सोसल मिडिया
Contact Us
युनिकोड
दोधारा चाँदनी । देशभर आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला विभिन्न राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा गएर देउसीभैलो खेल्दै आफू र आफ्नो पार्टीमा मतदान गर्नका लागि अनुरोध गरिरहेका छन् । नेपाली कांग्रेसका कञ्चनपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखक देउसीभैलोमा सहभागी हुँदै जनतासँग मत मागिरहेका छन् । त्यसैगरी कांग्रेस–माओवादी गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार टेकेन्द्र भट्ट, नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावल, नेकपा एमाले–राप्रपा गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार धर्मराज जोशीलगायतका उम्मेदवार देउसीभैलोको सदुपयोग गर्दै जनतासँग मत मागिरहेका छन् । घरदैलो अभियानमा रहेका उम्मेदवारले तिहारको समयमा पनि अभियानलाई निरन्तरता दिएका छन् । नेपाली कांग्रेस कञ्चनपुरका नेता केशव चन्दले तिहारको समयमा पनि घरदैलो अभियानलाई निरन्तरता दिइरहेको बताए । “घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छौँ”, उनले भने, “तिहारको समयमा देउसीभैलोको रौनकता छ, हाम्रा उम्मेदवारले पनि देउसीभैलोमा सहभागी भएर मत दिन आग्रह गरिरहनुभएको छ । उहाँले जनतासँगै रमाउँदै मत माग्दै गरिरहेको छन ।” त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका भीमदत्तनगर अध्यक्ष करन पालले पनि उम्मेदवारहरू देउसीभैलोको सदुपयोग गरिरहेको बताए । “अहिले उम्मेदवारहरूले देउसीभैलो कार्यक्रममा सहभागी भएर आफ्ना कुरा जनतासमक्ष राख्ने र मत दिन आग्रह गरिरहेका छन्”, उनले भने, “देउसीभैलोमा सहभागी हँुदै घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छौँ ।” निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले पनि घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।
दाङमा १२ मतदानस्थल अति संवेदनशील
अगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दाङमा करिब आठ हजार जनशक्ति परिचालन हुने भएका छन् । जिल्लामा तीन प्रदेश र छ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक सय ५३ मतदानस्थल र सय मतदान केन्द्र छन् । निर्वाचन सुरक्षा समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जिल्लाका सबै मतदान केन्द्रमा चार हजार बढी सुरक्षाकर्मी र तीन हजार सात सय २० कर्मचारी खटिन लागेको बताए । मतदान अधिकृतदेखि सहायकस्तरका कर्मचारी तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी खटिने छन् । दाङमा चार हजार सुरक्षाकर्मीमध्ये एक हजार नौ सय २० म्यादी प्रहरी परिचालन हुँदैछन् । सुरक्षा संवेदनशीलतालाई हेरेर मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिने छन् । दाङका एक सय ५३ मतदानस्थलमध्ये १२ मतदानस्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । जिल्लाको ग्रामीण बस्तीमा रहेका मतदानस्थल सुरक्षाका रूपमा अति संवेदनशील पहिचान गरिएको छ । बबई गाउँपालिका, राप्ती गाउँपालिकामा बङ्गलाचुली गाउँपालिका र राजपुर गाउँपालिकामा रहेका मतदानस्थल अति संवेदनशील मानिएको उनले बर्ताए । अति संवेदनशील मतदान केन्द्रमा तीन प्रहरी र नौ म्यादी प्रहरी, संवदेनशील मतदान केन्द्रमा तीन प्रहरी र छ म्यादी प्रहरी यस्तै सामान्य मतदान केन्द्रमा तीन प्रहरी र पाँच म्यादी प्रहरी परिचालन हुने रेग्मीले बताए । जिल्लाको एक सय ३० संवेदनशील र ११ वटा मतदानस्थल सामान्य रहेको रेग्मीले जानकारी दिए । उनले अति संवेदनशीलमा राखिएको भए पनि सोहीअनुसार सुरक्षाकर्मी खटिने र मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरण भएको जानकारी दिए । जिल्लामा चार सय ६५ मतदान केन्द्रमा चार सय ६५ जना मतदान अधिकृत र चार सय ६५ सहायक मतदान अधिकृतलाई जिम्मेवारी दिइने प्रदेश निर्वाचन कार्यालय प्रमुख निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । अन्य सहायकस्तरका कर्मचारी र स्वयंसेवकसमेतलाई जिम्मेवारी दिइने उनको भनाइ छ । उनका अनुसार निर्वाचनमा तीन हजार दुई सय कर्मचारी र अपुग हुने स्थानमा शिक्षकलाई मतदान केन्द्रमा खटाउने तयारी भएको छ । जिल्लामा सबैलाई मतदान गर्ने वातावरण मिलोस् भनेर कारागारका कैदीबन्दी, सरकारी कर्मचारीलाई छुट्टै मतदान केन्द्रको व्यवस्था गरी निर्वाचनमा सहभागी गराइने भएको उहाँले जानकारी र्दिए। उनीहरूका लागि तीन स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण गरिने भएको छ । जिल्लाको घोराही र तुलसीपुर कारागारका कैदीबन्दीलाई कारागार परिसरमै तथा जिल्लामा कार्यरत निर्वाचनमा खटिनेबाहेक सरकारी कर्मचारी एवं बाहिर जिल्लाबाट आएकालाई घोराहीमा अस्थायी मतदान केन्द्र तोकेर निर्वाचनमा सहभागी गराइने भएको हो । दाङमा एक सय ५३ मतदानस्थल र चार सय ६५ मतदान केन्द्र रहेका छन् । मङ्सिर ४ को निर्वाचनका लागि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा भाग लिन मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको सङ्ख्या चार लाख १४ हजार नौ सय ५६ जना रहेको छ । तीमध्ये दुई लाख तीन हजार नौ सय आठ पुरुष, दुई लाख ११ हजार ४६ महिला र अन्य दुई जना मतदाता रहेको प्रदेश निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए ।