कञ्चनपुरमा चुनावी चहलपहल बढ्यो, बस्तीमा पुगेर मतदाता रिझाउँदै नेता

सोमबार, कात्तिक ७, २०७९

वेदकोट । प्रतिनिधिसभा र प्रदेशसभा चुनावले गाउँ, सहर र बजारमा चुनावी माहोल तातेको छ । उम्मेदवारी दर्ता भएपछि मतदाता रिझाउन नेताहरू बस्तीमा पस्न थालेका छन् ।
चुनावको मिति नजिकिएसँगै राजनीतिक दलहरू तथा स्वतन्त्र उम्मेदवार मतदातासँग भेटघाट गरेर आफ्ना एजेन्डा प्रस्तुत गर्नमा व्यस्त छन् । नेकपा (एमाले) कञ्चनपुरले चुनावी कार्यक्रमलाई तीव्र गति दिएको सचिव पल्लवराज भट्टले बताए । “पालिकास्तरीय भेला सकेर वडास्तरीय भेला आयोजना गरिरहेका छौँ, वडामा सम्पर्क कार्यालय पनि स्थापना भइरहेका छन्”, उनले भने, “चुनावको तयारी तीव्ररूपमा अगाडि बढाएका छौँ, सँगै घरदैलो अभियानमा मतदाता भेटघाट गरेर आफ्ना एजेन्डा सुनाउँदैछौँ ।”

नेपाली कांग्रेस कञ्चनपुरले टोलटोलमा कार्यकर्ताहरूसँग भेटघाट गरेर सुझाव सङ्कलन गर्ने कार्य गरिरहेको सचिव भीम भट्टले बताए । “तीनवटै क्षेत्रका पार्टीका भ्रातृ सङ्गठन तथा विभिन्न समितिसँग छलफल सम्पन्न गरेका छौँ, अहिले टोलटोलमा गएर कार्यकर्ता भेटघाट तथा बस्तीका समस्याहरू सङ्कलन गर्ने काम गरिरहेका छौँ”, उनले भने ।    
वाम लोकतान्त्रिक गठबन्धनले आचारसंहितालाई दृष्टिगत गरेर संयुक्तरूपमा चुनाव केन्द्रित अभियानलाई तीव्रताका अगाडि बढाएको उनको भनाइ छ । कञ्चनपुरमा प्रतिनिधिसभाका तीन सिटका लागि ३२ र प्रदेशसभाका छ सिटका लागि ५० गरेर कूल ८२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कञ्चनपुरमा नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको छ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) भने एक्लै चुनावमा छ । एमालेले कञ्चनपुरमा राप्रपासँग चुनावी तालमेल गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  ०५:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार