निर्वाचनलाई निष्पक्ष बनाउन आचारसंहिता सबैले पालना गरौँ : आयुक्त डा तुलाधर 

बुधबार, कात्तिक १६, २०७९
Global Ime Bank

सुर्खेत/भेरीगङ्गा । निर्वाचन आयुक्त डा जानकी तुलाधरले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेबकी छन् । आचारसंहिता उल्लघङ्न गर्ने उमेदवारको उम्मेदवारीसमेत खारेजी हुनसक्ने भन्दै उनले आयोगले जारी गरेको आचारसंहिता पालना गर्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिन् । 
राष्ट्रिय समाचार समिति (रासस) को सहकार्यमा निर्वाचन आयोगले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा आयुक्त डा तुलाधरले आगामी मङ्सिर ४ गते हुने निर्वाचन दुईवटा कुरामा केन्द्रीत रहेको बताइन् । 
डा तुलाधारले भनिन्, “पहिलो त निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता पालना गराउनु हो, अर्को मतदाता शिक्षालाई जोड दिएका छौँ ।” 
सञ्चार माध्यमले गत स्थानीय तहको निर्वाचनमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि त्यतिकै भूमिकाको अपेक्षा गरिएको बताइन् । 
“सञ्चारमाध्यम भनेको महत्वपूर्ण कडी हो”, उनले भनिन्, “मतदाता शिक्षामा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ, निष्पक्ष निर्वाचन बनाउन आयोग र सञ्चारमाध्यमको सहकार्य पनि उत्तिकै आवश्यक छ ।”आयोगले अहिले मतदाता शिक्षालाई जोड दिएको भन्दै आयुक्त तुलाधरले मतदाता शिक्षा र आचारसंहिता पालनामा सबै सरोकारवालाको दायित्वभित्र पर्ने बताइन् । 
मिथ्या सूचनालाई निस्तेज पार्न मिडियाको साथ आयोगलाई चाहिएको उनको भनाइ छ ।
राससका महाप्रबन्धक सिद्धराज राईले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि मिडियाको महत्वपूर्ण भूमिका रहने बताए  । उनले निर्वाचनको समयमा पत्रकारले आचारसंहिता उल्लङ्घनका विषय उजागर गर्नुका साथै पत्रकार स्वयंले पनि आचारसंहिता पालनामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनका बेलामा उम्मेदवारका गतिविधि र मतदाता शिक्षालाई विशेष जोड दिएर अगाडि बढ्न पत्रकारलाई आग्रह गरे । 
मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले आचारसंहिता पालनाका विषयमा सबैलाई झक्झकाउन सञ्चारमाध्यमलाई आग्रह गरे । मिडियाले समेत तथ्यलाई तलमाथि पारेको हुनसक्ने भन्दै सूचनाप्रवाह गर्दा तथ्यपरक हुनुपर्ने बताए । 
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका निमित्त सचिव आनन्द सारुले राज्य सञ्चालन प्रणालीलाई बलियो बनाउनका लागि निर्वाचनले ठूलो महत्त्व राख्ने बताए । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सबै राजनीतिक दलले कर्तव्यबोध गरेर निर्वाचन आयोगद्वारा जारी भएको आचारसंहितालाई पूर्णरूपमा कार्यान्वयन गरेको खण्डमा निर्वाचन सहज हुने बताए । 
कार्यक्रममा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचनको बेलामा मिथ्या सूचना, दुष्प्रचारलाई रोक्न पत्रकारले मुख्य भूमिका खेल्नुपर्ने औँल्याएका थिए । 

मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने 

यता नुवाकोटमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । 
शुक्रबारदेखि (१८ गतेदेखि मङ्सिर १ गतेसम्म) वडास्तरमा नै मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ । उक्त मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी कार्यन्वयनको लागि स्थानीय तह, जिल्लास्थित सरकारी कार्यलय, गैरसरकारी संस्था, नागरिक समाज तथा सरोकारवालासँग समन्वय र सहकार्य गनुपर्ने बताइएको छ । 
जिल्ला निर्वाचन कार्यालय नुवाकोटलेसरोकारवाला निकायबीच मतदाता शिक्षासम्बन्धी बैठकको आयोजना गरेको थियो । उक्त बैठकले सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको लागि आवश्यक स्रोत साधन र जनशक्तिको व्यवस्था मतदाता शिक्षा कार्यक्रम निर्देशिका २०७९ अनुसार स्थानीय तहले गर्ने निर्णय गरिएको छ । वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकामध्ये एसइई-एसएलसी उत्तीर्ण गरेका वा वडास्तरको मतदाता शिक्षा सञ्चालन समितिको सदस्यमध्ये कुनै एक जना मतदाता शिक्षा स्वयंसेवकको रुपमा परिचालित हुनेछ । 
“स्थानीय तहको वडा ठूलो छ । एक जना स्वयंसेवकले मतदाता शिक्षालाई प्रभावकारी बनाउन असम्भव छ । स्वयंसेवकको सेवा सुविधा स्थानीय तहले नै व्यहोर्नुपर्ने भए पछि पालिकास्तरको मतदाता शिक्षा सञ्चालन समितिको निर्णयअनुसार स्वयंसेवक थप गर्न सक्छौँ”, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले भने, “मतदाता घरघरमा नभेटिन सक्छ । मेला, चोक, पसल जहाँ मतदाताको जमघट हुन्छ त्यस्तो स्थानमा पनि सामूहिक मतदाता शिक्षा सञ्चालन गर्नुपर्छ ।”
मतदाता शिक्षा सामग्री जिल्ला आइसकेको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले बताउनुभयो । उक्त मतदाता शिक्षा सामग्रीलाई मतदातासमक्ष पु¥याइने उहाँको भनाइ छ । बदर मत कम गर्न र निर्वाचनमा मतदाताको सहभागिता बढाउन घरदैलोसहितको मतदाता शिक्षा कार्यक्रमको महत्व बढी रहेको छ । 

सबै स्थानीय तहमा नमूना मतदान

मतदाता शिक्षाअन्तर्गत रहेर जिल्ला निर्वाचन कार्यालय नुवाकोटले बाह्रवटै स्थानीय तहमा नमूना मतदान कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । स्थानीय तहसँगको सहकार्य र समन्वयमा नमूना मतदान कार्यक्रम सञ्चालन गरिने निर्वाचन अधिकारी जयप्रसाद गौतमले बताए । 
बजार क्षेत्रमा नमूना मतदान कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी नभएको गुनासोलाई सम्बोधन गर्नुपर्ने तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले बताए । उनले भने, “अघिल्ला निर्वाचनमा नमूना मतदानस्थल बजार क्षेत्रलाई रोज्दा प्रभावकारी देखिएन । नमूना मतदानमा सामान्य नागरिकको सहभागिता कम भयो । जहाँ बदर मत बढी हुने गरेको छ, त्यस्तो स्थान पहिचान गरेर यस्ता कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।” 
नमूना मतदान कार्यक्रमले मतदातालाई सही तरिकाले मतदान गर्न सिकाउनुका साथै मतदानस्थल र मतदान केन्द्रलाई व्यवस्थित बनाउनसमेत सहयोग गर्नेछ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ०५:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार