माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको यस्तो छ राजनीतिक जीवन

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका रुपमा दोस्रो पटक विजयी भएका छन् । 
यसअघि विसं २०७४ मा भएको निर्वाचनमा पनि उनी सोही जिल्लाबाट विजयी भएका थिए । संसदीय राजनीतिमा यो उनको तेस्रो विजयी यात्रा हो । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा उनले ललितपुर क्षेत्र नं १ बाट विजयी भएका थिए ।  
विसं २०७० को संविधानसभाको निर्वाचनमा भने उनी मोरङबाट पराजित भएका  थिए । पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुन सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धनकोतर्फबाट साझा उम्मेदवार हुन् । उनले कूल ४१ हजार सात सय १४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर बुढामगरले १६ हजार चार सय ८५ मत प्राप्त गरे । विजयी भएका नेता पुनले २५ हजार दुई सय २९ मतको अग्रता कायम राखे । 
निर्वाचन आयोगका अनुसार सो जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लीला रावलले दुई हजार पाँच सय ५६, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले आठ सय तीन र नेपाल मजदुर किसान पार्टीका नातीभाई ह््योम्बाले एक सय ५२ मत प्राप्त गरे । 
संयोग कस्तो परेको छ भने निर्वाचित भएका पुन र उनका प्रतिस्पर्धी बुढामगर तत्कालीन समयमा एउटै पार्टीमा आबद्ध थिए । पुन तत्कालीन जनमुक्ति सेनाको डेपुटी कमाण्डरको भूमिकामा रहँदा बुढामगर भने उनी मातहतको कमाण्डरको रुपमा थिए । सर्वोच्च अदालतले तत्कालीन नेकपालाई नेकपा एमाले र माओवादी केन्द्रमा विभक्त गरिदिएपछि बुढामगर एमालेमा नै रहे। यसपटक पूर्वसहकर्मीबीचको प्रतिस्पर्धालाई राष्ट्रिय रुपमा नै महत्वका साथ हेरिएको थियो । 
सुरुआती चरणदेखि नै अग्रता कायम गर्दै माओवादी केन्द्रका उम्मेदवार पुनले अन्तिमसम्म नै त्यसलाई कायम राख्दै फराकिलो मतान्तरले विजयी भए ।  रोल्पामा कूल मतदाता सङ्ख्या एक हलाख ४५ हजार चार सय ७१ रहेपनि यही मङ्सिर ४ गते भएको निर्वाचनमा ६१ हजार सात सय १० मत मात्रै खसेको थियो । कूल सदर मत ६१ हजार सात सय १० हुँदा बदर मत भने पाँच हजार तीन सय ११ रहेको छ । प्रदेशसभातर्फ (१) मा माओवादी केन्द्रकै जोखबहादुर महरा निर्वाचित भएका छन् भने (२) मा माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र पुन निर्वाचित भएका छन् । 
निर्वाचित नेता पुनको जन्म रोल्पाको जंकोटमा विसं २०२८ जेठ १८ गते भएको हो । उनका बाबुको नाम इर्खराम पुन र आमाको नाम तिर्थमाली पुन हो । उनको जीवन सङ्गीनी ओनसरी घर्ती काठमाडौँ क्षेत्र नं २ बाट गठबन्धनको साझा उम्मेदवार भएपनि जीत निकाल्न सकिनन् । प्राथमिक शिक्षा रोल्पाको बालकल्याण माविबाट पूरा गरेका पूर्वऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री रहेका नेता पुनले २०४९ मा नेपाल ल ल क्याम्पसबाट बीएल गरेका छन् । 
पञ्चायकालमै अनेरास्ववियुमा आबद्ध हुँदै वाम आन्दोलनमा सक्रिय भएका उनले विसं २०५२ देखि नै जनयुद्धमा सहभागी थिए । उनी तत्कालीन माओवादीको तर्फबाट काठमाडौँ उपत्यकामा आन्दोलन परिचालन गर्ने मुख्य नेतृत्वमा थिए ।  अनन्तको नामले परिचित नेता पुनले राज्यबाट संविधानसभा पदक प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार