गठबन्धनबाट संविधान र सङ्घीयताको रक्षा भएको छ :  प्रधानमन्त्री देउवा

आइतबार, कात्तिक ६, २०७९

कर्णाली ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबाट संविधान र सङ्घीयताको रक्षा भएको बताएका  छन्  । पाँचदलीय गठबन्धनको कर्णाली प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्न आज वीरेन्द्रनगर सुर्खेतमा आइपुग्नुभएका प्रधानमन्त्री देउवाले गठबन्धन ऐतिहासिक आवश्यकता भएको बताए  । परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिएकाले गठबन्धन लामो समयसम्म रहने उनले दाबी  छ  । 

प्रधानमन्त्री देउवाले भने , “संविधानलाई टोकरीमा फ्याँकिदिने काम गरेकाले गठबन्धन जन्मिएको हो । यसको जीतका लागि सबै मिल्नुको विकल्प छैन । गठबन्धनविरुद्ध उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्न आग्रह गर्दछु ।” उनले कर्णालीमा अझ गठबन्धन आवश्यक भएकाले एक भएर लाग्न प्रदेशका नेता तथा कार्यकर्तालाई अनुरोध गरे  ।

कर्णाली आर्थिक समृद्धिको प्रमुख आधार भएको बताउनुभएका प्रधानमन्त्री देउवाले यहाँको विकास र समृद्धिका लागि सरकार लागिरहेको जनाए  । “गठबन्धन दललाई यो चुनावमा जिताउनुस्, पाँच वर्षभित्रै हामी परिणाम देखाउँछौँ”, उनले भने  । 

  202210231542-e4d8c285-25b3-485e-8368-0693e1aae936_medium1666523777.jpg
सो संयुक्त भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र  अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा कर्णाली तथा सुदूरपश्चिमले खेलेको भूमिकालाई गहिरो अनुभूति गरेको र त्यसको न्याय गर्न नेतृत्व सचेत रहेको बताए  । कर्णालीबाट नै प्रतिगमनविरुद्धको विद्रोह भएको उनको भनाइ थियो ।   

“प्रतिगमनविरुद्ध यो गठबन्धन जन्मेको हो । यसलाई कसैले पनि हल्का रुपले लिनु हुँदैन”, अध्यक्ष दाहालले भने , “यसले संविधान, सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक, समावेशिताको रक्षा गरेको छ । त्यसैले संविधान मिच्नेका विरुद्धको यो गठबन्धन हो ।”   

गठबन्धनले कर्णालीमा शत्प्रतिशत जित्ने पूर्ण विश्वास लिएको बताउँदै उनले कर्णालीको विकास र राजनीतिक स्थिरताका लागि जीत आवश्यक रहेको जनाए  । गठबन्धन निर्माण भएबाट प्रतिगमनलाई परास्त गर्दै आएको र यो चुनावबाट पनि परास्त गरिने उनले दाबी गरे  । 

उत्तेजित नभई संयमताका साथ चुनावी सफलता हात पार्नेगरी गठबन्धनका नेता तथा कार्यकर्तालाई अभियानमा कटिबद्धताका साथ लाग्नअनुरोध गर्दै उनले आर्थिक क्रान्तिसहित मुलुकको समृद्धिका लागि पनि गठबन्धनको विजय अपरिहार्य रहेको र यसका निम्ति गठबन्धनका नेताहरुबीचको विचार र भावनाको गहिरो एकताको सन्देश लिएर देशभरि हिँडेको बताए  । युद्धलाई शान्तिमा रुपान्तरण गर्न तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, आफू र माधव नेपालको धेरै ठूलो योगदान रहेको स्मरण गर्दै उनँले इतिहासको मुद्दालाई महानताका साथ लगिएको र त्यही अनुसार अघि बढ्न अपिल गरे  । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले समाजवादको यात्रालाई अगाडि बढाउन गठबन्धन जरुरी रहेको जनाए  । जनतालाई गरिबी, अशिक्षा र भोकमरीबाट मुक्त पार्न गठबन्धनको जीतले मात्र सुनिश्चित गर्छ”, अध्यक्ष नेपालले भने , “तसर्थ देश र समाज परिवर्तन, जनताको जीवनस्तर उकास्न, देशको स्वाभिमान माथि उठाउन गठबन्धन गरिएको हो ।” 

गठबन्धनको प्रतिबद्धता र घोषणापत्र अगाडि सारिएको बताए  उनले त्यही प्रतिबद्धता पत्र लिएर घरदैलो गर्न गठबन्धन दलका प्रदेश तथा स्थानीय नेतृत्वलाई अपिल गर्नुभयो । गठबन्धनको जीतबाट मात्र प्रतिगमन समाप्त पार्न सकिने जनाउँदै उनले देशको उन्नति र प्रगतिका लागि प्रतिबद्ध भएर लागेमात्र ओली प्रवृत्तिलाई परास्त सकिने बताए  । 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले असंवैधानिक कदमविरुद्ध पाँचदलीय गठबन्धन बनेको बताए  । “अहिलेको हाम्रो अभियान भनेकै गठबन्धन दलका उम्मेदवारलाई जिताउने र संविधानको रक्षा गर्ने हो”, उनले भने , “तसर्थ, अब यो दल वा त्यो दल नभन्नुहोला । गठबन्धनका सबै उम्मेदवारहरुलाई आफ्नै उम्मेदवार भनेर भोट हाल्न अनुरोध गर्दछु ।” 

कर्णालीका कांग्रेसका नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौंडासँग नडराउन आग्रह गरे । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखिको अभियानलाई जोडेर यतिबेला लोकतन्त्रको रक्षा र यसको उन्नतितर्फ अगाडि बढाउने बाटो अवलम्बन गरिएको उनको भनाइ थियो ।  

राष्ट्रिय जनमोर्चाका केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीले गठबन्धन जीतले मात्र समग्र मुलुकको विकास र समृद्धि सम्भव हुने बताए  । गठबन्धनको साझा उद्देश्य पूरा गर्न, मुलुकको संविधान, लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको रक्षाका लागि अबको चुनाव जीत गठबन्धनकै पक्षमा ल्याउन उनले पाँचदलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरे  ।  रासस    

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १९:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार