नमोबुद्ध जात्रास् हजारौँ बौद्ध धर्मालम्बी मेला भर्दै

मंगलबार, कात्तिक २२, २०७९

काभ्रेपलाञ्चोक । आज कात्तिक शुक्ल पूर्णिमामा काभ्रेपलाञ्चोकको नमोबुद्धमा मेला लागेको छ । शान्तिका प्रतिक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ । 

बुद्धले लुम्बिनीमा पुर्नजन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामारकण भएको मानिएको किंबदन्ती छ । द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्ने बौद्ध धर्मालम्बीको निकै ठूलो भिड लागेको हो । 

सोमबारदेखि लागेको मेला बुधबारसम्म एक लाखभन्दा बढीले नमोबुद्धको दर्शन(पूजाअर्चना गर्ने मेला मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मेला शनिबारसम्म चल्नेछ । मेलामा परम्परागत गीत–नृत्य देखाइएको थियो । कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष मेला हुन नसकेको र यसपटक मेलामा घुइँचो लागेको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले बताए। 

उनका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्तीसमेत बालिन्छ । “वर्षेनी पितृका नाममा बत्ती बाल्दै आएका छौँ, यो वर्ष पनि आएका छौँ”, तेमालको रुप्साङ लामाले भने। उनी परिवारसहित सोमबार नै नमोबुद्ध आएको हो । 

विशेष गरी तामाङ र नेवार समूदायका धर्मालम्बी मेलामा बढी सहभागी हुने नमोबुद्धका मूल लामागुरु कान्छा लामाले बताए । उनका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा सिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो शरीरको रगत र शरीरको मासु खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गरेको थियो । 
    
सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको उनको भनाइ छ । “पाँच डमरु जन्माएकी बघिनी लक्ष्मी मानिन्छ भने पाँच डमरु भिक्षु भएका थिए”, लामागुरु लामाले भने । उनका अनुसार राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताएको किंबदन्ती छ ।

 “तत्पश्चात राजारानी शङ्खेश्वरी अजिअजिमाको नामले चिनिएको हो”, लामागुरुले भने । संवत् ९७४ मा गन्धमान पर्वतकै टुप्पोमा अस्थिपञ्जर जम्मा गरी स्तुपा (चैत्य) बनाएको अभिलेख पाइन्छ । उक्त पर्वत आठ हजार फिटको उचाइमा छ । उक्त पर्वतमा राजकुमारले बघिनीलाई आफैँले शरीरको मासु काटेर खुवाइरहेको दृष्य कुँदिएको मूर्ति रहेको छ ।

Namobuddha-Stone-Temple1667889432.jpg

नमोबुद्धमा सधैँजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीको चहलपहल हुने गरेको स्थानीय राकेश लामाले बताए ।  उनका अनुसार मेलामा यसवर्ष छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, नुवाकोटलगायतबाट मानिसहरु आएका छन्  

नमोबुद्धमा भाद्र कृष्ण द्वादशी र चैत कृष्ण द्वादशीको दिन पनि मेला लाग्ने गर्दछ । प्रचलनअनुसार धार्मिक भाद्र कृष्ण द्वादशीको दिन नमाबुद्धको खटलाई पनौतीस्थित राजदरबारमा ल्याई दुई दीपङ्कर बद्ध, अजा अजिमाँसहितको भव्य जात्रा आयोजना गर्ने गरिन्छ । 

राजकुमारको जन्मघर काशीवर्ण महावीर अर्थात् हाल पनौतीको प्रसिद्ध तलेजु भवानी नजिक हो । धेरैजसो बुद्धमार्गी भक्तजन पनौतीभन्दा नमोबुद्धस्थल जाने गरेको पाइन्छ । यस क्षेत्रमा लामा, महायानी गुम्बा, ढुङ्गाद्वारा निर्मित ठूलाठूला बुद्धमूर्ति, चैत्य रहेको छ । ‘नमोबुद्ध महासत्व देगाल’ सामान्य नेवारी घरशैलीको मन्दिर रहेको छ । 

उक्त गन्धमान पर्वत (हालको पर्यटकीय नमोबुद्ध)मा कल्पवृक्ष, रुद्राक्ष, अशोक, मसला, उत्तिस, सल्ला, अग्राख, लप्सी, कपुर, काफल, श्रीखण्डजस्ता सयौँ प्रकारका रुखबिरुवा तथा बाघ, भालु, बँदेल खरायो, हरिणजस्ता वन्यजन्तु पाइन्थ्यो । मयुर, हाँस, वनकुखुरालगायत पक्षी उक्त जङ्गलमा हाल पाइन छाडेको लामा बताउछन् ।

 यस पर्वतबाट ऐतिहासिक पनौतीलगायतका हरियाली बस्ती तथा पूर्व-उत्तरतर्फका हिम शृङ्खला र पहाडी मनमोहक दृष्यावलोकन गर्न सकिन्छ । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार