सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । ‘घरघरमा बिजुली–जनजनमा शेयर’ भन्ने नीति लागू गर्दै आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवद्र्धन गर्ने लक्ष्यसाथ नेकपा (एकीकृत समाजवादी) ले आज आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । सो पार्टीले ‘ऊर्जा उत्पादनमा वृद्धि : राष्ट्रको आर्थिक समृद्धि’ भन्ने नारासमेत तय गरेको छ । स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीलाई प्रोत्साहित गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिलाई पनि सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गर्न पहल गर्ने सो पार्टीले जनाएको छ । नेपालको पूर्ण क्षमताअनुसारको जलविद्युत् उत्पादन गर्न एवं मागबमोजिम ऊर्जा प्रवाह नियमित गर्न जलाशययुक्त बहुउद्देश्यीय ठूला आयोजना निर्माणलाई प्राथमिकता दिने भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गर्नुभएको सो पार्टीले बहुउद्देश्यीय आयोजना निर्माणका लागि सरकारी, सहकारी र निजी क्षेत्रलाई संलग्न गराउने, स्वदेशी लगानीमा निर्माण गर्न समय लाग्ने परियोजना राष्ट्रियहित अनुकूलहुने गरी अन्तर्राष्ट्रिय समुदायलाई पनि निर्माणको जिम्मा दिन सकिने गरी नीति बनाउने उल्लेख गरेको छ । विशेष आर्थिक क्षेत्र तथा उद्योग ग्रामका लागि ‘डेडिकेटेड’ विद्युत् लाइन जडान गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न राष्ट्रिय उद्योगलाई प्रोत्साहन गरी महशुलमा छुट दिने व्यवस्था मिलाउने नीति सो पार्टीले लिनेछ । तीनै तहको सरकारको सहकार्यमा हरेक घरपरिवारलाई मासिकरूपमा दुई सय युनिटसम्म विद्युत् महसुलमा छुट दिने तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडानमा सहुलियत दिन पहल गर्ने भएको छ । रोजगारीका लागि विदेशिएका युवालाई कृषि पेशामा आकर्षित गर्न रु १० लाखसम्म निव्र्याजी ऋण दिने व्यवस्था गरी ‘विदेशिएका युवालाई स्वदेश फर्काऊ, कृषि उत्पादनमा वृद्धि गरौँ’ अभियान नै सञ्चालन गर्ने एकीकृत समाजवादीको घोषणापत्रमा उल्लेख छ । किसानले उत्पादन गर्ने प्रमुख खाद्यबालीमा न्यूनतम समर्थन मूल्य तोकेर त्यसभन्दा कम बजार मूल्य भएमा सरकारले नै खरिद गर्ने व्यवस्था मिलाउने, रासायनिक मलप्रतिको निर्भरता हटाउँदै प्राकृतिक–जैविक मल उत्पादनतर्फ किसानलाई आकर्षित गराउने र बर्सेनि हुने मलको अभावलाई अन्त्य गर्नका लागि मल कारखाना स्थापनामा गर्ने सो पार्टीले जनाएको छ । भूमि बाँझो राख्न नपाउने, बाँझो जमिनमा खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिने, कृषियोग्य भूमिमा चक्लाबन्दी एवं गरा सुधार र सामूहिक एवं सहकारी खेतीमा जोड दिने कार्यक्रम लागू गरिनेछ । युवा तथा महिला कृषकलाई आधारभूत आधुनिक कृषि शिक्षा, व्यावसायिक तालिम, सहुलियत सरल कर्जा प्रवाह व्यवस्था गर्ने, किसान र कृषि उद्यमीलाई कृषि बीमाका लागि आवश्यक रकम अनुदानमा दिने र नेपालको पानी नेपालमै’ भन्ने अवधारणालाई सार्थकता दिन नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एक अर्कासँग जोडी ‘पूर्वपश्चिम मेघा नहर’ बनाउने कार्यक्रम समावेश गरिएको छ । सिँचाइ, कृषि सडक, खानेपानी तथा जलमार्ग र निश्चित स्थानमा पर्यटकीयस्थलको विकास गर्नेगरी राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गर्ने विषयलाई घोषणापत्रमा समावेश गरिएको छ । तराई–मधेस र भित्री तराईको कृषिभूमि सिँचाइ गर्न तमोर–मोरङ, सुनकोसी–कमला र सुनकोसी–मरिन–वाग्मती, कालीगण्डकी–तिनाउ, राप्ती–सुराई, भेरी–बबई, पश्चिम सेती–कैलाली–पाण्डुन, शारदा नदीलगायतका डाइभर्सन योजना अगाडि बढाइने भएको छ । भौतिक पूर्वाधारको एकीकृत योजना नबनाउने, प्राथमिकता निर्धारण नगर्ने र एउटै आयोजनाका लागि बर्सेनि नाम मात्रको बजेट विनियोजन गर्ने, सडक कालोपत्र गर्ने पुनःअन्य परियोजनका लागि भत्काउने, सडक विस्तारका लागि पटकपटक भवन तथा पर्खाल भत्काउने जस्ता प्रवृत्तिले सीमित स्रोतसाधनको पनि व्यापक दुरूपयोग भइरहेको ठहर गर्दै सो पार्टीले त्यस्तो अस्तव्यस्तताको अन्त्य गर्दै एकीकृत तथा दीर्घकालीन योजना निर्णाण, कार्यान्वयन र अनुगमन प्रर्णाली विकास गर्ने भएको छ । विकास निर्माणका क्षेत्रमा भइरहेको अस्वस्थ प्रतिस्पर्धा र मिलोमतो ठेक्का लिन दिने कार्यलाई कानूनद्वारा नियन्त्रण गर्ने, निर्माण व्यवसायीले कामको ठेक्का लिने तर समयमा काम सम्पन्न नगर्ने, गुणस्तरीय कार्य नगर्नेजस्ता प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गर्ने एकीकृत समाजवादीको ठहर छ । विकासका परियोजनाबाट समयमै प्रतिफल प्राप्त गर्न राष्ट्रिय गौरवका योजनाका लागि पर्याप्त बजेटको व्यवस्था गर्ने, गौरवका योजना निर्माण कुनै किसिमको व्यवधान नहुने कुराको सुनिश्चता प्रदान गर्न सरोकारबाला मन्त्रालयका सहसचिव रहने एक अधिकार प्राप्त पूर्णकालीन संयन्त्र स्थापना तथा सञ्चालन गर्न कानुन निर्माणका लागि पहल गर्ने सो पार्टीको घोषणापत्रमा उल्लेख छ । निर्वाचन प्रणालीमा सुधार जरुरी नेकपा एसले ले महँगो प्रणालीका कारण राजनीतिमा त्याग गरेका र आर्थिकरुपमा कमजोर व्यक्तिले कहिल्यै शासकीय जिम्मेवारीमा पुग्न नसक्ने ठहर गर्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएको छ । आज सार्वजनिक गरेको प्रतिनिधिसभा र प्रदेशसभा–२०७९ निर्वाचन घोषणापत्रमा मुलुकका लागि समय सुहाउँदो निर्वाचन प्रणाली अङ्गीकार गर्ने उल्लेख गरेको छ । समाजवादीको घोषणापत्रमा भनिएको छ, “अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिलसमेत छ । हामी यस निर्वाचन प्रणालीमा सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ । यसैपटक पनि हाम्रो पार्टीले कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्नेछ र हाम्रा उम्मेदवारले पनि कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्नेछन् ।” राजतन्त्रलाई परास्त गरी स्थापना गरिएको समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता, सामाजिक न्याय र धर्मनिरपेक्षतासहितको राजनीतिक प्रणाली समाजको आर्थिक–सामाजिक रूपान्तरणका आधारका रूपमा रहेको उल्लेख गर्दै समाजवादीले प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि पहल गर्ने भएको छ । एकीकृत समाजवादीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा पनि उत्तिकै जोड दिएको छ । उसले पुँजीगत खर्च नहुँनु, महँगीको अचाक्ली वृद्धि तथा कालोबजारीलगायतका विकृतिलाई अन्त्य गर्न पहल गर्ने जनाएको छ । अर्थतन्त्रका बारेमा सो पार्टीको घोषणापत्रमा भनिएको छ, “नेपालको पछौटेपन, आयात आधारित राजस्वको मूल स्रोत, डरलाग्दोरूपमा बढ्दै गइरहेको व्यापार घाटा, चर्को बेरोजगारी, कृषिबाट सक्रिय जनशक्तिको पलायन, युवाको विदेश पलायन, ऋणको मात्रामा निरन्तर वृद्धि, बजेटको पुँजीगत खर्च नहुने समस्या, महँगीको अचाक्ली वृद्धि, कालोबजारी, उत्पादनका स्रोतसाधनमा दलाल पुँजीपतिको नियन्त्रण, मिटरब्याजीको शोषण, वित्तीय क्षेत्रमा मौलाएका विकृती, अभाव र गरिबी नेपाली अर्थतन्त्रका आधारभूत समस्या हुन् ।” आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न नसक्दा यस क्षेत्रमा देखिएका समस्याबाट मुक्त हुन नसकिने र परनिर्भरता कायमै रहने ठहर गर्दै एकीकृत समाजवादीले कृषि, उद्योग, ऊर्जालगायत क्षेत्रमा उत्पादन वृद्धि र पर्यटन, व्यवस्थापन एवं सूचना प्रविधिजस्ता सेवा क्षेत्रको विकास र विस्तार गर्ने विषयलाई घोषणापत्रमा महत्वका साथ समावेश गरिएको छ । “परनिर्भरता कम गर्दै जानु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नु आजको हाम्रो मुख्य आर्थिक कार्यभार हो”, घोषणपत्रमा भनिएको छ, “यो कार्यभार वहन गर्नका निम्ति हामी दृढतापूर्व अगाडि बढ्न चाहन्छौँ । यसमा हामीलाई जनताको साथ चाहिएको छ ।” ‘आर्थिक–सामाजिक रूपान्तरण ः समाजवादका आधार निर्माण’ भन्ने नारा अगाडि सारेको एकीकृत समाजवादीले आफ्नो लक्ष्य वैज्ञानिक समाजवाद भएको स्पष्ट पारेको छ । “वैज्ञानिक समाजवाद भनेको सबै जनताका निम्ति खाना, छाना र नाना तथा शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराइएको, उत्पादनका साधनमाथि समान हक भएको र सामाजिक न्याय एवं समानतासहितको समाज व्यवस्था हो”, घोषणापत्रमा भनिएको छ । नेपाली समाजमा आर्थिक–सामाजिक रूपान्तरणका लागि व्यापक अभियान सञ्चालन नगरी त्यो अवस्था निर्माण गर्न सकिँदैन । साथै आर्थिक–सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । समाजवादीले राष्ट्रबीचको समानता, पारस्परिक लाभ, अहस्तक्षेप र सम्मानलगायत पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनी मान्यताका आधारमा छिमेकीलगायत सबै देशसँग सुमधुर सम्बन्ध राख्ने र उनीहरुले पनि नेपालसँग तदनुरूपकै सम्बन्ध राखुन् भन्ने अपेक्षा गरेको छ ।