चाडपर्वले रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगत अभाव

बुधबार, कात्तिक १६, २०७९

कास्की । पोखरामा रगत अभाव भएको छ । दसैँ, तिहार, छठलगायतका ठूला चाडपर्वका कारण नियमित तालिकाअनुसारका रक्तदान कार्यक्रम नहुँदा रक्त सञ्चार केन्द्रमा रगत अभाव भएको हो । केन्द्रमा रगत अभाव भएर अस्पतालमा उपचाररत बिरामीलाई आपूर्तिमा कठिनाइ हुन थालेपछि आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको छ । पोखरा महानगरपालिका–५ पस्र्याङमा रहेको एभरेष्ट मिडिया हाउसले आयोजना गरेको रक्तदान कार्यक्रमबाट एक सय ५१ युनिट रगत सङ्कलन भएको छ । क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले चाडपर्वका कारण रक्तदान कार्यक्रम नहुँदा रगत अभाव हुने अवस्था आएपछि आकस्मिक कार्यक्रम गर्नुपरेको बताए । उनका अनुसार रगतको हाहाकार नभए पनि केही दिनमा अभाव हुनसक्ने अवस्थालाई मध्यनजर गरी आकस्मिक कार्यक्रम गरिएको हो ।

उनले भने, “चाडपर्वका कारण रक्तदान कार्यक्रमको क्यालेण्डरअनुसार सङ्घसंस्थाका कार्यक्रम भएनन् । अभाव हुन नदिन सार्वजनिक आह्वान गरेका छौँ, कसैलाई पनि दुःख नपरोस् भनेर आकस्मिक कार्यक्रम गरेका छौँ ।” रगत सहज आपूर्तिका लागि तालिकाअनुसार कार्यक्रम हुनुपर्ने प्रमुख ज्ञवालीले बताए । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम हुन नसक्दा पोखरामा रगतको अभावलाई टार्न क्षेत्रीय रक्तसञ्चार केन्द्रको अनुरोधमा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको एभरेष्ट मिडिया हाउसका निर्देशक दीपेन्द्र श्रेष्ठले बताए । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने रक्तसञ्चार केन्द्रले जनाएको छ । प्रदेशका अन्य जिल्लाबाट समेत यहाँका अस्पतालमा बिरामी उपचारका लागि सिफारिस भएर आउने भएकाले पोखरामा रगतको माग उच्च हुने गरेको छ । गण्डकी प्रदेश सरकारले गत फागुनदेखि प्रदेशभर बिरामीलाई आवश्यक रगत निःशुल्क गरेको छ । तुलसीपुरमा रगत अभाव दाङको तुलसीपुरमा रगत अभाव देखिएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर परिसरमा रहेको कालिकादेवी रक्त सञ्चार केन्द्रमा रगत अभाव भएको हो । चाडपर्वको समयमा रक्तदानको कार्यक्रम पनि नभएकाले रगतको अभाव देखिएको रक्तसञ्चार प्रमुख नरेश चौधरीले बताए । “रगत माग गर्ने बिरामी चाडपर्वकै समयमा आउनुभयो, त्यसैले गर्दा पनि रगत अभाव रहन गयो”, उनले भने । आवश्यकताअनुसार मानिस बोलाएर रगत लैजाँदै बिरामीलाई उपलब्ध गराउने अवस्था आयो । रगत अभाव भएपछि आज दिउँसो मात्रै २७ जनाले रक्तदान गरेका थिए । उनीहरूले रक्तदान गरेपछि भने रगतको आपूर्ति भएको थियो । “रगत एकदमै अभाव भएपछि हामीले विभिन्न माध्यमबाट आह्वान ग¥यौँ”, उनले भने, “त्यसपछि २७ युनिट रगत सङ्कलन भएको छ, यसले केही सहयोग पुग्न सक्छ ।” माग धेरै आएपछि पछिल्लो समय रगत अभाव रहेको उनले बताए । हाल सबैभन्दा धेरै ‘बी पोजिटिभ’ रगतको माग रहेको छ । चौधरीका अनुसार रगत अभाव भइरहेको भन्दै दान गर्नका लागि विभिन्न व्यक्ति तथा सामाजिक संस्थालाई पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  २०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार