नेपाल मजदुर किसान पार्टीले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र

‘सत्ता गठबन्धन र एमालेको गठबन्धन एउटै सिक्काको दुइपाटा’
बुधबार, कात्तिक ९, २०७९
Global Ime Bank

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेका छन् । 
नेमकिपाले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । 
घोषणापत्रमा नेमकिपाले आफ्नै देशमा रासायनिक मल कारखाना खोल्नेदेखि गोर्खा भर्ती खारेज गर्नेसम्मका विषयवस्तु समेटेको छ । घोषणापत्रमा माध्यमिक शिक्षा अनिवार्यरुपमा निःशुल्क गर्नुपर्ने र विश्वविद्यालय शिक्षालाई सहज बनाउँदै लैजानुपर्ने उल्लेख छ । 
नेकपा (एमाले) पुँजीवादी सत्ताको भागबण्डामा लाग्नु राजनीतिकरुपमा असक्त सावित भएको भन्दै अध्यक्ष बिजुक्छेले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको गठबन्धन सारमा एउटै सिक्काको दुइपाटा भएको आरोप लगाउनुभयो । नेमकिपाले घोषणपत्रमा नेपालको पुँजी देशकै विकासमा लगानी गर्न राष्ट्रिय पुँजीपतिलाई उत्साहित गर्नुपर्ने आजको आवश्यकता रहेको औँल्याएको छ । नेपालीको सम्पत्ति विदेशमा राख्न नदिने व्यवस्था गर्न तत्काल कानुनको बन्दोबस्त गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । 
नेमकिपाले अपराधीको पक्ष लिने र अपराधलाई प्रोत्साहन गर्ने राजनीतिक दल, सङ्घ संस्था तथा व्यक्तिलाई समेत कानुन उल्लङ्घन गरेको अपराध मानेर दण्ड जरिवाना असुलउपर गराउन नयाँ विधेयक निर्माणमा सदन र सडकमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ । 
घोषणपत्रमा नेपालमा काम पनि नगर्ने ठेक्का पनि नछोडी देश र जनतालाई धोका दिने ठेकेदारलाई कडाभन्दा कडा कारबाही गर्दै ठेक्काबाट वञ्चित गराउन ऐन, कानुन संसद्बाट तर्जुमा गराउन नेमकिपाका प्रतिनिधिले संसद्मा भूमिका खेल्ने उल्लेख गरिएको छ । 
नेमकिपाले सङ्घीयताको औचित्यमाथि प्रश्न उठाउँदै निर्वाचनपछि बलियो प्रतिपक्षको रुपमा संसद्मा प्रस्तुत हुने जनाएको छ । शिक्षामा बजेट बढाउनुपर्ने, स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्ने र ख्वप कलेजलाई विश्वविद्यालय बनाउन आफ्नो पार्टीले अहमं भूमिका निर्वाह गर्ने घोषणापत्रमा उल्लेख छ । 

समाजवादको विकल्प नभएको ठहर गर्दै नेमकिपाले वर्तमान राजनीतिक दलहरुको कार्यशैलीको तीव्र आलोचना गर्नुको साथै भारतसँग भएको असमान सन्धि खारेज गर्न आफ्नो पार्टीले पहल गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । 
पत्रकार सम्मेलनमा पार्टीका सचिव तथा प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले निर्वाचन क्रान्तिको सङ्केत दिने ब्यारोमिटर भएको उल्लेख गर्दै देश र जनताको हितमा नेमकिपा सधैँ उभिने बताए । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  ०५:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार