कास्की ३ मा एमालेका दामोदर पौडेल विजयी

शुक्रबार, मंसिर ९, २०७९

कास्की । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दामोदर पौडेल (बैरागी) विजयी भएका छन् ।
मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणनाको आज घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार पौडेलले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामजीप्रसाद बराललाई पाँच हजार चार सय ४५ मतान्तरले पराजित गरेका थिए । 

पौडेलले २२ हजार नौ सय ८० मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार बरालले १७ हजार पाँच सय ३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका योगप्रसाद पौडेलले १२ हजार एक सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले दुई हजार चार सय ४२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा थिए । कास्की क्षेत्र नं ३ मा कुल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा ६१ हजार दुई सय ८१ मत खसेको थियो ।

कास्की–३ प्रदेशसभा (२) मा  चार सय ६५ मतान्तरले कांग्रेसका बराल निर्वाचित

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ को प्रदेशसभा सदस्य (२) बाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाश बराल विजयी भएका छन् । 
गत आइतबार सम्पन्न निर्वाचनको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार कांग्रेसका नेता बराल १२ हजार तीन सय ६७ मत प्राप्त गरी गण्डकी प्रदेशसभामा निर्वाचित भएका हुन् । 
उनका निकटतम् प्रतिद्धन्द्वी नेकपा (एमाले)का राजीव पहारीले ११ हजार नौ सय दुई मत प्राप्त गरे । बराल र पहारीको मतान्तर चार सय ६५ रहेको छ । पहारी विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए । 
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिराम भण्डारीले दुई हजार पाँच सय ६०, मङ्गोल नेशनल अर्गनाइजेशनका मनतोष घलेले चार सय ७२, जनता समाजवादीका गोरे दमैले दुई सय ९५ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी)का रामवृक्ष धोवीले एक सय १७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा छ जना उम्मेदवार रहेका थिए ।
कास्की क्षेत्र नं ३(२) मा कुल मतदाता ४८ हजार आठ सय ५३ रहेकामा निर्वाचनमा २८ हजार सात सय ७९ मत खसेको थियो । एक हजार ६६ मत बदर हुँदा सदर मत २७ हजार सात सय १३ रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार