत्र छन् । ठेकेदार साथीहरूलाई लुकाएर राखेका छन्”, उनले भने, “अबको छ महिनाभित्र यी अलपत्र योजनालाई तीव्रताका साथ कार्यान्वयन हुने वातावरण बनाउँछौँ ।”
जिल्लाका २० सडक र मोटरेबल पुल निर्माणसम्बन्धी आयोजना अलपत्र परेका छन् । सडक र पुल निर्माणमा भएको ढिलासुस्तीले स्थानीयवासीलाई आवतजावतमा सास्ती, दुर्घटनाको जोखिम, आयोजनाको लागत र ढुवानी खर्च बढेको छ । 
म्याग्दीमा गण्डकी प्रदेश सरकारका ११ र सङ्घीय सरकारका नौवटा सडक र मोटरेबल पुलसम्बन्धी आयोजना अलपत्र परेका हुन् । पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गतका छवटा सडक र पाँचवटा मोटरेबल पुल थलिएका छन् । 
यसैगरी १५ वटा खानेपानी, बेनी अस्पतालको भवन निर्माण योजना अलपत्र छ । व्यवसायीको ढिलासुस्ती, सङ्घबाट प्रदेशमा आयोजना हस्तान्तरणमा भएको प्रक्रियागत ढिलाइ, सडक क्षेत्रमा पर्ने जग्गाधनीको अवरोध, कोरोना महामारी, पहिरो, बाढी र कटानका कारण सडक र पुल निर्माणकार्य प्रभावित भएको हो ।

प्रदेशसभा (२) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक रेशमबहादुर जुग्जालीले समृद्ध, सुन्दर र विकसित म्याग्दी बनाउन प्रतिस्पर्धी दलका नेताहरूलाई समेत सहकार्यको वातावरण बनाउन आह्वान गरे । 
“म्याग्दीका जनताको विश्वास र आशालाई हामीले मर्न दिने छैनौँ”, उनले भने, “संसद्मा म्याग्देली जनताको समस्या उठान गरी समाधानको पहल गर्नुका साथै र जनताको अपेक्षा पूरा गरेरै छाड्छौँ ।” 
पाँच वर्षभित्रमा हामीभन्दा अगाडिका जनप्रतिनिधिले गर्नुभएको भन्दा धेरै र फरक किसिमको काम गरेर विकास र परिवर्तनको अनुभूति दिलाउने प्रतिबद्धता जनाए । 
प्रदेशसभा क्षेत्र (१) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारीले म्याग्दी जिल्लाको विकासको संवाहक बन्ने र परिवर्तनको दियो बालेर गाउँ बस्तीमा आउने बताए । “म्याग्दीको पूर्वाधार, सामाजिक र आर्थिक क्षेत्रमा परिवर्तन ल्याउन हामीले प्राथमिकता दिन्छौँ”, उनले भने, “म्याग्दीमा विकासको संवाहक, जनताको दुःखमा सेवक र सुखमा साथी बनेर आउनेछु ।” 
युवाहरूको बेरोजगारको समस्या समाधानका लागि विषेश योजना बनाउने र नीतिगतरूपमा पहल गर्ने जनप्रतिनिधिको भनाइ छ । विकासका नयाँ योजना र रोजगारीका अवसर सिर्जना गर्ने वचनबद्धता व्यक्त गर्नुभयो । उहाँहरूले अब जिल्लाले विकास निर्माणको क्षेत्रमा फड्को मार्ने दाबी गर्नुभयो ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १४:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार