बालबालिकालाई जुलुसमा लगेको भिडियो पाएपछि आयोगले सोध्यो एमालेका उम्मेदवार सूर्य थापालाई २४ घण्टे स्पष्टीकरण

आइतबार, कात्तिक १३, २०७९
Global Ime Bank

काठमाडौं । निर्वाचन आयोगले प्यूठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका एमालेका सूर्य बहादुर थापा क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले आयोगले स्पष्टीकरण सोधेको हो । 
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहेकोमा उम्मेदवार थापा क्षेत्रीले आफ्नो निर्वाचन प्रचारप्रसारको लागि बालबालिकाको प्रयोग गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल रहेको ठहर आयोगले गरेको छ ।

See the source image


तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी निर्वाचन प्रचारप्रसार कार्य गर्नु भएको देखिएकाले यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।
स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा १ को खण्ड (ट) को प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होईन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?’

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै तपाईंले सो कार्य गरेको देखिएकोले निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ? स्पष्टीकरणमा थापालाई सोधिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  ०४:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार