मतदाता रिझाउँदै रुपन्देहीका उम्मेदवार

विष्णु पौडेललाई अदालतबाट राहत, घनश्याम भुसाललाई सत्ता गठबन्धन दलको आशा
बुधबार, कात्तिक १६, २०७९

रुपन्देही । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवार मतदाता रिझाउन लागि परेका छन् । पार्टीका एजेण्डासहित घरघरमा पुगेर उम्मेदवारले मतदातासँग मत मागिरहेका छन् । 
रुपन्देहीका राजनीतिक दलका उम्मेदवार जिल्लाको विकासलाई नै प्रमुख एजेण्डा बनाएका घरदैलोमा जुटेका हुन् । जिल्लालाई विकासको ‘रोल मोडल’ बनाउने प्रतिबद्धतासहित उम्मेदवार मतदातामाझ पुगेका छन् । सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार निर्वाचन क्षेत्रमात्र नभई जिल्लालाई मुलुककै विकासको मुख्य केन्द्र बनाउने प्रतिबद्धतासहित चुनावी मैदानमा छन् भने नेकपा (एमाले)का उम्मेदवार पनि पूर्वाधार र मानवीय विकासका दृष्टिले रुपन्देहीलाई विकासको नमूना जिल्ला बनाउने भन्दै मतदातासँग मत मागिरहेका छन् । जिल्लामा एमालेले राप्रपा र जनता समाजवादी पार्टीसँग गठबन्धन गरेको छ ।
मन्त्री भइसकेका विभिन्न पार्टीका प्रभावशाली नेता चुनावी मैदानमा रहेकाले पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देही यतिबेला चर्चामा छ । पाँच दलीय गठबन्धनबाट गृहमन्त्री बालकृष्ण खाण रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । उनीसँग पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा प्रतिस्पर्धामा छन् । 
विसं २०७४ को निर्वाचनमा कांग्रेस र राप्रपाबीच गठबन्धन थियो भने राप्रपाका बोहरा कांग्रेसको समर्थनमा चुनाव लड्ेका  थिए । त्यसबेला बोहोरालाई जिताउन हलो चिह्नमा मत माग्दै हिँडेका खाण अहिले बोहराकै प्रतिस्पर्धी छन् । खाण २०७४ मा समानुपातिक उम्मेदवार भएका थिए । उनले रुपन्देहीको विकासमा आफ्नो पनि भूमिका रहेकाले यस पटक पनि साथ दिन मतदातासँग आग्रह गरेका छन् । 
पञ्चायतकालमा चारपटक र गणतन्त्रपछि तीनपटक मन्त्री भइसकेका ७२ वर्षका बोहोराले यसपटकको चुनाव आफ्ना लागि अन्तिम भएको बताएका छन् । बोहोराले राष्ट्रियताको रक्षा, रुपन्देहीको विकास र र समृद्धिका लागि आफूलाई मत दिन आग्रह गरेका छन् । बोहोरा एमाले र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा चुनावी मैदानमा उत्रिएका छन् । खाण भने सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी (लोसपा) का साझा उम्मेदवार हुन् ।

विसं २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं १ मा माओवादी केन्द्रका घनश्याम यादवसँग पराजित भएका बोहोरा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन २ नम्बर क्षेत्र (हाल ३) मा कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गर्दै विजयी भएका थिए । बोहोरा २०७४ मा रुपन्देही ३ मा एमालेका घनश्याम भुसालसँग पराजित भएका थिए । 
क्षेत्र नं २ बाट पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल प्रतिनिधिसभाको निर्वाचन लड्दै छन् । क्षेत्र नं २ मा भने सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भइसकेको छ । निर्वाचन आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेकाले उम्मेदवारी खारेज गरिदिएपछि गुरुङ आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका थिए, तर, अदालतले निर्वाचन आयोगको निर्णयलाई सदर गरिदिएको थियो । 
सत्ता गठबन्धनका उम्मेदवारको उम्मेदवारी नै खारेज भएपछि लगातर तीन पटकसम्म यहाँबाट निर्वाचन जितेर पटक–पटक मन्त्री भएका एमाले उपाध्यक्ष पौडेलको पक्षमा जनमत जुट्ने आँकलन धेरैको छ । यद्यपि उम्मेदवारविहीन भएको सत्ता गठबन्धनले जनमुक्ति पार्टी उम्मेदवार बनेका केशबबहादुर थापा सूर्यवंशीलाई समर्थन गरेको छ । “थापा राष्ट्रिय जनमुक्तिका केन्द्रीय कार्यकारी अध्यक्ष भए पनि यस क्षेत्रका लागि त्यति परिचित अनुहार नभएकाले यसपटको निर्वाचन पौडेललाई सहज छ भन्नुहुन्छ”, स्थानीय पोषकान्त पोखरेल । यस्तै रुपन्देहीको क्षेत्र नं १ मा सत्ता गठबन्धनका तर्फबाट पूर्व मन्त्री घनश्याम भुसाल र एमालेका पोलिटब्युरो सदस्य छबिलाल विश्वकर्मा प्रतिष्पर्धामा छन् । निर्वाचनकै मुखमा एमाले छोडेर सत्ता गठबन्धनको समर्थनमा निर्वाचनमा जानुभएका भुसालले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, बाटोघाटो तथा भौतिक निर्माणका काममा तीव्रता दिने प्रतिबद्धतासहित चुनावी अभियानमा लागेका छन् । 
अर्का उम्मेदवार विश्वकर्माले भने र विकास र समृद्धिको ऐजण्डा एमालेको भएकाले अधुरा योजना सुरु गर्न र नयाँ योजनाको थालनी गर्न एमालेका उम्मेदवारलाई मत दिन आग्रह गरेका छन् । उत्तर दक्षिण जोड्ने गरी क्षेत्र नम्वर १ को विकासको काम दशगजाबाट सुरुआत गरेको र पाँच वर्षयता विकासले फड्को मारेको दाबी उनको छ । 
क्षेत्र नं ५ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि भरतकुमार शाहले र एमालेका उम्मेदवार वासुदेव घिमिरे चुनावी मैदानमा छन् । 
क्षेत्र नं ५ को विकासका लागि आफूलाई मत दिन आग्रह गर्दै शाह घरदैलोमा जुटेका छन् । कांग्रेसका नेता शाहले यसअघि २०७४ को निर्वाचनमा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)बाट चुनाव लडेका डिलाराम आचार्यलाई पराजित गरेका थिए । 
तिलोत्तमा नगरपालिकाको प्रमुख भइसकेका घिमिरेले लुम्बिनीसहित क्षेत्र नं ५ को विकासका लागि एक पटक अवसर दिन मतदातासँग अनुरोध गरेका छन् । तिलोत्तमाको प्रमुख हुँदा दुई पटक देशकै उत्कृष्ट नगरपालिका घोषणामा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले क्षेत्र नं ५ को विकासका लागि जनताले साथ दिने उनको विश्वास छ ।
क्षेत्र नं ४ मा सत्ता गठबन्धनबाट कांग्रेसका प्रमोद यादव र पूर्वमन्त्री जनता समाजवादी पार्टीबाट ओमप्रकाश यादव चुनावी प्रतिस्पर्धामा छन् । प्रमोद यादवले २०७४ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ललाई पराजित गरेका थिए । 
एमाले र राप्रपाको समर्थनमा उम्मेदवार बन्नुभएका ओमप्रकाश गत वर्ष एमाले छाडेर जसपा प्रवेश गरेका थिए । उनी कृषिराज्यमन्त्री समेत बनेका थिए । दुवै जना उम्मेदवार क्षेत्र नं ४ को पूर्वाधार विकासका लागि जिताउन आग्रह गर्दै मतदातामाझ पुगेका छन् । 
यसै प्रदेशसभाका उम्मेदवार पनि विकास र समृद्धिको एजेण्डासहित मतदातामाझ पुग्नुभएको छ । जिल्लामा सत्ता गठबन्धनका तर्फबाट प्रदेश सभाका लागि क्षेत्र नं १ (१)मा अब्दुल रज्जाक, (२) मा विश्वनाथ यादव, क्षेत्र नं २(१) मा दीर्घबहादुर केसी २ (२) मा बामदेव क्षेत्री, क्षेत्र नम्बर ३(१) मा सन्तोष कुमार पाण्डे, क्षेत्र नम्बर ३ (२) मा रामचन्द्र ढकाल, क्षेत्र नं ४(१) मा अष्टभुजा पाठक, ४ (२) मा वसीउद्धिन खाँ तथा क्षेत्र नं ५ (१) मा विनोद पहाडी र ५ (२) मा फखरुद्धिन खान प्रदेशसभा निर्वाचनका लागि चुनावी मैदानमा छन् ।
यता एमाले, जसपा र राप्रपा गठबन्धनका तर्फबाट क्षेत्र नं १(१) मा आशिष चौधरी र १(२) मा दधिराम न्यौपाने चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै क्षेत्र नं २ को १(१) मा लिला गिरी, २(२) मा भोजप्रसाद श्रेष्ठ, क्षेत्र नम्बर ३ (१)बाट महेन्द्र यादव र ३ (२) मा तुल्सीप्रसाद चौधरी, क्षेत्र नं ४ (१) मा सुनिल गिरी, ४ (२) मा आमअवतार यादव, क्षेत्र नं ५ (१) मा भूमिश्वर ढकाल र ५(२) मा रामचन्द्र यादव प्रदेशसभाका लागि चुनावी प्रचार अभियानमा लागेका छन् । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ०५:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार