सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज सार्वजनिक गरेको घोषणापत्रमा एक गन्तव्य, एक राष्ट्रिय आकाङ्क्षा, चार सङ्कल्प, पाँच वर्ष, २० ‘ग्यारेन्टी’, ३० कामका क्षेत्र, २४७ प्राथमिकता, ४१ महिना र ८२ वटा ‘माइलस्टोन’ उल्लेख गरिएको छ । एमालेले मुलुकको समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने, राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने, ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’को नीति कार्यान्वयन, स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन, आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने र सबैका लागि काम र नियमित कमाईको सुनिश्चितता गर्ने ग्यारेन्टी गरेको छ । एमाले सरकार गठन भएपछि ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’को नीति कार्यान्वयन, ‘निरोगी नेपाल, सबल नागरिक’ नीति अघि बढाउने, स्वच्छ पानी, सफा वातावरणको सुनिश्चित गर्ने, सबैलाई बिजुली बत्ती, विद्युत्बाटै देशको उन्नति गर्ने, खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनीको मान्यता अघि बढाउने, सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने, व्यवस्थित सहरः स्वच्छ र हरियाली वस्तीको अवधारणा कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको छ । सरल, सहज सार्वजनिक सेवाको प्रबन्ध गर्ने, सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने, सबै नागरिकलाई वित्तीय पहुँच स्थापित गर्ने, स्वस्थ महिनावारी सुरक्षित मातृत्वको नीति कार्यान्वयन गर्ने, सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने, सभ्य समाजः मर्यादित नागरिकको नीति कार्यान्वयन गर्ने र प्रतिव्यक्ति आय दोब्बर गर्ने एमालेको प्रतिबद्धता छ ।
४१ महिनामा हासिल ८२ ‘माइलस्टोन’ एमालेले यसअघिको ४१ महिना सरकारको नेतृत्व गर्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा हासिल गर्न जनपक्षीय काम गरिएको दाबी गरेको छ । सो अवधिमा संविधानले प्रत्याभूत गरेका मौलिक हक कार्यान्वयन गर्ने १६ सहित ८९ वटा नयाँ कानुन तर्जुमा, प्रदेश र स्थानीय तहको कार्यसञ्चालनका लागि ५० भन्दा बढी नमूना कानुन निर्माण, श्रमिकको आधारभूत पारिश्रमिकमा पाँच हजार तीन सय वृद्धि तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गरिएको एमालले जनाएको छ ।
एकचालीस महिनामा भौतिक तथा आर्थिक विकासले तीव्र गति लिएको एमालेको दाबी छ । सो अवधिमा प्रतिदिन पाँच किलोमिटर सडक कालोपत्रे, प्रतिदिन १२ भवन निर्माण, प्रतिदिन एक झोलुङ्गे पुल निर्माण, हरेक दोस्रो दिन सरदर कम्तीमा एक सडक पुल र तेस्रो दिन ग्रामीण पुल निर्माण भएको एमालेको घोषणापत्रमा उल्लेख छ । ओली नेतृत्वको सरकारले निरपेक्ष गरिबीको रेखामुनिका जनसङ्ख्या २१.६ प्रतिशतबाट १८.७ प्रतिशतमा झारेको, बुहआयामिक गरिबीको सूचकाङ्क ३०.१ बाट १७.४ मा झारेको, पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि रु दुई अर्ब ३५ करोड ढुवानी खर्च जोगिएको, आयात १२।१ प्रतिशतले घटेको र निर्यात ४।५ प्रतिशतले बढेको, कूल गार्हस्थ्य उत्पादनको अनुपातमा व्यापार घाटा नौ प्रतिशतले घटाएको एमालेले दाबी गरेको छ ।
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार
एमालेले आगामी पाँच वर्षभित्र श्रमिकको न्यूनतम ज्याला वृद्धि गरी मासिक रु २५ हजार पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ । अहिले सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १५ हजार तोकेको छ । प्रत्येक दुई–दुई वर्षमा सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक तोक्दै आएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गर्दै एमालेले स्वेदश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा समेटिने प्रतिबद्धता व्यक्त गरेको छ ।
अधिकांश श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने घोषणापत्रमा उल्लेख छ । औपचारिक क्षेत्रका सबै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने एमालेको दाबी छ । बँधुवा श्रम, बलपूर्वक लगाइने श्रम र बालश्रमलाई निर्मूल गर्ने, कार्यथलोमा हुने सबै प्रकारका विभेद्लाई अन्त्य गर्दै समान कामको समान पारिश्रमिकको व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ । श्रम गर्न सक्नेलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम छ महिनाको रोजगारी उपलब्ध गराइने, स्वरोजगार बन्न चाहनेलाई सहुलियतपूर्ण कर्जा, रोजगारीको निरन्तरता वा अर्को रोजगारीको व्यवस्था नहुन्जेलसम्मका लागि तत्काल रोजगारी उपलब्ध गराइने एमालेको योजना छ । वैदेशिक रोजगारीलाई बाध्यता नभई तुलनात्मक लाभको वैकल्पिक अवसरका रुपमा उपलब्ध गराइने, वैदेशिक रोजगारीमा गएकाको व्यवस्थित तथ्याङ्क राखिने, वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाइने र त्यस क्षेत्रमा भएका विकृतिलाई कडाइका साथ नियन्त्रण गरिने घोषणापत्रमा उल्लेख छ ।
‘पूर्ण साक्षर देश, उद्यमशील शिक्षित युवा’ एमालेको प्रतिबद्धता
आसन्न निर्वाचनका लागि एमालेले आज सार्वजनिक गरेको घोषणापत्रमा ‘पूर्ण साक्षर देश, उद्यमशील शिक्षित युवा’ प्रतिबद्धता व्यक्त गरिएको छ ।
आगामी दुई वर्षमा मुलुकलाई पूर्ण साक्षर बनाइने र विद्यार्थी भर्नादर शतप्रतिशत पु¥याउने घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा एमालेले शिक्षण पेसालाई मर्यादित र सम्मानजनक जीवन जिउन पुग्ने तलब दिने र आर्थिक दूरावस्थाका कारण विद्यालय जानबाट वञ्चित हुने वा बीचैमा पढाइ छोड्नुपर्ने अवस्थाको अन्त्य गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेको छ । एमालेले सबै विद्यालयलाई सूचना प्रविधिका पूर्वाधारसँग आबद्ध गरी डिजिटल शिक्षण आरम्भ गर्ने घोषणा गरेको छ । सो पार्टीले पाँच वर्षमा विद्यालयको भौतिक पूर्वाधार व्यवस्थित गर्ने, विद्यालयमा पर्याप्त कक्षा कोठा, सुविधायुक्त फर्निचर, विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना प्रविधि प्रयोगशाला, स्वच्छ पिउनेपानी, शौचालय र सम्भव भएसम्म खेल मैदानको व्यवस्था गर्ने जनाएको छ । यस्तै दुर्गम क्षेत्रका, विपन्न र विद्यालय टाढा भएका विद्यार्थीका लागि आवासीय शिक्षाको व्यवस्था गर्ने र अपाङ्गता भएका विद्यार्थीलाई विशेष सुविधा र शिक्षाको व्यवस्था गर्ने एमालेको प्रतिबद्धता रहेको छ ।