आधुनिक कृषि प्रणाली चाहन्छन् पाँचखालका किसान

बिहीबार, कात्तिक २४, २०७९

काभ्रेपलाञ्चोक ।  खाद्यान्न तथा तरकारी उत्पादनमा प्रख्यात काभ्रेको पाँचखाल नगरमा आधुनिक कृषि प्रणालीको आवश्यकता रहेको छ ।  त्यहाँका किसानले बीउबिजनसमेत नयाँनयाँ उपलब्ध हुनुपर्ने माग समेत गर्दै आएका छन् । 
विभिन्न पक्षले पाँचखालको कृषिलाई आधुनिकीकरण गरिने भन्दै आइए पनि यहाँको खेतीप्रणालीमा कुनै सुधार नभएको पाँचखाल–६ का कृषक केदार ढुङ्गाना बताउँछन् । “पुरानै खेती प्रणालीले उत्पादन वृद्धि गर्न सकिरहेका छैनौँ, आधुनिकीकरणको आवश्यकता भइसक्यो”, उनले भने । खेतीबालीका विषादी कम गर्दै लगिए पनि सबै कृषकलाई जैविक विषादीतर्फउन्मुख गराउनुपर्ने उनको भनाइ छ । 
पाँचखाललाई ‘कृषि नगर’का रुपमा परिचित गराउन हरसम्भव प्रयासरत रहेको नगरले जनाउँदै आएको छ । यहाँको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै इजरायली नयाँ प्रविधिमा लगिने प्रक्रिया अघि नबढाउँदा यहाँका किसान सञ्चितसमेत देखिएका छन् । यहाँको कृषि इजरायली प्रविधिमा लाग्न एक वर्षअघि नेपालस्थित इरजायली दूतावास र पाँचखाल नगरबीच सहमति भएको थियो । पाँचखाल–३ का कृषक ज्ञानबहादुर थापा कृषिमा आधुनिकीकरणले उत्पादन बढेको सुनिरहेका छौँ, नगरे गरेको सहमति कार्यान्वयन भए आफूहरु उत्साही हुने बताउँछन् । 
“पछिल्ला वर्ष बाली उत्पादन लागत बढ्दै गएको छ, यसअनुसार उत्पादन बढाउन कृषिलाई आधुनिकीकरण गर्न जरुरी भइसक्यो”, उनले भने । यसको अगुवाइ नगरले गर्नुपर्ने उनको धारणा छ । सहमतिमा पाँचखालका कृषकलाई परम्परागत खेतीप्रणालीलाई रुपान्तरण गर्दै आधुनिक खेतीप्रणालीमा लैजाने तथा नगदी बालीलाई विशेष प्राथमिकता दिइ कृषकको जीवनस्तर सुधार गर्दै जाने विषयलाई अघि सारिएको थियो । 
इजरायली राजदूत हनान गोडर र नगरप्रमुख महेश खरेललगायत पदाधिकारी तथा सरोकारवालाबीच नगर कार्यालयमा भएको छलफलमा पाँचखालको कृषि क्षेत्रमा दुईपक्षीय साझेदारीका विषयमा सहमति भएको हो । 
सहमतिपछि उक्त प्रक्रियालाई नीतिगत ढङ्गले नगरद्वारा प्रक्रिया अघि नबढाउँदा पाँचखालमा इजरायली प्रविधिबारे सहमतिमै सीमित भएको नगर कृषि शाखा प्रमुख ईश्वर अधिकारीले बताए । “पाँचखालको कृषि क्षेत्रमा आधुनिकीकरणसँगै इजरायली प्रविधि भित्र्याउने सहमतिलाई पछि चासो नदिँदा सहमतिमै सीमित भएको देखिन्छ, तर किसानको मागअनुसार अघि बढाउन सकिन्छ”, उनले भने । 
कृषिमा इजरायली प्रविधि, ज्ञान–सीप विश्वमै उत्कृष्ट मानिन्छ । उक्त प्रविधिलाई कृषियोग्य पाँचखालको भूमिमा प्रयोग गर्नसके यहाँ उत्पादन भएका गुणस्तरीय तरकारी तथा फलफूल अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने अपेक्षा गरिएको थियो । नगरले आफ्नो बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । पर्याप्त सिँचाइको अभावमा अपेक्षित उत्पादन हुन सकिरहेको छैन । 
केही वर्षदेखि लगानी भित्र्याउने तीव्र चाहना बोकेको नगरले ४० बढी उद्योग स्थापना गर्ने योजना अघि सारेको छ । तीन वर्षअघि नै लगानी सम्मेलनको आयोजना गरी नगरमा लगानी भित्र्याउने तयारी गर्दैगर्दा कोरोनाको जोखिमले सम्मेलन गर्न नसकेको नगरले हाल वित्तीय सस्ंथासँग सहकार्य गरी लगानी भित्र्याउने कामलाई भने तीव्रता दिएको छ । 
आर्थिक वर्ष २०७६÷०७७ को अन्त्यतिर लगानी सम्मेलनको तयारीमा जुटेलगत्तै कोरोना भाइरसको सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि योजनामै सीमित भएको थियो । गत आर्थिक वर्षमा गर्ने कार्यतालिका बनाए पनि पुनःकोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरका कारण अघि बढाउन सकिएको थिएन । 
लगानी सम्मेलन गरेर नगरको थप विकासमा लाग्ने योजना कोरोना सङ्क्रमणको जोखिमले थाँती रहेपछि साझेदारीमा वैकल्पिक योजनाको खोजी गर्दै उद्यमशीलताको विकास एवं प्रवद्र्धन गर्न नगरले वित्तीय संस्थासँगका सम्झौतालाई तीव्रता दिइरहेको हो । 
कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीय स्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्ताव गरिने योजना बनाइएको थियो । पाँचखालमा ४० उद्योग स्थापना गर्नसके स्थानीयस्तरमा खाद्यान्नलगायत उत्पादनसँगै करिब चार हजार स्थानीयले रोजगारी पाउनेछन् । 
उद्योग स्थापनाका लागि नगरले स्थानीयलाई नै प्राथमिकतामा राख्ने नगरको योजना रहेको छ । “उद्योग स्थापनार्थ स्थानीयलाई प्राथमिकता दिँदै सरल कर्जाका लागि वित्तिय संस्थासँग समन्वय गर्नेछौँ” नगरप्रमुख महेश खरेलले भने । उनले चालू आर्थिक बर्षबाट दर्जन उद्योगबाट उत्पादन गरिसक्नेगरी तयारी थालिएको बताए । 
उद्यम गर्न चाहने स्थानीयका लागि नगरको सिफारिसमा सहजरुपमा सरल कर्जा उपलब्ध गराउने उद्देश्यले यसअघि केही वित्तिय संस्थासँग साझेदारी सम्झौतापत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ । सामाजिक रुपान्तरणमा यस अभियानले सार्थकता पाउँदै जाने विश्वास गरिएको छ । 
पाँचखाल नगरमा हाल सघन सहरी विकास कार्यक्रम लागू गरिएको छ । यसका लागि सहरी विकास मन्त्रालयद्वारा प्रशासनिक प्रक्रिया अघि बढाइएको हो । सरकारले ग्रीन स्मार्ट–सिटी निर्माणार्थ गत वर्ष फागुनमा मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गतको उक्त कार्यक्रम लागू गर्न रु ५० करोड बजेट विनियोजन गरेको थियो । 
सोही कार्यक्रमअन्तर्गत मन्त्रालयले देशका ४४ नगरलाई छनोट गरेकामध्ये पाँचखाल नगर पनि परेको हो कार्यक्रम लागू गर्न सहरी विकास तथा पूर्वाधार निर्माण कार्यालयले बोलपत्र आह्वान गरिसकेको छ । 
‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्थक बनाउन नगरले यसअघि नै पाँचखालको खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ । खेतीयोग्य जमिन जोगाएर मानव बस्ती तथा औद्योगिक ग्राम स्थापना गर्न नगरको योजना छ । 
पाँचखालमा विभिन्न ऐतिहासिकस्थलसमेत रहेकाले पर्यटन र स्थानीय सांस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिने जनाइएको छ । 
पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज)का भौतिक निर्माण भइरहेको, मदन भण्डारी विश्वविद्यालयका लागि बजेट विनियोजन गरी प्रक्रिया सुरु भएको, बृहत् सुनकोसी पाँचखाल खानेपानी आयोजनाको काम भइरहेको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल यूथ इनोभेसन सेन्टर’का लागि पनि जमिन छुट्याएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक देखिएको छ । 

सुन्तला उत्पादन घट्दा किसान चिन्तित

यता तनहुँ जिल्लाको सुन्तला पकेट क्षेत्रका रुपमा परिचित म्याग्दे गाउँपालिका–२ स्थित उमाचोकमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ ।
अत्यधिक वर्षा र असिनाका कारण बगँैचामा लगाएको सुन्तला कुहिने र झर्ने समस्याले गर्दा उत्पादन घटेको हो । गत वर्ष यो गाउँबाट रु दुई करोडको सुन्तला बिक्री गरे पनि यस वर्ष उत्पादन घट्ने अनुमान गरिएको कृषक विश्वबहादुर अधिकारीले बताए । 
उनले गत वर्ष रु ५५ लाखको सुन्तला बिक्री गरेको र यस वर्ष  ५० प्रतिशत पनि सुन्तला बिक्री गर्न नसकिएको बताए । 
यस वर्ष बोटमा सुन्तलाको दाना राम्रोसँग नलागेपछि किसान निरास भएका हुन् । सुन्तला पाक्ने सिजनमा बगैँचामा लटरम्म फल्ने गरे पनि यसपटक भने उत्पादनमा आधा कमी आएको किसान निर्मल अधिकारीले जानकारी दिए ।  
उनले गत वर्ष रु ३० लाखको सुन्तला बिक्री गरेका थिए । उनले भने, “यसपटक छ÷सात लाखको पनि कारोवार गर्न नसक्ने देखिएको छ ।”
यसपटक पानीले गर्दा सुन्तलाको उत्पादन राम्रो नभएका कारण त्यसक्षेत्रका किसान चिन्तित भएको उनले बताए । उमाचोकमा करिब ४० जना कृषकले सुन्तलाखेती गर्दै आएका छन् । 
केही कृषकले सुन्तला बिक्री गरेको र केही किसानको सुन्तला नपाकेका कारण बगैँचामै रहेको किसानहरु बताउँछन् । गतवर्ष त्यस क्षेत्रका प्रत्येक कृषकले पाँचदेखि ८५ लाख रुपैयाँसम्म आम्दानी गरेका थिए । यस वर्षको सुन्तला उत्पादनले उनीहरुमा निरासा छाएको बताइएको छ । 
 जिल्लाको अन्य स्थानमा सुन्तला उत्पादन राम्रो भए पनि उमाचोक पकेट सुन्तला उत्पादनमा कमी आउने देखिएको कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कूलप्रसाद तिवारीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार