सोसल मिडिया
Contact Us
युनिकोड
तेहरान । इरानको संसद्ले संयुक्त राष्ट्रसंघीय अनुगमनकर्तालाई आफ्नो परमाणु क्षेत्रको निरीक्षण गर्न रोक्ने र युरेनियम थप संवद्र्धन गर्ने कानुनलाई स्वीकृत गरेको छ । उक्त विधेयक अनुसार सरकारले २० प्रतिशतसम्म युरेनियम संवद्र्धनलाई पुनः सुरु गर्नुपर्नेछ । सन् २०१५ को परमाणु सम्झौतामा यदि अन्तर्राष्ट्रिय प्रतिबन्धलाई दुई महिनाभित्र खुकुलो नपारिए ३.६७ प्रतिशतले संवद्र्धन गर्न सकिने बुँदा थियो । संसद्ले पारित गरेको कानुन पालन गर्न अब इरानी सरकारले त्योभन्दा निकै बढी युरेनियम संवद्र्धन गर्नुपर्नेछ । इरानी राष्ट्रपति हसन रुहानीले उक्त कानुन कार्यान्वयन गर्न अस्वीकार गरेका छन् ।् इरानका एक वरिष्ठ परमाणु वैज्ञानिकको हत्या भएपछि त्यहाँको संसद्को यस्तो निर्णय आएको हो । गत शुक्रबार राजधानी तेहरान बाहिरको एउटा सडकमा मोहसिन फख्रिजादेहको रहस्यमय तरिकाले हत्या भएको थियो । इरानले उक्त घटनामा इजरायल र देशबाट निष्काशित समूहले रिमोटका माध्यमबाट चल्ने हतियार प्रयोग गरी गोली हानेर हत्या गरेको बताएको छ । इजरायलले सार्वजनिक रूपमा उसको संलग्नताबारे लागेको आरोपबारे बोलेको छैन । फख्रिजादेहले इरानको परमाणु कार्यक्रममा महत्वपूर्ण भूमिका खेलेका थिए । इरानले आफ्नो परमाणु कार्यक्रम पूर्णरूपमा शान्तिपूर्ण रहनेमा जोड दिने गरेको छ । तर परमाणु कार्यक्रमकै कारण इरानले पश्चिमी देशको कडा खाले प्रतिबन्धको सामना गरिरहेको छ । पश्चिमा शक्ति उसलाई परमाणु हतियार बनाउनबाट रोक्न चाहन्छन् । इरानको नयाँ कानुनले के भन्छ ? इरानको गार्डियन काउन्सिलले अनुमोदन गरेको कानुन अन्तर्गत तेहरानले सन् २०१५ को परमाणु सम्झौताका युरोपेली हस्ताक्षरकर्ताहरूलाई दुई महिनाको समय दिन सक्नेछ । त्यसबीच उनीहरूले सन् २०१८ मा अमेरिका उक्त सम्झौताबाट बाहिरिएदेखि इरानको तेल र वित्तिय क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउनु पर्नेछ । यदि ती प्रतिबन्धहरू दिइएको समयसीमामा खुकुलो नपारिएमा सरकारले युरेनियम संवद्र्धन कार्यक्रमलाई २० प्रतिशतले बढाउनुपर्नेछ । इरानले दुईवटा केन्द्रहरू नाटाज र फोर्डाेउमा परमाणु कार्यक्रम सञ्चालन गरिरहेको छ । अनुगमनमा रोक उक्त कानुनले संयुक्त राष्ट्रसंघीय अनुगमनकर्ताहरूलाई उक्त क्षेत्रको निरीक्षण गर्नमा पनि रोक लगाउँछ । ‘आज एउटा पत्रमा संसद्का सभामुखले आधिकारिक रूपमा राष्ट्रपतिलाई नयाँ कानुन लागु गर्न भनेका छन्’ इरानको फार्स न्यूज एजेन्सीले भनेको छ । उक्त कानुन अनुमोदन हुनुपूर्व राष्ट्रपति रुहानी संसद्सँग सहमत भएका थिएनन् । उनले त्यसलाई ‘कूटनीतिका लागि हानिकारक’ भनेका थिए । अमेरिकी भूमिका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१५ को परमाणु सम्झौताबाट मे २०१८ मा हात झिकेका थिए र तेहरानमाथि कडा आर्थिक प्रतिबन्धहरू लगाएका थिए । राष्ट्रपति चुनिएका जो बाइडनले बराक ओबामाद्वारा गरिएको समझदारी जस्तै उक्त सम्झौतामा अमेरिकालाई फर्काउने बताएका छन् । उक्त सम्झौताको कडा रूपमा पालन भए तेहरानमाथि प्रतिबन्ध पनि हटाउने उनले बताएका छन् । गत वर्ष जुलाईमा इरानले सम्झौता अनुसार गर्न पाइने युरेनियम संवद्र्धनको उच्चतम मात्रा ३.६७ प्रतिशतलाई तोडेको थियो । त्यसलाई बढाएर ४.५ प्रतिशतमा कामय गरेको थियो । –बीबीसी