पुरातत्वद्वारा नाला भगवती मन्दिर पुनःनिर्माण गरिँदै     

बिहीबार, कात्तिक २४, २०७९

धुलिखेल । काभ्रेपलाञ्चोकको ऐतिहासिक सहर नालामा रहेको उग्रचण्डी भगवती मन्दिरको पुनःनिर्माण भइरहेको छ । बनेपा नगरपालिका–४ स्थित १६औँ शताब्दीमा प्यागोडा शैलीमा निर्माण भएको उक्त चारतले मन्दिर विसं २०७२ को विनाशकारी भूकम्पका कारण पूर्वतर्फ केही ढल्किएको थियो ।
क्षमापूजा गरी मन्दिर पूर्णरूपमा भत्काएर पुनःनिर्माण थालिएको वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठले बताए । उनका अनुसार पुरातत्व विभागले पुरानै शैलीमा मजबुत तरिकाले दुई वर्षमा मन्दिरको निर्माणकार्य सम्पन्न गर्ने जनाएको छ । नेपालका रहेका चार प्रख्यात भगवतीमध्ये नाला उग्रचण्डी भगवती मन्दिर मल्लकालीन मन्दिर रहेको जनाइएको छ ।
काठमाडौँको विष्णुमती नदीतटस्थित शोभा भगवती, काठमाडौँकै नक्सालमा रहेको नक्साल भगवती, काभ्रेपलाञ्चोकको नालामा रहेको उग्रचण्डी भगवती र काभ्रेपलाञ्चोकमै अवस्थित पलाञ्चोक भगवती चार आपसमा दिदी–बहिनी हुन् भन्ने जनश्रुति रहेको छ । भगवतीको मूर्तिमा समय–समयमा पसिना आउने भएकाले पसिना आएपछि अनिष्ट हुने मान्यतासमेत रहँदै आएको छ ।
उग्रचण्डी भगवती मन्दिरको विभिन्न भाग कलात्मक तवरले बनेको थियो । भूकम्पका कारण मन्दिर पूर्वतिर ढल्किएकाले मन्दिरको संरचनामा थप जनधनको क्षति नहोस् भन्ने उद्देश्यले विभागद्वारा हाल मन्दिरको पुनःनिर्माण सुरु गरिएको इञ्जीनियर मोहनसिं लामाले बताए । उनका अनुसार मन्दिर विभिन्न किसिमका कला तथा पुरानो ढाँचामा निर्माण भएकाले सोहीअनुसारनै पुनःनिर्माण गरिनेछ ।
लामाले नै मन्दिर पुनःनिर्माणका लागि भगवतीको शुभसाइतमा विधिपूर्वक विशेष पूजाअर्चना गरी गत भदौमा शिलान्यास गरेका थिए । पहिलो वर्ष पुरातत्व विभागले एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरी उक्त मन्दिर पुनःनिर्माण सुरु गर्न लागेको लामाले जानकारी दिए । उग्रचण्डी भगवतीलाई स्थानीयले ‘आमा’सरह आफ्नो अभिभावक तथा इष्टदेवीका रूपमा मान्दै आएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  ०४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार