सङ्कल्पपत्र सार्वजनिक गर्दै कांग्रेस, एमालेको चुनावी घोषणापत्र छठपछि

सोमबार, कात्तिक ७, २०७९

 काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्पपत्र आज सार्वजनिक गर्ने भएको छ ।
यसअघि सङ्कल्पपत्र आइतबार साँझ सार्वजनिक गरिने भनिए पनि काठमाडाँै उपत्यकाबाहिर रहेका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा आउन ढिलाइ हुने भएपछि आज बिहान १०ः३० का लागि सो कार्यक्रम तय गरिएको पार्टी कार्यालयले जनएको छ ।प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सङ्कल्पपत्र एक कार्यक्रमबीच सार्वजनिक गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

कांग्रेसद्वारा प्रवास मिडिया समन्वय तथा प्रचारप्रसार उपसमिति गठन
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचारप्रसार उपसमितिमा सदस्यहरु मनोनयन गरेको छ । कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचारप्रसार उपसमितिमा ३७ जना सदस्य मनोनीत गरेको हो ।
मुख्यसचिव कृष्ण पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचारप्रसार समिति’ का संयोजक एवं पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचारप्रसार समितिका सदस्य उर्मिला थपलियाको संयोजकत्वमा गठित ‘नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचारप्रसार उपसमिति’ मा सदस्यहरु मनोनीत गर्नुभएको जानकारी दिएका छन् । 

एमालेको चुनावी घोषणापत्र छठपछि 

नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र छठपछि सार्वजनिक गर्ने तयारी गरेको छ ।

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टका अनुसार घोषणापत्रमा प्राप्त सुझावहरु अध्ययन गरिरहेको र चाडपर्व सकिने बित्तिकै घोषणपत्र सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए । 
“घोषणापत्र बनाउन सुझावहरु धेरैजसो आइसकेको छ, आएका सुझावहरुको अध्ययन भइरहेको छ”, सचिव विष्टले भने, “घोषणापत्रलाई अन्तिम रुप दिएर चाडपर्वलगत्तै सार्वजनिक गर्ने तयारी छ ।”
एमालेको चुनावी घोषणापत्र निर्माणका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा मस्यौदा समिति गठन गरिएकोे छ । उक्त समितिले आएका सुझावलाई समेटेर अन्तिम रुप दिने काम गरिरहेको उक्त विगागले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  ०४:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार