गुह्येश्वरी र तलेजुको रथयात्रा पशुपति क्षेत्रमा 

शनिबार, मंसिर ३, २०७९

काठमाडौँ । पशुपति क्षेत्रमा दुई दिनसम्म मनाइने गुह्येश्वरी जात्राका क्रममा विभिन्न स्थानमा खटयात्रा गरिएको छ । जात्राका क्रममा आज बिहान गुह्येश्वरी र तलेजु भवानीको विशेष पूजापछि पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिएको हो । जात्रा सकी आज राति मूर्ति तलेजु मन्दिरमै फर्काइने कार्यक्रम रहेको छ । 
पशुपति क्षेत्रमा मार्गशीर्ष कृष्ण नवमीदेखि दुई दिनसम्म गुह्येश्वरी जात्रा सञ्चालन गरिन्छ । यो जात्रामा गुठी संस्थान र गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा समेबजीलगायत तान्त्रिक विधिले पूजा गर्दा चढाइने चीजबीजसहित पूजाआराधना गर्ने परम्परा छ ।
 
गुह्येश्वरी र तलेजुलाई दिदीबहिनीका रूपमा पुजिने भएकाले दुवै मूर्ति उस्तै रहेको छ । गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रूपमा पुजिने गुह्येश्वरी मन्दिरका पुजारी जैन कर्माचार्यले बताए । यो जात्राका क्रममा हनुमानढोका दरबारबाट तलेजु भवानीको मन्दिरबाट मूर्ति गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट नै पूरा गरिन्छ ।  

दुईदिने गुह्येश्वरी जात्राका क्रममा बिहीबार रातभर गुह्येश्वरी मन्दिरमा बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिएको थियो । बिहीबार बेलुकी हनुमानढोका दरबारबाट तलेजु भवानीलाई गुह्येश्वरी लगेर मन्दिरमा रातभर बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ । 

गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई पशुपतिनाथका मूलभट्टबाट विधिपूर्वक पूजा गराउने परम्परा छ । पशुपतिनाथ मूल मन्दिरबाट अमालकोट कचहरीको डबलीमा लगेर पूजा गरिन्छ । त्यहाँबाट जयवागेश्वरीको नवालीटोलमा लगेर विधिवत् पूजाआराधना गरिन्छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा हुने पूजाआराधनामा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ ।

जात्राका लागि नेपाली सेनाको गुरुजुको पल्टनसमेत सहभागी हुने प्राचीनकालदेखिको परम्परा छ । नेपाली सेना, संस्थान, अमालकोट कचहरी लगायतले विधिपूर्वक छुट्टाछुट्टै पूजा गर्छन् । नवाली टोलमा निजी गुठीका गुठियारले पनि पूजा गर्ने अवसर पाउँछन् । नवालीटोलको पूजापछि रथलाई सिफल–ज्ञानेश्वर–कमलपोखरीमा पनि विशेष पूजाआराधना गरिन्छ । 

कमलपोखरीको विशेष पूजापछि कृष्ण पाउरोटी–तीनधारा पाठशाला–जमल–असन हुँदै शुक्रबार बेलुकी तलेजु भवानीको मन्दिरमा मूर्तिलाई लगिने संस्थानले जनाएको छ । बिहीबार पनि यही मार्गबाट मूर्तिलाई गुह्येश्वरी मन्दिर लगिएको हो । यो जात्राका क्रममा धिमे बाजा, नायखी, बाँसुरी वादन गरिन्छ । जात्रामा नियमित भजनकीर्तन गर्ने समूहका सदस्य पनि सहभागी हुने गर्छन् । जात्रा सकिएसँगै आज बेलुकी छ बजे गुह्येश्वरीमा ठड्याइएको लिङ्गो ढालिएको छ । 

गुह्येश्वरी जात्राको पहिलो दिन बिहीबार मन्दिर क्षेत्रमा लिङ्गो उठाइएको थियो । गुह्येश्वरी जात्राका लागि हनुमानढोकाबाट तलेजु भवानीको मूर्तिलाई गुह्येश्वरी लैजाने जिम्मा पशुपति सिर्जनशील युवा क्लबलाई दिइएको कार्यालय प्रमुख सुशीला शर्माले राससलाई जानकारी दिनुभयो । जात्राका लागि तलेजु भवानीलाई दुई दिनसम्म गुह्येश्वरीमा राखिन्छ । 

गुह्येश्वरी मन्दिर क्षेत्रमा तलेजु भवानीलाई लैजानुअघि नै त्यहाँ ३२ हातको लिङ्गो पनि बिहीबार नै ठड्याइएको हो । जात्राका लागि लिङ्गो पशुपति क्षेत्रस्थित भण्डारखालबाट सालको रूख काट्ने गरिन्छ । तान्त्रिक विधिपूर्वक पूजा सकेपछि जात्राका लागि ल्याइएको तलेजु भवानीको मूर्ति पशुपति सिर्जनशील युवा क्लबले नै आज राति फिर्ता गर्ने कार्यालयले जनाएको छ ।  
  
जयप्रकाश मल्लको पालादेखि सुरु भएको यो जात्रा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमी र दशमीमा हनुमानढोका दरबारबाट पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरसम्म गरिन्छ । पशुपति क्षेत्रमा सञ्चालन हुने दर्जनौँ जात्रामध्ये गुह्येश्वरी जात्रा पनि एक हो ।–रासस
 

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ०५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार